नाफा र ईपीएसमा फर्वाडको फड्को, डिप्रोक्स र एनआईसी एशियासहित ५ लघुवित्तको ‘नेक टु नेक’ प्रतिस्पर्धा

  २०७८ माघ १९ गते १७:२७     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा लघुवित्तहरुको औषत नाफा ४९ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा लघुवित्तहरुको औषत खुद नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.९७ प्रतिशतले बढेको हो ।

चालु आवकाे पुस मसान्तसम्म कूल ३५ वटा लघुवित्तहरुले ३ अर्ब ३९ करोड रुपैयाँ बराबरको खुद नाफा कमाएका छन् । जुन गत वर्षको सोही अवधिकाे तुलनामा एक अर्ब १० करोड रुपैयाँले बढी हो । यी लघुवित्तहरुले गत वर्षको पुस मसान्तसम्ममा २ अर्ब २६ करोड रुपैयाँ बराबरको मात्रै खुद नाफा गरेका थिए ।

समीक्षा अवधिमा अधिकांश लघुवित्तको लाभांश बढेको छ । ३५ वटा लघुवित्तमध्ये २७ वटा लघुवित्तहरुले गत वर्षको तुलनामा नाफा बढाएका छन् भने ८ वटाले घटाएका छन् । नाफा घटाउनेमध्ये ६ वटा नेप्सेमा सूचीकृत छन् ।

सबैभन्दा बढी नाफा कमाउनेमा फर्वाड लघुवित्त वित्तीय संस्था रहेको छ । संस्थाले समीक्षा अवधिमा १०३.५५ प्रतिशतले नाफा बढाएर ४५ करोड ८० लाख रुपैयाँ पुर्याएको छ । जुन गत वर्षको पुससम्ममा २२ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

त्यस्तै, एनआईसी एशिया, डिप्रोक्स, मेरो माइक्रोफाइनान्स, नेशनल माइक्रोफाइनान्स, ग्लोबल आईएमई, मिर्मिरे र फर्ष्ट माइक्रोफाइनान्सले १० करोडभन्दा बढी नाफा कमाएका छन् भने बाँकीको नाफा १० करोडभन्दा कम छ ।

सूचीकृत लघुवित्तमध्ये प्रतिशतका आधारमा मानुषी लघुवित्त वित्तीय संस्थाको नाफा वृद्धिदर उच्च छ । संस्थाले समीक्षा अवधिमा ४२८.२६ प्रतिशतले नाफा बढाउन सफल भएको छ । गत वर्ष ४६ लाख रुपैयाँ नोक्सानमा रहेको मानुषी लघुवित्त चालु आवको पुससम्ममा १ करोड ५१ लाख रुपैयाँ बढी नाफामा छ ।

त्यस्तै, नेप्सेमा सूचीकृत नभएका ६ लघुवित्तमध्ये सबैभन्दा बढी नाफा सीवाईसी लघुवित्तको छ । लघुवित्तले समीक्षा अवधिमा ५ करोड ८१ लाख रुपैयाँ नाफा कमाएको छ । र, प्रतिशतको आधारमा सबैभन्दा बढी नाफा वृद्धि गर्नेमा धौलागिरी लघुवित्त रहेको छ । धौलागिरीले गत वर्षको तुलनामा ४९७ प्रतिशतले नाफा वृद्धि गरी २ करोड १५ लाख रुपैयाँ पुर्याएको छ ।

सूचीकृत नभएका लघुवित्तमध्ये २ वटाको नाफा गत वर्षको तुलनामा घटेको छ । सीवाईसी र उपकार लघुवित्तको नाफा अघिल्लो वर्षको तुलनामा क्रमशः ६०.०६ र ५२.१६ प्रतिशतले घटेको हो ।

दुई लघुवित्तको ईपीएस १०० रुपैयाँभन्दा माथि

३५ लघुवित्तमध्ये दुई लघुवित्त (फर्वाड र महिला) को प्रतिसेयर आम्दानी (ईपीएस) एक सय रुपैयाँभन्दा माथि छ । सबैभन्दा बढी नाफा कमाएको फर्वाड लघुवित्तको ईपीएस १०८.५० रुपैयाँ छ । त्यस्तै, ५० प्रतिशतले नाफा बढाएको महिला लघुवित्तको प्रतिसेयर आम्दानी ११०.९७ रुपैयाँ छ । जुन लघुवित्त संस्थाहरु मध्येकै बढी हो ।

सूचीकृत मध्ये ४ लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा कम छ । आरएसडीसी, मनकामना स्मार्ट, गणपति र गुराँस लघुवित्तको प्रतिसेयर आम्दानी २० रुपैयाँभन्दा पनि तल छ । जसमध्ये आरएसडीसी लघुवित्तको सबैभन्दा कम अर्थात १२.१५ रुपैयाँ ईपीएस छ ।

One comment on "नाफा र ईपीएसमा फर्वाडको फड्को, डिप्रोक्स र एनआईसी एशियासहित ५ लघुवित्तको ‘नेक टु नेक’ प्रतिस्पर्धा"

  • Microfinance says:

    गरिवी निवारणको नाम जपेर, लगानीकर्ताहरुलाई साहू महाजनको जस्तो सयकडा २% वा सो भन्दा बढी प्रतिफल दिने लघुवित्त संस्थाहरुले के ऋणीहरु प्रति न्याय गरेको ठहरिन्छ ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.