समयमै परीक्षाको नतिजा सार्वजनिक गर्न त्रिविलाई मन्त्री पौडेलको निर्देशन

  २०७८ माघ ११ गते १४:४५     विकासन्युज

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले विद्यार्थीको नतिजा समयमा निकाल्न त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । मंगलबार अनुगमन गर्न परीक्षा नियन्त्रण कार्यालय बल्खु पुगेका सहकुलपति समेत रहेका मन्त्री पौडेलले यो अथवा त्यो बाहना नगरी समयमै विद्यार्थीको नतिजा निकाल्न निर्देशन दिएका हुन् ।

‘कतिपय खुलेका आयोगमा परीक्षा दिन पाएनौं भन्ने विद्यार्थीको गुनासो छ,’ पौडेलले भने, ‘नतिजा प्रकाशन नहुँदा विद्यार्थी त्यो अवसरबाट वञ्चित हुने अवस्था आयो फास्ट ट्रयाकबाट नतिजा निकाल्नुस् ।’

सामान्यतया परीक्षा भएको ३ महिनापछि नतिजा आउने भएपनि ६ महिना पुग्दासम्म विश्वविद्यालयले नतिजा निकालेको छैन् । अनुगमनका क्रममा मन्त्री पौडेललाई जनशक्ति अभावका कारण समयमा नतिजा निकाल्न नसकेको परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी गराएका थिए ।

‘जनशक्ति अभाव भए सेवा आयोगलाई भनेर अस्थायी कर्मचारी ल्याएर भएपनि समयमा सेवा ग्राहीको काम हुनप¥यो’ पौडेलले भने ।
देशकै ठूलो विश्वविद्यालयमा पुरानो प्रणाली रहेको भन्दै यसको सुधारका लागि नयाँ योजना बनाउन प्रशासनसँग मन्त्रीले आग्रह गरे । ‘मार्कसिट विद्यार्थीलाई दिने कुरालाई सिस्टममा तत्काल लैजानुस्’ उनले भने, ‘देशको ठूलो विश्वविद्यालय नयाँ प्रविधिसँग जोडिएन भने अन्य विश्वविद्यालयले के सिक्छन् ? ।’

‘विद्यार्थीहरुको मानविकि शंकायमा धेरै गुनासो छ, सम्बोधन गर्नुहोस्,’ उनले भने, ‘जनशक्ति थप्ने हाम्रो काम हो सेवाग्राहीलाई त्यो थाहा हुँदैन । गुनासो कम आउने गरी काम गर्नुहोस् ।’

विश्वविद्यालय सिस्टममा नभएको भन्दै भौतिक संरचना एवम् विद्यार्थीलाई दिने सेवा प्रविधिमन्त्री हुनपर्नेमा उनको जोड थियो ।

परीक्षा नियन्त्रक जोशीले प्रर्याप्त जनशक्ति भए परीक्षापछिको तीन महिनाभित्र रिजल्ट निकाल्ने बताए । पुराना कर्मचारी रिटायर हुँदा नयाँ कर्मचारीले सिस्टम सिक्ने एक वर्ष लाग्ने जोशीको भनाइ छ । उनले परीक्षा नियन्त्रक कार्यालयमा २२४ जना कर्मचारी हुनुपर्नेमा १३७ जनाले काम गरिरहेकाले समयमै नतिजा दिन नसकेको स्वीकार गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.