भिमसेन मन्दिरको छानो छाउनका लागि श्रमदान आह्वान, सवा ४ करोड लगानी लाग्ने

  २०७८ मंसिर १८ गते १५:५८     विकासन्युज

काठमाडाैं । ललितपुरको मंगलबजारस्थित ऐतिहासिक तथा पूरातात्विक महत्वको भिमसेन मन्दिरको छानो झिंगटी छाउनका लागि श्रमदान आह्वान गरिएको छ ।

भिमसेन मन्दिर पुनर्निर्माण सरोकार समितिले शनिबार एक कार्यक्रमको आयोजना गरी सो छानो छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरेको हो । ‘हाम्रो सम्पदा हामी आफैं निर्माण गर्न सक्छौैं’ भन्ने मर्मलाई बोध गरी मन्दिरको छानो झिंगटी छाउनका लागि स्थानीयसँग श्रमदानको आह्वान गरिएको समितिका अध्यक्ष कृष्णलाल महर्जनले जानकारी दिए ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएको सो मन्दिरको पुनर्निर्माणको काम सकिन लागेको छ । स्थानीय स्रोत र साधनको अधिकतम प्रयोग परी पुनर्निर्माणको काम अन्तिम चरणमा पु¥याइएको सो मन्दिरमा झिंगटीको छानो छाउने काम सुरु गरिएको छ । समितिका अध्यक्ष महर्जनले स्थानीयकै उपस्थितिमा छानो छाउने काम पनि सम्पन्न गर्न लागिएको बताए ।

जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसाल पनि ऐतिहासिक तथा पूरातात्विक महत्वको सो सम्पदा पुनर्निर्माण कार्यमा स्थानीयको सहभागिता गौरव गर्न लायक रहेको प्रतिक्रिया दिइन् । उनले सम्पदाहरुको पुनर्निर्माण हामी आफैं गर्न सक्छौं भन्ने कुराको दृष्टान्त पनि यस मन्दिरको पुनर्निर्माणमा स्थानीयको सहभागिताले देखाएको भन्दै खुशी व्यक्त गरिन् ।

यो मन्दिर पुनर्निर्माणका लागि करिव ४ करोड १३ लाख लाग्ने अनुमान गरिएको छ । स्थानीय व्यापारी हिराकाजी महर्जनले मन्दिरका लागि आवश्यक इँटाको व्यवस्था गर्नु भएको थियो भने माटोका लागि आवश्यक बजेटको व्यवस्था अर्का स्थानीय व्यापारी कल्याणजीत ताम्राकारले गरेका थिए ।

यो मन्दिर पुनर्निर्माणका लागि ललितपुर महानगरपालिकाले १ करोड, एभरेष्ट बैंकका अध्यक्ष विके श्रेष्ठले १ करोड, इन्भेष्टमेन्ट बैंकले १ करोड सहयोग गरेको पनि मन्दिर पुनर्निर्माण सरोकार समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.