दिनप्रतिदिन तरलताको चापमा बैंक, प्रणालीमा १५ अर्ब मात्रै, ५% नाघ्यो अन्तर बैंकिङ दर

  २०७८ मंसिर १३ गते ११:०७     विकासन्युज

काठमाडौं । अझै पनि बैंकिङ प्रणालीमा तरलताको अभाव कायमै छ । बैंकिङ क्षेत्रमा लामो समयदेखि रहेको तरलता अभाव अझै कायमै छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार साँझसम्म बैंकिङ क्षेत्रमा कुल १५ अर्ब ३४ करोड रुपैयाँ मात्रै अधिक तरलता छ ।

बैंकिङ क्षेत्रमा तरलताको अभाव देखिँदा बैंक तथा वित्तीय संस्थाहरुले पनि कर्जा विस्तार गर्न सकिरहेका छैनन् भने निक्षेपकर्तालाई दिने व्याज पनि बैंकहरुले बढाइरहेका छन् ।

राष्ट्र बैंक बैंकिङ क्षेत्रमा अधिक तरलता देखिएपछि केही चनाखो भएर कर्जा प्रवाहको स्थिती र कर्जा प्रवाह भएको क्षेत्रलाई विश्लेषण गरिरहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण पोखरेल बताउँछन् ।

‘अहिले बैंकिङ क्षेत्रमा १५ अर्ब ३४ करोड रुपैयाँ अधिक तरलता छ, हामी तरलताको यवस्थापनका उपकरणहरु अपनाइरहेका छौं, बजारमा कसरी पैसा पठाउने भन्ने बारे हामी काम गरिरहेका छौं, यति तरलता हुँदा हुँदै पनि अहिले नै आँति हाल्नु पर्ने अवस्था भने छैन,’ उनले भने ।

उनका अनुसार गत आर्थिक वर्षमा पनि नेपाल राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा बढी कर्जा प्रवाह भएको थियो । गत वर्ष बैंकिङ क्षेत्रमा २७.३ प्रतिशत कर्जा प्रवाह बढेको थियो । जुन राष्ट्र बैंकले लिएको लक्ष्यभन्दा धेरै बढी हो । उनले चालु आवका लागि राष्ट्र बैंकले १९. प्रतिशत कर्जा प्रवाह हुने अनुमान गरेको बताए ।

राष्ट्र बैंकका अनुसार हालसम्म वाणिज्य र विकास बैंकको कुल निक्षेप ४७ खर्ब ७९ अर्ब २१ करोड र कुल कर्जा प्रवाह ४५ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ पुगेको छ ।

यता बैंकहरुको अन्तरबैंक व्याजदर भने ५ प्रतिशत नाघेको छ । तरलताको झन–झन अभाव हुँदै गएपछि अन्तर बैंकिङ व्याजदर पनि बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा मार्फत कर्जा–निक्षेप अनुपात (सिडी रेसियो) को व्यवस्थालाई यथावत राखेको थियो ।

तरलताको व्यवस्थापन गर्नको लागि राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुले कर्जा–निक्षेप अनुपात कर्जा–पूँजी–निक्षेप अनुपात–२०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्ने व्यवस्था गरेको हो ।

नेपाल राष्ट्र बैंकले चालु आवको मौद्रिक नीति मार्फत ८५ प्रतिशतको सीसीडीको व्यवस्थालाई खारेज गरेर ९० प्रतिशतको सीडी रेसियोको व्यवस्था कायम गरेको थियो । सीसीडी खारेज गरेर सीडी रेसियोको व्यवस्था गरेकोले पनि बैंकहरुले तरलताको समस्या भोग्नु परेको धेरे बुझाई छ ।

हाल बैंकहरुको कुल औसत सीडी रेसियाे ९०.३१ प्रतिशत छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको तीन महिनामा रिपोमार्फत १ खर्ब ८५ अर्ब ५० करोड बराबरको तलरता प्रवाह गरेको बताएको छ ।

राष्ट्र बैंकले स्थायी तरलता सुविधामार्फत ८ खर्ब २२ अर्ब ६८ करोड बराबरको तरलता दिए पनि बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव भइरहेको छ । तरलता अभाव भएपछि केही बैंकले नयाँ ऋण खोज्नेलाई समय सार्दै आएका छन् भने केहीले पछि सम्पर्कमा आउन भनिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.