नेप्से परिसूचक र कारोबार रकम दुबैमा सुधार, सबै समूहमा छायो हरियाली

  २०७८ कार्तिक २९ गते १५:२७     विकासन्युज

काठमाडौं । सेयर बजार करिब दुई सातापछि उकालो लागेको छ । गत कार्त्तिक १७ गतेदेखि निरन्तर ओरालो लागेको सेयर बजार कार्त्तिक २९ गते सोमबार भने दोहोरो उकालो लागेको हो ।

बजारमा नेप्से परिसूचक २६.४४ बिन्दुले उकालो लागेर २७१५.३५ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.९८ प्रतिशतले बढी हो ।

सोमबार नेप्से परिसूचकसँगै सेयर कारोबार पनि बढेको छ । आइतबार ४ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा सोमबार ४ अर्ब ७३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

नियमित समयसम्म कारोबार भएको बजारमा २२८ कम्पनीको सेयर कारोबार भएको थियो । जसमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ३५ करोड ४६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

उच्च कारोबार भएको संस्थाको सेयर मूल्य भने घटेको छ । संस्थाको सेयर मूल्य ४.४६ प्रतिशतले घटेर प्रतिकित्ता ७५० रुपैयाँमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ३५ रुपैयाँले बढी हो ।

सोमबार कारोबारमा आएका १३ वटै समूह हरिया देखिएका छन् । जसमध्ये निर्जीवन बीमा समूह सबैभन्दा बढी अर्थात २१२ बिन्दुले उकालो लागेको छ ।

दोहोरो अंकले बढेको बजारमा ४ कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । आइतबारजस्तै सोमबार पनि बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १३ हजार ७ रुपैयाँ पुगेको छ । त्यसैगरी, मानुषी लघुवित्तको १० प्रतिशतले बढेर प्रतिकित्ता १ हजार १२३ रुपैयाँ, तेह्रथुप पावरको ९.९९ प्रतिशतले बढेर ४८३ रुपैयाँ र मैलुङ्ग खोलाको सेयर मूल्य ९.६१ प्रतिशतले बढेर प्रतिकित्ता ४७९ रुपैयाँ पुगेको छ ।

आइतबार केन्द्रिय बैंक नेपाल राष्ट बैंकले निर्देशन जारी गर्दै व्याजदर बृद्धिमा लगाम लगाएसँगै त्यसको सकारात्मक प्रभाव सोमबारको सेयर बजारमा परेको हो । उक्त निर्देशनअनुसार वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले अब आफ्नो औसत व्याजदरको १० प्रतिशत मात्रै व्याज बढाउन पाउने व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.