१० खर्बको आयात हुँदा सवा खर्बको निर्यात, साढे ४६ प्रतिशतले बढ्यो व्यापार घाटा

  २०७८ माघ ९ गते ९:५१     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनामा (साउनदेखि पुससम्म) आयात सँगै निर्यातमा समेत बृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आयातसँगै निर्यातमा बृद्धि भएको हो ।

विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार पहिलो ६ महिनामा नेपालबाट भारत लगायत तेस्रो मुलकमा हुने निर्यात ९५.४८ प्रतिशतले बढेको छ । यस्तै, गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६ महिनाको अवधिमा आयात ५१.१३ प्रतिशतले बढेको छ ।

६ महिनाको अवधिमा नेपालबाट १ खर्ब १८ अर्ब ८५ करोड रुपैयाँ बराबरको सामान निर्यात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ६० अर्ब ७९ करोड ९२ लाख रुपैयाँ बराबरको सामान निर्यात भएको थियो ।

यस्तै, चालु आर्थिक वर्षको पाँच महिनामा नेपालमा ९ खर्ब ९९ अर्ब ३४ करोड २७ लाख रुपैयाँको सामान आयात गरिएको छ । गत आवको सोही अवधिमा ६ खर्ब ६१ अर्ब २४ करोड ५३ लाख रुपैयाँ बराबरको विदेशी वस्तुको आयात भएको थियो ।

यस्तै, चालु आवको ६ महिनामै नेपालको वैदेशिक व्यापार पनि ५४.८६ प्रतिशतले बढेको छ । चालु आवको ६ महिनामा नेपालको कुल वैदेशिक व्यापार ११ खर्ब १८ अर्ब १९ करोड ३६ लाख रुपैयाँ बराबरको पुगेको भन्सार विभागले जनाएको छ ।

गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार ७ अर्ब २२ अर्ब ४ करोड रुपैयाँ बराबरको थियो ।

६ महिनाको तुलनामा व्यापार घाटा पनि ४६.६४ प्रतिशले बढेको छ । ६ महिनामा नेपालले ८ खर्ब ८० अर्ब ४९ करोड १७ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार घाटा व्यहोरेको छ । गत आवको सोही अवधिमा नेपालको कुल वैदेशिक व्यापार घाटा ६ खर्ब ४४ करोड ६१ लाख रुपैयाँ थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.