हिमालयन बैंकको साधारणसभा पुसभित्रै, एनआईसी एसियाको कहिले ?

  २०७८ पुष ११ गते ११:१०     विकासन्युज

काठमाडौं । साधारणसभा तोक्न बाँकी रहेका २ वाणिज्य बैंकमध्ये हिमालयन बैंकले पुस ३० गतेको लागि तोकेको छ । सूचीकृत २६ वाणिज्य बैंकमध्ये २४ वटाले साधारणसभा गर्दा हिमालयन र एनआईसी एसिया बैंक भने सभा गर्नमा पछि परेका थिए ।

पब्लिक कम्पनीहरुले हरेक आर्थिक वर्ष समाप्त भएको ६ महिना अर्थात पुस मसान्तभित्र गत आर्थिक वर्षको साधारण सभा सम्पन्न गर्नुपर्ने कानुनी प्रावधान छ । र, कम्पनी ऐन २०६३ अनुसार पब्लिक कम्पनीले वार्षिक साधारण सभा गर्नको लागि कम्तीमा २१ दिन अगाडि नै सूचना सार्वजनिक गर्नुपर्ने हुन्छ ।

सो अनुसार पुसभित्रै साधारणसभा सम्पन्न गर्न कम्पनीहरुले पुस ९ गतेभित्रमा सभा हुने ठाउँ, मिति र छलफल गर्ने विषय उल्लेख गरी सार्वजनिक सूचना जारी गरिसक्नु पर्ने थियाे । अधिकांश बैंकहरुले साधारणसभा डाकिसकेका छन् भने केहीले त सम्पन्न गरी सेयरधनीलाई गत आर्थिक वर्षको लाभांश समेत खुवाइसकेका छन् ।

एनआईसी एशिया र हिमालयनले गत वर्षको लाभांश भने घोषणा गरिसकेका छन् । जसमध्ये एनआईसी एशिया बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई कूल १५.७८९४७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कार्तिक ८ गते बसेको बैंक सञ्चालक समितिको बैठकले सेयरधनीलाई चुक्ता पुँजीको १५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ०.७८९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

त्यस्तै, हिमालयन बैंकले पनि आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । बैंकले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको २१.३८ प्रतिशत बोनस र करसहित ४.६२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

किन सकेनन् समयमै सभा गर्न ?

राष्ट्र बैंक स्रोतका अनुसार हिमालयन बैंकको गत आर्थिक वर्षको वासलत राष्ट्र बैंकबाट स्वीकृत भइसकेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेको हिमालयन सो बैंकसँग मर्जरमा जाने कि नजाने भन्ने आन्तरिक विवादमा लामो समय अड्केको थियो ।

राष्ट्र बैंकले हिमालयन बैंकलाई समझदारीपत्र अनुसार मर्जरमा जान दबाब नै दिएको थियो । मर्जरमा जाने प्रतिवद्धता गरेको र सो अनुसार निर्णय गरेर प्रक्रिया अघि बढाएपछि राष्ट्र बैंकले हिमालयन बैंकलाई साधारणसभा गर्न स्वीकृति प्रदान गरिसकेको छ । हिमालयन बैंक संचालक समिति बैठकले पुस ३० गते साधारणासभाकाे मिति ताेकेकाे छ ।

एनआईसी एसिया बैंकले भने राष्ट्र बैंकबाट साधारणसभा गर्न स्वीकृति नै पाएको छैन । राष्ट्र बैंक स्रोतका अनुसार सभा गर्नको लागि एनआईसीले स्वीकृति मागेको भएपनि राष्ट्र बैंकले मागेका थप विवरण उपलब्ध गराउन एनआईसी एसिया बैंकले ढिलाई गरेको छ ।

‘हिमालयन बैंकले साधारणसभा गर्ने स्वीकृति पाइसकेको छ, एनआईसी एसिया बैंकले कम्प्यायन्ससँग सम्बन्धित केही विषय पूरा गरेको छैन, हामीले मागेका केही विषयमा उसले जवाफ पठाएको छैन, त्यसैकारण साधारणसभाको स्वीकृति प्रदान भएको छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

मंसिरअघि साधारण सभा गरिसकेका बैंकहरु

वाणिज्य बैंकमध्ये माछापुच्छ्रे, सानिमा, सिटिजन्स, कुमारी, नेपाल बङ्गलादेश, ग्लोबल आईएमई, मेगा, नेपाल इन्भेष्टमेन्ट बैंक, स्ट्याण्डर्ड चार्टर्ड र बैंक अफ काठमाण्डू गरी १० वटाले मंसिर महिना अघि नै साधारणसभा सम्पन्न गरिसकेका छन् । र, बाँकी रहेका (एनआईसी एशिया र हिमालयन बाहेक) अन्य बैंकले पुस मसान्तभित्रमा सक्ने गरी साधारणसभा डाकेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.