सेयरधनीलाई २०% लाभांश खुवाउने र मेगालाई ‘लिड बैंक’को रुपमा स्थापित गर्ने लक्ष्य छः अध्यक्ष शाह

  २०७८ मंसिर २८ गते १८:०५     विकासन्युज

काठमाडौं । मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले लाभांशदरलाई २० प्रतिशत पुर्याउने लक्ष्य रहेको बताएका छन् । बैंकको वार्षिक साधारणसभामा बोल्दै अध्यक्ष शाहले अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएको बताएका हुन् ।

निक्षेप संकलन, व्यापार प्रवद्र्धन र लगानीकर्ताको जेथा वृद्धि र लाभांशको दृष्टिकोणले पहिलो पाँचौं बैंक भित्र स्थापित गर्ने लक्ष्य लिइएको जानकारी दिए ।

‘कोरोनाको कहरबाट संक्रमित र आतंकित जनशक्ति र थलिएका उद्योग/व्यवसाय तथा अर्थतन्त्रका बीचमा पनि समकक्षी बैंक/वित्तीय संस्थाहरुको तुलनामा दोहोरो अंकमा उचित लाभांश वितरण गर्ने अवस्थामा आइपुगेका छौं । पञ्चवर्षीय योजनामा बैंकको लाभांशको दरलाई वृद्धि गर्दै लगिने र अर्थतन्त्र लगायत नियमनकारी निकायको नीति तथा निर्देशनहरु अनुकुल रहेमा लाभांश दरलाई २० प्रतिशत पुर्याउने लक्ष्य लिएका छौं,’ अध्यक्ष शाहले भने- ‘वित्तीय बजारमा मेगा बैंक नेपाललाई एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित गर्ने लक्ष्य लिइएको छ ।

शाखाको सञ्जाल विस्तार नभएका जिल्ला, नगरपालिका एवं पालिकामा शाखा खोल्ने नीति लिइने जानकारी गराउँदै अध्यक्ष शाहले उत्पादनमूलक तथा आयातलाई प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धन गर्ने रोजगारमूलक उद्योग व्यवसायमा लगानी केन्द्रित गर्ने गरी ठूला उद्योग तथा परियोजनाहरुमा लगानीकर्ता समूहको ‘लिड बैंक’का रुपमा मेगा बैंकलाई स्थापित गर्दै लगिने बताए । यसैगरी, काठमाडौंको विशालनगरमा आगामी तीन वर्ष भित्र सुविधा सम्पन्न कर्पोरेट अफिस निर्माण गर्ने कार्यलाई तीव्रताका साथ अगाडि बढाइने उनले बताए ।

अध्यक्ष शाहले मेगा बैंकले आर्थिक बर्ष २०७७/०७८ मा एक अर्ब एक करोड सत्र लाख रुपैया राजश्व दाखिला गरेको बताए । उनका अनुसार, मेगा बैंकले गत वर्षको तुलनामा ५१ प्रतिशत बढी राजश्व दाखिला गरेको छ ।

बैंकले गत आर्थिक बर्ष १ करोड ३५ लाख कोभिडको रोकथाम तथा उपचारका निमित्त राष्ट्रिय तथा प्रादेशिक कोषहरुमा उपलब्ध गराएको थियो भने यस वर्ष संघिय/प्रादेशिक वा पालिका स्तरीय अस्पतालहरुको आकस्मिक कक्ष तथा बालकक्षको सुधार/उपचारार्थ खर्च गर्ने नीति लिएको छ । शिक्षामा बालिकाहरुको पहुँचलाई स्थापित गर्दै महिला सशक्तिकरणमा टेवा पुर्याउन र मेगा बैंकमै रोजगारीको अवसर सृजना गर्न बैंकले “एक शाखा दुई छोरी” कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयहरुमा कक्षा १ देखि १२ सम्म अध्ययनरत ३९० जना छात्राहरुलाई वार्षिक रुपमा ४३ लाख रकम बराबरको छात्रवृति उपलब्ध गराएको छ । यो छात्रवृतिले शाखा संचालित वडा/पालिकामा मेगा बैंकलाई जनताको बैंकको रुपमा स्थापित गरेको छ भने मेगा बैंकले “बैंक अफ दि इयर २०१९” नामक अन्तर्राष्ट्रिय पुरस्कार प्राप्त गर्दा प्रमुख आधारशिला बनेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.