सकियो नौनी र धुलो दुधको मौज्दात, बैशाख जेठमा अभाव झनै चर्कने

  २०७८ कार्तिक २९ गते १२:३२     विकासन्युज

काठमाडौं । पछिल्लो समय बजारमा बटर (नौनी) र धुलो दुधको अभाव देखिएको छ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) र निजी लगानीमा सञ्चालित डेरीहरुले मौज्दात सकिएपछि बजारमा बटर र धुलो दुधको अभाव देखिएको उद्योगीले जानकारी दिएका छन् ।

डीडीसीले कोभिडको समयमा मौज्दात धेरै भएर भण्डारण भरिदा नयाँ उत्पादन गर्न रोकेपछि अहिले अभाव देखिएको हो ।

डीडीसीका महाप्रबन्धक रुद्रप्रसाद पौडेलले साउदेखि असोजसम्म दुध संकलनमा कमी आउँदा बटर र धुलो दुधको अभाव देखिएको बताउँछन् ।

‘कोभिडको समयमा उत्पादन भएका बटर र दुध सबै सकियो, अहिले हामीले न्यूनतम मात्रामा बटर मौज्दातमा राखेका छौं, अहिलेका लागि हामीले पहिला नै तयार गर्नुपर्ने थियो तर, कोभिडका कारण मौज्दात रहेको बटर र धुलो दुध सकिएसँगै बजारमा अभाव देखिएको हो,’ उनले भने ।

पर्याप्त मात्रामा दूध संकलन नहुँदा मौज्दात राखिएको बटर र धुलो दुध सकिएपछि बजारमा अभाव देखिएको नेपाल डेरी एसोसिएसनले जनाएको छ । एसोसिएनका महासचिव प्रल्हाद दाहाल कोभिड–१९ का कारण धेरै बटर र धुलो दुध स्टक भएपछि नयाँ उत्पादन गर्न नसक्दा बजारमा अभाव देखिएको बताउँछन् ।

‘कोभिडपछि पर्याप्त मात्रामा दुध संकलन हुन सकेको छैन, दुध नै संकलन नभएपछि बटर र धुलो दुध बनाउन समस्या भयो, कोभिडका कारण धेरै किसान यो पेसाबाट पलायन भएका छन्, त्यसैले पनि समस्या भयो,’ महासचिव दाहालले भने ।

आफूहरुले पर्याप्त मात्रामा बटर र धुलो दुध मौज्दातमा राख्न नसक्दा अहिले समस्या भएको उनको भनाई छ । महासचिव दाहाललका अनुसार तिहार अघिदेखि नै बटर र धुलो दुधको मौज्दात सकिएको हो ।

दुध संकलन घट्यो

पछिल्लो समय डीडीसी र निजी डेरीहरुले संकलन गर्ने दुधमा कमी आएको छ । दुध संकलन हुने मुख्य सिजनमा नै कमी आएपछि बजारमा अझै धेरै अभाव देखिने व्यवसायीहरु बताउँछन् ।

‘पहिला यहि सिजनमा दैनिक १५ लाख लिटर दुध मौज्दात राखेर बटर र धुलो दुध बनाईने गरिएको थियो तर, अहिलेको माग धान्न नै मुस्किल भएको छ, अहिलेको मौज्दात राखिएको धुलो दुध खोलेर बैशाख जेठमा बिक्री वितरण गरिन्थ्यो, मौज्दात राख्न नसक्दा अब बैशाख, जेठमा झनै अभाव हुने सम्भावना छ,’ एसोसिएसनका महासचिव दाहालले भने ।

डीडीसी भन्छः भेटिएजति संकलन गर्छाैं

दुध संकलनमा कमी देखिएपछि डीडीसीले भेटिएजति दुध संकलन गर्ने योजना बनाएको छ ।

कम्पनीका अर्थविद अञ्जन अधिकारी बटर र धुदो दुध मौज्दातमा राख्न बजारमा भेटिएजति दुध संकलन गर्ने तयारी भएको बताउँछन् ।

‘हामीले मंसिरदेखि फागुनसम्म संकलन गरेको दुधबाट ७ सय मेट्रिक टन धुलो दुध उत्पादन गर्नुपर्छ, अहिले न्यूनतम मात्रामा मात्रै बटर र धुलो दुध मौज्दात छ, चैत बैशाखको माग परिपूर्ति गर्न अहिले धेरै मौज्दात गर्नुपर्छ’, उनले भने ।

कसरी भयो कम संकलन ?

केही समय अगाडी किसानले दुध बिक्री नभएको भन्दै बाटोमा पोखेको भिडियो सामाजिक सञ्जालमा भाइरल नै बनेको थियो । उत्पादन गरेको दुध डेरी उद्योगले नउठाउँदा बाध्य भएर दुध बाटोमा फाल्नुपरेको दुखेसो किसानले गर्ने गरेका थिए ।

केही समयअघि बिक्री नभएर बाटोमा फाल्नुपर्ने अवस्थामा पुगेको दुध सयममै संकलन नभएका कारण अहिले अभाव भएको डेरी व्यवसायीहरुले बताएका छन् ।

कोभिडका कारण दुध बिक्री नभएपछि कृषि पेशामा आवद्ध किसानहरु पेशाबाटै पलायन भएको पाइएको डेरी एसोसिएसनका महासचिव दाहाल बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.