सपिङ मलका व्यवसायीको गुनासोः पसल खोल्ने र बन्द गर्ने बाहेक केही भएन

  २०७८ माघ ११ गते १४:४७     विकासन्युज

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना भाइरस संक्रमणको तेस्रो लहर (ओमिक्रोन) उच्च गतिमा फैलन थालेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार दैनिक १० हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ । तथ्यांक अनुसार कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ । सोमबारमात्र देशभर १० हजार ३१९ जना कोरोना संक्रमित थपिएका थिए ।

पछिल्लो समय उच्च गतिमा फैलिएको कोरोना संक्रमण र नेपाल सरकारले लागू गरेको विभिन्न प्रावधानका कारण व्यापारमा असर परेको व्यवसायीहरुले बताएका छन् ।

सरकारले लागू गरेको जोेरबिजोेर, २५ जनाभन्दा बढी भेला हुन नपाउने र खोप कार्ड अनिवार्य गर्दा ग्राहकहरु नै नआएको व्यापारीहरुको भनाई छ ।

सिभिल मल व्यापार संघका अध्यक्ष रत्न घिमिरे उच्च गतिमा फैलिएको कोरोना संक्रमणका कारण मलको व्यापारमा कमि आएको बताउँछन् ।

उनले पछिल्लो समय मलका व्यवसायीहरुले बिहान पसल खोल्ने र बेलुका बन्द गर्ने बाहेकका कुनै काम नभएको बताए ।

‘हामी सिभिल मलका व्यवसायीहरुले सरकारले तोकेको सम्पूर्ण स्वास्थ्य मापदण्डको पूर्ण रुपमा पालना गरेका छौँ, हामीले हाम्रो तर्फबाट गर्नुपर्ने सबै काम गरे तापनि ग्राहकहरु नै आउनुभएको छैन्, हामीलाई फिल्म हलबाट केही राहत हुन्थ्यो, त्यही पनि बन्द भएपछि मल नै सुनसान छ,’ उनले भने ।

घिमिरेका अनुसार ग्राहक नआउँदा अधिकाशं व्यवसायीले बोहनी समेत गर्न नपाउने अवस्था रहेको छ ।

उनले जोरबिजोर लागू हुँदा र खोप कार्ड अनिवार्य गर्दा जुन रुपमा व्यापार हुनुपर्ने थियो, त्यसो नभएको बताए ।

‘केही समयअघि कोरोना महामारी अघिकै तुलनामा व्यवसाय भएको थियो, अहिलेको अवस्थामा केही मात्रामा भने पनि व्यापार हुन्छ होला भन्ने हामीले अनुमान गरेका थियौँ, तर हामीले अनुमान गरेभन्दा धेरै फरक पायौँ’, उनले भने ।

नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल कोरोनाका कारण व्यापार व्यवसाय ठप्प जस्तो भएको बताउँछन् ।

उनले दुई वर्षदेखि भाडा, बैंक तथा वित्तीय संस्थाको कर्जा समेत भुक्तानी गर्न नसक्ने अवस्थामा पुगेका व्यवसायीलाई तेस्रो भेरियन्टले ठूलो असर पर्ने देखिएको बताउँछन् ।

‘नेपालमा कोरोना संक्रमण पुष्टि भएको भन्दै सरकारले पटक/पटक गरेको बन्दाबन्दीका कारण हामी व्यवसायीलाई ठूलो समस्या भएको थियो, पछिल्लो समय व्यापार व्यवसाय पुरानै लयमा फर्किन थालेको थियो, यहि समयमा ओमिक्रोनका कारण पुनः समस्या भयो, ओमिक्रोन फैलिएकोे गतिसँगै सरकारले राखेको नयाँ/नयाँ प्रावधानका कारण झनै समस्या भयो,’ अध्यक्ष कटुवालले भने ।

व्यवसायीहरुका अनुसार कोभिडका कारण साना तथा ठूला ७५ प्रतिशत उद्योग बन्द भएका छन् । केही उद्योगहरु पुनः बन्द गर्ने तयारीमा आफूहरु रहेको व्यवसायी बताउँछन् ।

चीनका कारण समस्या भयो

अध्यक्ष कटुवालले कोरोना महामारीसँगै चीनको अवरोधका कारण समस्या भएको बताए ।

‘हामी अधिकांश वस्तुहरु आयातमा नै निर्भर छौँ, अधिकांश लत्ताकपडाहरु चीनबाटै आयात हुने गरेका छन्, आयातमा चीनको अवरोधका कारण हामीलाई थप समस्या हुने गरेको छ, जाडोका लागि ल्याइएको सामग्री अवरोधकै कारण अहिलेसम्म आइपुगेको छैन, एकातिर कोरोनाको डर अर्काेतिर भनेको समयमा सामान नपाउँदा व्यवसाय गर्न सक्ने अवस्था नै छैन,’ उनले भने । सिजनका लागि आवश्यक पर्ने कुनै सामग्रीहरु भनेको समयमा नआउँदा झन समस्या थपिएको व्यापारीहरुको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.