बैंक म्यानेजरको धन्दाः भल्टको रकम निकालेर मिटर व्याजमा लगानी

  २०७८ मंसिर ८ गते १४:३७     विकासन्युज

काठमाडौं । एक विकास बैंकका शाखा प्रबन्धक (म्यानेजर) ले आफ्नो बैंकको भल्टमा रहेको रकम निकालेर मिटर व्याजमा लगानी गर्ने गरेको पाइएको छ ।

सिन्धु विकास बैंकको काभ्रेको दोलालघाट शाखाका म्यानेजरले बैंकको भल्टमा रहेको रकमबाट निजी प्रयोजनका लागि मिटर व्याजमा लगानी गर्ने गरेको पाइएको हो । तोकिएको भन्दा बढी व्याजमा लिने गरी अबैधानिक रुपमा सापटी दिने कार्य नै मिटर व्याजमा लगानी हो ।

दोलालघाट शाखाका म्यानेजर सुमन खरेलले बैंकको भल्टबाट रकम निकालेर मिटर व्याजमा लगानी गर्ने गरेको पाइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले जानकारी दिएको छ ।

खरेललाई सीआईबीले गत कात्तिक ९ गते पक्राउ गरेको थियो । उनी काभ्रेकै भुल्लु गाउँपालिका–९ का वासिन्दा हुन् । उनलाई सुरुमा प्रहरीले सिन्धु विकास बैंकको दोलालघाट शाखाको रकम एनसीसी बैंकको बाह्रबिसेमा रहेको शाखामा जम्मा गर्न लैजान्छु भनेर लगेको तर जम्मा नगरेको अभियोगमा पक्राउ गरेको थियो ।

पक्राउ परेको समयमा खरेलले निक्षेपकर्ताको १ करोड ८० लाख रुपैयाँ हिनामिना गरेको उजुरका आधारमा बैंकिङ कसुर कसुर अन्तरगत पक्राउ गरेको थियो । यसरी पक्राउ परेका खरेललाई सीआईबीले पाटन उच्च अदालतबाट म्याद थप पनि गरिसकेको छ ।

प्रहरीले थप अनुसन्धान गर्दै जादा खरेलसहित ५ जना मिलेर बैंकको भल्टमा राखिएको पैसा मिटर व्याजमा लगाउने गरेको पाइएको जानकारी दिएको छ । उनको टोलीले बैंकको भल्टमा राखेको २ करोड ४७ लाख रुपैयाँ यसरी हिनामिना गरेको पाइएको सीआईबी स्रोतले जानकारी दियो ।

खरेलको टीमले कहिलेदेखि यस्तो कार्य गर्दै आएको थियो र अहिलेसम्म कति रकम यसरी मिटर व्याजमा लगानी गरिसकेको छ भन्ने बारेमा अनुसन्धान भइरहेको सीआईबीको भनाई छ ।

कसरी पत्ता लाग्यो ?

सामान्यतः बैंकले दैनिक रुपमा कति मानिस चेक मार्फत आफ्नो बैंकमा रकम निकाल्न आउँछन् र कति रकम निक्षेपको रुपमा आउँछ भन्ने पहिलाको तथ्यांकका आधारमा आफ्नै भल्टमा रकम राख्ने गर्छ । निक्षेपका रुपमा आउने रकमले चेकमार्फत रकम झिक्न आउने ग्राहकलाई फिर्ता दिन नपुग भएमा भल्टमा राखिएको रकम प्रयोग हुन्छ ।

यस्तै, हिसाव गरेर सिन्धु विकास बैंकले दोलालघाट शाखाको भल्टमा यति रकम छ भन्ने हिसावले नगद व्यवस्थापन गरेको थियो । अर्थात बैंकको भल्टमा भएको रकम अंकमा मात्रै हेरिने हुँदा सो शाखामा यति रकम छ भनेर बैंक व्यवस्थापन ढुक्क थियो ।

तर, गत दशैंमा निक्षेप झिक्न आउने ग्राहकलाई दिन रकम पुगेन । बैंकको केन्द्रीय र प्रादेशिक कार्यालयबाट हेर्दा रकम देखिने तर, बैंकको शाखामा नगद नहुने भएपछि के भयो भनेर सोधिखोजी हुन थाल्यो । यस्तैमा बैंकको भल्टमा छ भनिएको रकम नभएको खुलासा भएको थियो । त्यसपछि मात्रै तत्कालिन शाखा प्रबन्धक खरेलले गरेको गलत कार्य खुलेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.