अर्कैको नामको घरजग्गालाई बैंकमा धितो राखेर ऋण पाइन्छ ?

  २०७८ मंसिर ४ गते १६:३५     विकासन्युज

काठमाडौं । बैंकका अधिकांश ग्राहकले कुनै न कुनै सम्पत्ति धितो राखेर बैंकबाट ऋण लिन्छन् । बैंक तथा वित्तीय संस्थाहरुले पनि धितो बिना ऋण दिँदैनन् । त्यसैले पनि बैंकमा धितो राखेर मात्रै ग्राहकले ऋण प्राप्त गर्छन् ।

अन्य धितोभन्दा पनि अहिले अधिकांश मानिसहरुले घरजग्गा नै धितोमा राखेर कर्जा लिने गर्छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाहरुको कुल लगानीमा रहिरहेको कर्जामध्ये ६६.६ प्रतिशत कर्जा घर जग्गाको धितोमा प्रवाह भएको छ ।

यो तथ्यांकले पनि घरजग्गा धितो राखेर कर्जा लिने मानिसहरुको संख्या उल्लेख्य छ । घरजग्गा धितो राखेर लिने कर्जाको ग्राफ वर्षेनी बढ्दै गएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुले घर बनाउन वा किन्न, जग्गा किन्न, पढ्न, विवाह गर्न वा कुनै व्यवसाय गर्नका लागि कर्जा दिने गर्छन् । तर, सो कर्जाका लागि बैंकले धितो चाहन्छ ।

धितो पनि तपाईंले लिने कर्जाको प्रकृति तथा तपाईंको आम्दानी अनुसार हुन्छ । कर्जा मागे अनुसारको सम्पत्ति वा तपाईंको आम्दानी छैन भने बैंक तथा वित्तीय संस्थाले कर्जा दिन आनाकानी मात्रै होइन तपाईंको प्रस्ताव सिधै अस्वीकार गरिदिन्छन् ।

यदि तपाईंसँग धितो राख्नलाई कुनै सम्पत्ति छैन । तपाईंको आफन्त वा कुनै नाता पर्नेको जग्गा वा घर बैंकमा धितो राखेर ऋण लिन चाहनुहुन्छ भने तपाईंले ऋण पाउनु हुन्छ होला त ?

बैंकरहरु भने यस्तो सम्पत्तिमा धितो नपाउने बताउँछन् । आफ्नै परिवारको कुनै सदस्यको नाममा रहेको जग्गालाईइ धितो राखेर तपाईंले ऋण पाउनु हुन्छ तर आफन्त पर्नेको नाममा रहेको घरजग्गा धितो राखेर ऋण नपाउने बैंकरहरु बताउँछन् ।

एक वाणिज्य बैंकका सीईओका अनुसार आफ्नो परिवारको सदस्यको नाममा रहेको सम्पत्ति बाहेक अरुको नाममा रहेको जग्गालाई धितो राखेर ऋण पाइँदैन ।

‘एउटै घरको दाजु भाई, आमबुवा वा श्रीमान श्रीमतिको नाममा रहेको सम्पत्तिलाई धितोमा राखेर ऋण निकाल्न सकिन्छ, तर आफन्त हो भन्दैमा गाउँको कुनै व्यक्ति वा ससुरालीको कुनै मानिसको सम्पत्तिलाई धितो राखेर ऋण पाइँदैन, त्यस्ता धेरै मानिसहरु बैंकमा आउनुहुन्छ, तर हामी पनि दिन मिल्दैन,’ ती सीईओले भने ।

ती सीईओका अनुसार आफ्दै दाजुभाई छ तर अंशबण्डा भइसकेको छ भनेपनि यस्तो धितोमा ऋण पाइँदैन ।

उसो त नेपाल राष्ट्र बैंकले पनि यसबारे स्पष्ट बोलेको छ । नेपाल राष्ट्रको बैंकले व्यवस्थाले स्पष्ट भनेको छ, ‘एकाघर घरपरिवारको मान्छे को हो, को होइन ? जस्तै, श्रीमान–श्रीमती, बुवा–आमा, सासु–ससुरा, नछुट्टिएको दाजु–भाई, भाउजु–बुहारी एकै घरपरिवार सदस्य मानिन्छन् ।’

एकाघर परिवारको सदस्यमा रहेको धितो बन्धक राखेर ऋण लिन पाइने भएपनि सम्पत्ति नाममा रहेको व्यक्तिको अनुमति भने चाहिन्छ । जसको नाममा सम्पत्ति छ सो व्यक्तिले म धितो बन्धक बनाउन इच्छुक छु भनेर हस्ताक्षर गरेपछि मात्रै सो सम्पत्ति रोक्का हुन्छ ।

धितोसँगै कर्जा लिने व्यक्तिको आम्दानी पनि देखाउनु पर्छ । बैंक तथा वित्तीय संस्थाहरुले व्यक्तिको आम्दानी अनुसार नै कर्जा दिने गर्छन् । बैंकहरुले व्यक्तिको आम्दानीको क्षमता हेरेर सोही रकमको कर्जा प्रदान गर्छन् ।

कागज के–के चाहिन्छ ?

घरजग्गा धितो राखेर कर्जा लिने प्रक्रिया धेरै सजिलो छैन । ग्राहक र बैंकले पनि धेरै प्रक्रिया पूरा गरेपछि मात्रै बैंकबाट ऋण पाइन्छ ।
घरजग्गा धितो राखेर बैंकबाट ऋण पाउनका लागि ऋणीले धेरै कागजहरु बैंकमा बुझाउनु पर्ने हुन्छ ।

ऋण लिनेले घरजग्गाको लालपुर्जा, जग्गाको प्रिन्ट आउट, नागरिकता, चारकिल्ला प्रमाणित कागज, घरजग्गाको नक्सा प्रिन्ट बैंकमा बुझाउनु पर्ने हुन्छ ।

यसका साथै, घरजग्गा रोक्का गरेको मालापोतको कागजका साथै घर निर्माण सम्पन्न भएको कागज पनि ऋणीले बैंकमा बुझाउनु पर्ने हुन्छ । ऋणीले धितो राखेर कर्जा पाउनका लागि आफ्नो आम्दानी पनि देखाउनु पर्ने हुन्छ । त्यसैले आफु आवद्ध संस्थाबाट आम्दानी तथा तलब स्टेटमेन्ट सहितको प्रमाण वा आम्दानी खुल्ने स्रोतको प्रमाणित कागज पनि बुझाउनु पर्ने हुन्छ ।

यी विभिन्न कागज बैंकमा बुझाइसकेपछि बैंकले भ्यालुएटर अर्थात मूल्यांकनकर्तालाई बुझाउँछ । र, मूल्यांकन कर्ताले सो सम्पत्तिको मूल्य तय गरिसकेपछि ऋणीले ऋण प्राप्त गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.