काठमाडौं महानगरभित्र २१ सय स्मार्ट बत्ती जडान हुँदै, देशभरका सडक झलमल्ल पार्ने कुलमानको योजना

  २०७८ पुष २७ गते १०:५१     राजिव न्यौपाने

काठमाडौं । काठमाडौं महानगरपालिकाले विभिन्न सडकका विभिन्न रुटमा २१ सय वटा स्मार्ट स्ट्रीट लाइट जडान गर्ने भएको छ । महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी बत्ती जडान गर्न लागेको हो ।

रातको समयमा सडकलाई उज्यालो बनाउने उद्देश्यका साथ उक्त लाइट जडान गर्न लागेको महानगरका सार्वजनिक निर्माण विभागका विभागीय प्रमुख रामबहादुर थापाले बताए । स्मार्ट स्ट्रीट लाइट जडानको लागि आवश्यक काम हाल विद्युत प्राधिकरणबाट भइरहेको छ ।

‘महानगरसँग सम्झौता भई उक्त काम प्राधिकरण मार्फत गर्ने भनिएको हो, प्राधिकरणले टेन्डर गरेर सम्झौताको प्रक्रिया अगाडि बढाएको छ,’ थापाले भने ।

विद्युत प्राधिकरणका अनुसार भ्याट सहित १२ करोड रुपैयाँको लागतमा काठमाडौं महानगका विभिन्न स्थानमा उक्त बत्ती जडान हुनेछन् । यसमा ६० प्रतिशत महानगरले र ४० प्रतिशत प्राधिकरणको खर्च गर्दैछन् ।

महानगसँग सम्झौता भएर काम सुरु भएको ४ महिनाभित्र बत्ती जडान गरी सक्ने योजना रहेको प्राधिकरणले जानकारी दियो ।

एयरपोर्टबाट बानेश्वर हुँदै कलंकीसम्म, माइतीघरबाट महारागंज हुँदै चक्रपथसम्म र बल्खुमा गरी करिब ६० किलोमिटर सडकमा स्ट्रीट लाइट जडान गर्न लागिएको प्राधिकरणका इन्जिनियर विराट शर्माले जानकारी दिए ।

‘प्राधिकरणको तर्फबाट प्रक्रियागत काम गरिसकेका छौं, महानगरबाट आउन बजेट आएको छैन, बजेट आएपछि महानगरसँग सम्झौता गरी लाइट जडानको काम सुरु हुन्छ,’ उनले भने ।

इन्जिनियर शर्माका अनुसार स्मार्ट बत्ती अरू सडक बत्तीभन्दा फरक हुनेछन् । प्राधिकरण र महानगरबीच यो हप्ता सम्झौता भयो भने काम सुरु गरेको ४ महिनामा बत्ती जडान भइसक्छ ।

महानगरका अधिकांश सडकमा बत्ती नहुँदा सवारी चालक र यात्रुले समस्या भोग्नु परेको छ भने रातका समयमा सडक दुर्घटना पनि बृद्धि भइरहेको छ ।

यस्तै, महानगरपालिकाले ९ करोड ९० लाख रुपैयाँ लागतमा काठमाडौंका ८० ठाउँमा हाइमेक्स बत्ती जडान गर्न योजना पनि अगाडि सारेको छ ।

लाइट जडान गरेको १७ वर्षसम्म ढुक्क

स्मार्ट बत्ती जडान भएको १७ वर्षसम्म टिक्ने प्राधिकरणका इन्जिनियर सागर ज्ञवाली बताए । सडकमा एउटा वटा बत्ती १२० वाटको हुनेछ ।

ज्ञवालीका अनुसार लाइटको डाटा प्राधिकरणले सर्भर लिइरहेको हुन्छ, बिग्रिएको २४ घण्टाभित्र लाइट बनाइ सक्नु पर्छ, सुरक्षा र बत्ती हिसाबले यो लाइट आकर्षक रहेको छ ।

विद्युत प्राधिकरणसँग वत्तीको अवस्था बारे जानकारी दिने कन्ट्रोल रुम पनि रहेको ज्ञवालीले बताए । यो बत्ती सडकमा यात्रु र सवारीसाधन नहुँदा निभ्ने, उनीहरू आउँदा आफैं बल्ने छन् ।

१३ पालिकामा लाइट जडान गर्दै प्राधिकरण

नेपाल विद्युत प्राधिकरणले १३ पालिकासँग सम्झौता गरी स्मार्ट स्ट्रीट लाइट जडानको काम अगाडि बढाएको छ ।

प्राधिकरणले काठमाडौं वाहेक ललितपुर, पोखरा, भरतपुर महानगरका सडकको विभिन्न रुटमा स्मार्ट बत्ती (लाइट) जडान गर्ने योजना अगाडि सारेको हो ।

प्राधिकरणले भक्तपुरको विभिन्न ठाउँमा बत्ती जडान गरिसकेको छ । प्राधिकरणका अनुसार पोखरामा ११ करोड रुपैयाँमा १७ सय बत्ती, भरतपुरमा २ हजार बत्ती १२ करोडको लागतमा जोड्ने योजना रहेको छ ।

बेलका, भीमदत्त, भीमेश्वर र कनकाई नगरपालिकामा पनि लाइट जडान गर्ने काम भइरहेको इन्जिनियर शर्माले जानकारी दिए ।

बुढानिलकण्ठ, कीर्तिपुर, महालक्ष्मी, फिदिम र कटहरी नगरपालिकामा बत्ती जडान गर्नको लागि टेन्डर प्रक्रिया अगाडि बढाएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल भर एक लाख स्मार्ट स्ट्रीट लाइट जडान गर्ने योजना राखेका थिए ।

घिसिङले उज्याले सहर अभियान सञ्चालन गरी नेपालभर लाइट जडान गर्नको लागि पालिकाहरुलाई आव्हान पनि गरेका थिए । यस कार्यक्रममा सहभागी हुन थप २५ नगरपालिकाले निवेदन दिएका प्राधिकरणले जनाएको छ ।

रात्रिकालिन बिजुलीको खपत बढाउने उद्देश्यले सडकमा बत्ती जडानलाई प्राधिकरणले उच्च प्राथमिकतामा राखेको हो । नेपालभरका सडकमा लाइट जडान गर्दा साँझको समयमा थप १ सय मेगावाट विद्युत खपत हुने प्राधिकरणको अनुमान छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.