बैंकहरुलाई राष्ट्र बैंकको ‘मेसेज’: ह्याकिङको सानोतिनो धम्कीले डराउनु पर्दैन, सतर्क भने रहनु

  २०७८ पुष १६ गते १०:५७     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिएको छ । बिहीबार कुमारी बैंकको सिस्टम नै ह्याक गर्ने ह्याकरको धम्किपछि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई सतर्क रहन निर्देशन दिएको हो ।

नेपाल राष्ट्र बैंकका सह–प्रवक्ता नारायण पोखरेलले ह्याकरहरुको सानोतिनो धम्कीले डराउनु नपर्ने अवस्था भएपनि सतर्क भने रहनु पर्ने बताए ।

‘अहिले सानोतिनो धम्किबाट हामी डराउनु पर्ने अवस्था छैन, ह्याकरले थर्काकाउने मात्रै हो, केही गर्न सक्दैन, ढुक्क भए हुन्छ, हाम्रो प्रविधि बलियो छ ,थकाउनेले थर्काउँदै गर्छन्, हिजोको दिनमा राष्ट्र बैंकलाई पनि धम्की आएकै हो,’ सह–प्रवक्ता पोखरेलले भने ।

उनका अनुसार राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई सतर्क रहन निर्देशन दिँदै आएको छ । ‘हामीले यसअघि पनि दिँदै आएका थियौं, यो घटना पछि सतर्क रहन भनेका छौं,’ उनले भने ।

बिहीबार कुमारी बैंकलाई ह्याकरले धम्की दिएपछि नेपाली बैंक तथा वित्तीय संस्थामा तरंग मच्चिएको थियो । गत साउनमा नेपाली १५ बैंकहरुलाई ह्याकरको धम्की आएको थियो । त्यतिखेर नेपालका बैंकहरु ४८ घण्टासम्म सेवा बन्द गर्न चेतावनी दिइएको थियो । सो घटनापछि कुमारी बैंकलाई धम्कि आएको हो ।

कुमारी बैंकले ह्याकरको धम्कि आएपछि बिहीबार दिनभर आफ्नो सिस्टम नै बन्द गरेको थियो । दिनभर सिस्टमलाई चेक गरेपछि साँझ मात्रै बैंकले सिस्टम खुला गरेको थियो ।

कुमारी बैंकलाई धम्की कसले र किन दियो भन्ने विषयमा पनि बुझ्ने काम भइरहेको बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत अनुजमणि तिमिल्सिनाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.