नेपाल लाइफले ल्यायो जोखिमयुक्त पेशा लक्षित योजना, बीमालेख धितोमा ९०% सम्म ऋण पाइने

  २०७८ मंसिर २१ गते १४:१९     विकासन्युज

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ समुन्नत जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ । कम्पनीले जोखिमयुक्त पेशामा लागेका व्यक्तिहरुलाई लक्षित गर्दै नयाँ जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

कम्पनीले विकास निर्माणका काम लगायत अन्य जोखिमयुक्त पेशाहरु जस्तै डाक्टर, इन्जिनियर, बाइक राइडर, फ्याक्ट्री वर्करदेखि लेबरसम्मका पेशा अपनाउने व्यक्तिहरुलाई लक्षित गरेर यो जीवन बीमा योजना ल्याएको हो ।  बढी जोखिमयुक्त पेशामा लागेका व्यक्तिको एउटै बीमालेखबाट अधिकतम जोखिम वहन गर्ने विशेषता भएको बीमा योजनाको माग भएको सर्वेक्षणका आधारमा कम्पनीले यो योजना ल्याएको हो ।

यो जीवन बीमा योजना मुनाफामा सरिक हुने सावधिक जीवन बीमा हो । यो योजनाको मूख्य आकर्षण भनेको बीमा अवधि भित्र बीमितको दुर्घटनाका कारण मृत्यु भएमा बीमाङ्क रकमको तेब्बर र आर्जित बोनस बीमितका इच्छाइएको व्यक्तिले भुक्तानी प्राप्त गर्न सकिनेछ ।

यो बीमालेख १८ वर्षदेखि ६० वर्ष उमेर समुहका व्यक्तिले लिन सक्नेछन् । ५ वर्षदेखि अधिकतम ३० वर्षसम्म अवधिको बीमा लिन सकिने छ भने १८ वर्ष देखि ६० वर्षसम्मै घातक रोग उपचार खर्च योजना ऐच्छिक सुविधा लिन सकिनेछ । अतिरिक्त बीमाशुल्क तिरेर बीमाङ्क रकम बराबर वा अधिकतम ५० लाख रुपैयाँसम्मको घातक रोग उपचार खर्च योजनामा सामेल हुन सकिने कम्पनीले जनाएको छ ।

यो बीमालेखको बीमा समाप्ति अधिकतम ६५ वर्ष उमेरमा हुनेछ । ५० हजार रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको बीमाङ्क रकमको बीमा गर्न सकिनेछ ।

वार्षिक, अर्धवार्षिक, त्रैमासिक र मासिकरुपमा बीमा शुल्क भुक्तानी गर्न सकिने छ । वार्षिक बीमाशुल्क तिर्ने तरिका लिँदा १ प्रतिशत छुट, त्रैमासिक बीमाशुल्क तिर्ने तरिका लिँदा ३ प्रतिशत थप र मासिक बीमाशुल्क तिर्ने तरिका लिँदा ६ प्रतिशत थप लाग्नेछ भने अर्ध वार्षिक बीमाशुल्क तिर्ने तरिका लिँदा प्रीमियममा थप घट नहुने इन्स्योरेन्सले जानकारी गराएको छ ।।

बीमालेख चालु रहि बीमा अवधि समाप्त मितिसम्म बीमित जीवित रहेमा बीमा अवधि समाप्तीको अन्त्यमा बीमाङ्क रकम प्लस आर्जित बोनस एकमुष्ट बीमितलाई भुक्तानी दिइने छ । बीमालेख चालु रही बीमा अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा दुई गुणा बीमाङ्क रकम प्लस आर्जित बोनश एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइने छ ।

बीमा अवधि भित्र बीमितको दुर्घटनाको कारणबाट मृत्यु भएमा बीमालेखमा उल्लेख भएको तीन गुणा बीमाङ्क रकम प्लस आर्जित बोनस रकम एकमुष्ट बीमितको इच्छाइएको व्यक्तिलाई भुक्तानी दिइनेछ ।

यदि कदम्कदाचित बीमालेखलाई निरन्तरता दिन नसक्ने अवस्था आएमा वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात समर्पण मूल्य प्राप्त गर्न सकिनेछ ।

वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात बीमालेखलाई धितो राखि समर्पण मूल्यको ९० प्रतिशतसम्म कर्जा प्राप्त गर्न सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.