नेप्से दोहोरो अंकले घट्दा कारोबार बढ्यो, सबैभन्दा बढी एनटीसीको

  २०७८ मंसिर ७ गते १५:३६     विकासन्युज

काठमाडौं । मंगलबारको सेयर बजार दोहोरो अंकले ओरालो लागेको छ । कारोबार खुलेदेखि ओरालो लागेको बजारमा सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक ३२.२९ अंकले घटेर २७३३.१४ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.१७ प्रतिशतले घटी हो ।

बजारमा परिसूचक घटेपनि कारोबार रकम २४ करोड रुपैयाँले बढेको छ । सोमबार ३ अर्ब ९२ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको बजारमा मंगलबार भने ४ अर्ब १६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बजारमा २२७ वटा स्क्रिप्टको ७४ लाख ४८ हजार कित्ता सेयर किनबेच भएको छ जसमध्ये सबैभन्दा बढी नेपाल दुरसञ्चार कम्पनी (एनटीसी)को उच्च कारोबार भएको छ । कम्पनीको एकैदिन ४१ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

एनटीसीको कारोबार रकमसँगै सेयर मूल्य पनि बढेको छ । सोमबारको तुलनामा कम्पनीको सेयर मूल्य ३६.८० रुपैयाँले बढेर प्रतिकित्ता १४५७ रुपैयाँ पुगेको छ । जुन २.५९ प्रतिशतले बढी हो ।

त्यस्तै, १० करोड रुपैयाँभन्दा माथिको सेयर कारोबार हुनेमा अन्य ३ वटा कम्पनी छन् । नेशनल हाइड्रोपावर कम्पनी, महालक्ष्मी विकास बैंक र अपि पावर कम्पनीको १० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । संस्थाको पछिल्लो केही समययता सेयर मूल्य निरन्तर रुपमा बढेको छ । मंगलबार संस्थाको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १९९०.१० रुपैयाँ पुगेको छ ।

मंगलबार जम्मा १४ कम्पनीको सेयर मूल्य बढेको छ । र, अधिकांश अर्थात १७१ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको सेयर मूल्य सोमबारको तुलनामा स्थिर रहेको छ । सबैभन्दा बढी आईसीएफसी फाइनान्सको सेयर मूल्य घटेको छ । संस्थाको सेयर मूल्य ५.८४ प्रतिशतले घटेर प्रतिकित्ता ८१९ रुपैयाँमा झरेको छ ।

त्यस्तै, मंगलबार अन्य समूह बाहेक कारोबारमा आएका बाँकी समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.