बीमा समितिमा हात हालाहाल

  २०७८ पुष २६ गते १७:११     विकासन्युज

काठमाडौं । सोमबार दिउँसो बीमा समितिमा हात हालाहाल भएको छ । कोरोना बीमाको दावी भुक्तानी नपाएको भन्दै एक बीमित र समितिका कर्मचारीबीच हात हालाहाल भएको हो ।

अजोड इन्स्योरेन्समा बीमा गरेका सो बीमितले कम्पनीले पैसा नदिएको र उक्त पैसा समितिले दिनुपर्छ भन्दै समितिका डेपुटी डाइरेक्टर बिरोध भट्टमाथि खनिएका समितिले जनाएको छ ।

समितिका प्रवक्ता समेत राजुरमण पौडेलका अनुसार डेपुटी डाइरेक्टर भट्टले ‘तपाईंको पैसा सरकारले दिन बाँकी रहेको छ’ भन्दा सो बीमितले ‘समितिले नै दिनुपर्छ’ भन्दै उनी भट्टमाथि जाई लागेका हुन् ।

‘बीमितले अजोड इन्स्योरेन्समा कारोना बीमा गरेका रहेछन्, बीमा बापतको दावी पनि कम्पनी कम्पनीले दिइसकेको रहेछ, समितिले पनि दिनुपर्ने रकम दिइसकेको छ, तर सरकारले दिनुपर्ने रकम बाँकी रहेछ, बाँकी रहेको रकम अब सरकारले दिन्छ भन्दा समितिले नै दिनुपर्छ भन्दै बीमित भट्टमाथि खनिएका हुन्,’ कार्यकारी निर्देशक तथा प्रवक्ता पौडेलले विकासन्युजसँग भने ।

पछि पुलिस आएपछि अवस्था सामान्य भएको उनले बताए ।

यसरी भएको थियो हात हालाहाल

पहिला सेक्युरिटी गार्डमा काम गरेका उक्त व्यक्ति अजोड इन्स्योरेन्सका बीमित रहेछन् । उनले अजोड इन्स्योरेन्समा कोरोना बीमा गरेका रहेछन् । त्यसको केही रकम भुक्तानी हुन बाँकी रहेछ । अजोड इन्स्योरेन्सले दिएन भन्दै उनी बीमा समिति पुगेका रहेछन् । समितिमा पुगेर डेपुटी डाइरेक्टर बिरोध भट्टलाई भेटेछन् र कम्पनीले बीमाको पैसा दिएन, समितिले पैसा दिनु पर्यो भनेछन् । भट्टले ‘अजोड इन्स्योरेन्सले बीमाकाे फाइल पनि सफाइ गरिसकेकाे र समितिले पनि दिनुपर्ने रकम दिइसक्यो, सरकारले दिनुपर्ने रकम तपाईले नपाउनु भएको हो’ भनेछन् । त्यसपछि ‘बीमा गरेको रकम समितिले नै दिनुपर्छ, सरकारले होइन’ भन्दै आक्रोशित हुँदै कुर्सी उचाल्दै भट्ट माथि जाई लागेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.