२७ सयको बिन्दु पुगेर फर्कियो नेप्से, पाँच कम्पनीमा लाग्यो सर्किट

  २०७८ कार्तिक २८ गते १५:३२     विकासन्युज

काठमाडौं । आइतबारको सेयर बजार २७०० को बिन्दु पार गरेर फर्किएको छ । सेयर मूल्य मापन गर्ने नेप्से परिसूचक १.३८ अंकले घटेर २६८८.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.०५ प्रतिशतले घटी हो ।

कारोबार शुरु भएदेखि घटबढको क्रममा रहेको परिसूचक दिउँसो पौने २ बजेतिर बढेर २७०४ बिन्दुसम्म पुगेको थियो । त्यसपछि पुनः घटेर अन्त्यमा २६८८ बिन्दुमा झरेको छ ।

बजारमा परिसूचसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ५ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा आइतबार भने ४ अर्ब ९ करोड रुपैयाँ बराबरको मात्रै सेयर कारोबार भएको छ । दिनभरको बजारमा २३० वटा स्क्रिप्टको सो मात्राको कारोबार भएको हो । जसमध्ये महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन २७ करोड ३९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

त्यस्तै, बजारमा विभिन्न ५ कम्पनीको सेयरमा सर्किट लागेको छ । जसमध्ये ४ कम्पनीमा सकारात्मक सर्किट लागेको छ भने बाँकी एक कम्पनीकोमा नकारात्मक सर्किट लागेको छ ।

सकारात्मक सर्किट लाग्नेमा बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंक रहेका छन् । जसमध्ये बोटलर्स नेपालको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ११ हजार ८२५ रुपेयाँ पुगेको छ । त्यस्तै, मानुषी लघुवित्त र तेह्रथुम पावर दुबैको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १०२१ र ४३९ रुपैयाँ पुगेको छ । त्यसैगरी महालक्ष्मी विकास बैंकको सेयर मूल्य ९.८७ प्रतिशतले बढेर प्रतिकित्ता ७८५ रुपैयाँ पुगेको छ ।

आइतबार एचआईडीसीएलको सेयरमा भने नकारात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँले घटेर प्रतिकित्ता ३१५ रुपैयाँमा झरेको छ ।

बजारमा कूल १३ वटा समूह कारोबारमा आएका थिए । जसमध्ये ७ वटा समूह हरिया देखिएका छन् भने ६ वटा राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.