बढी व्याज दिने बैंक व्यवस्थापनको अधिकार खोसियो, संस्थागत निक्षेप तान्ने होडबाजीमा ब्रेक

  २०७८ कार्तिक २८ गते १६:३८     विकासन्युज

काठमाडौं । बैंक तथा वित्तीय संस्थाका उच्च अधिकारीले व्याजदरमा प्रयोग गर्न पाउने अधिकार कटौति भएको छ । नेपाल राष्ट्र बैंकले आज एक निर्देशन जारी गर्दै बैंक तथा वित्तीय संस्थाले प्रकाशित व्याजदरमा दिन पाउने ०.५ प्रतिशत थप व्याज सम्बन्धी अधिकार कटौति गरिदिएको हो ।

यसअघि बैंक तथा वित्तीय संस्थाहरुले प्रकाशित व्याजदरमा ०.५ प्रतिशत व्याज थप गरेर निक्षेपको व्याज दिन पाउने अधिकार पाएका थिए । तर, कल डिपोजिट र संस्थागत मुद्दति निक्षेपमा भने यसरी बढी व्याज दिन नपाइने र अन्य प्रकारका निक्षेपमा भने प्रकाशित व्याजदरमा ०.५ प्रतिशतले बढी व्याज दिन पाइने व्यवस्था थियो । राष्ट्र बैंक आज जारी गरेको निर्देशनमा प्रकाशित व्याजदरमा नै निक्षेप लिनु पर्ने व्यवस्था गरेर बैंक व्यवस्थापनलाई दिएको अधिकार कटौति गरिदिएको हो ।

यस्तै, राष्ट्र बैंकले संस्थागत निक्षेप तान्न हुने गरेको होडबाजी नियन्त्रणको पहल गरेको छ । बोलकबोलका आधारमा संकलन हुने मुद्दति निक्षेपको हकमा पुनः बोलकबोल गरी नवीकरण गर्नुपर्ने भएमा प्रकाशित व्याजदरमा ०.१ प्रतिशतले व्याजदर थप्न पाइने व्यवस्था राष्ट्र बैंकले गरेको छ ।

‘बोलकवोलको आधारमा संकलन हुने मुद्दती निक्षेपको हकमा प्रकाशित ब्याजदरमा नबढ्ने गरी निक्षेप संकलन गर्नु पर्नेछ । तर, आफूसँगै रहेको निक्षेपलाई पूनः बोलकबोल गरी नवीकरण गर्नु परेमा प्रकाशित ब्याजदरमा ०.१ प्रतिशत बिन्दूसम्म थप गरी निक्षेप संकलन गर्न सकिनेछ,’ राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.