तरलताको समस्या तत्काल समाधान नगरे दीर्घकालीन समस्या निम्तिन्छ: उपाध्यक्ष ढकाल

  २०७८ कार्तिक २६ गते १७:४४     विकासन्युज

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको समस्या तत्काल समाधन गर्न नेपाल सरकार र नेपाल राष्ट्र बैंकलाई आग्रह गरेका छन् ।

उनले भने, ‘विगत दुई वर्षभन्दा लामो समयदेखि कोभिड–१९ को महामारीबाट थला परेको अर्थतन्त्र विस्तारै उठ्दैछ, मुलुकको उद्योग व्यवसाय विस्तारै सुधार हुने अवस्थामा देखिएको छ । यही समयमा बैंकिङ क्षेत्रमा देखिएको तरलता समस्याले यसलाई थप मारमा पार्न सक्छ, त्यसैले यो समस्या हल गर्न सरकार गम्भीर हुनुपर्छ ।’

आज भक्तपुर उद्योग वाणिज्य सङ्घको ३४औँ वार्षिक साधारणसभा तथा अधिवेशनको उद्घाटन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड–१९ को महामारीबाट थला परेको व्यावसायिक क्षेत्र विस्तारै सुधार हुने अवस्थामा रहेको हुँदा अहिले बजारमा देखिएको तरलता समस्या समाधानका लागि नेपाल राष्ट्र बैंकले तत्कालै कदम चाल्न नसके यसले दीर्घकालीन समस्या उत्पन्न गर्नेछ भने ।

वरिष्ठ उपाध्यक्ष ढकालले भने, ‘बैंकिङ क्षेत्रको तरलताले उद्योग व्यवसायको गतिविधि बढाउन अझै निकै समस्या आउने देखिन्छ, यो समस्यालाई समाधान गर्ने गरी सरकार, अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई तुरुन्त कदम चाल्न म आग्रह गर्दछु, अब नयाँ मौद्रिक नीति आउँदा यो समस्यालाई सम्बोधन गर्ने गरी नीति आउनु आवश्यक छ ।’

उनले यो समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घले पनि सरकारको ध्यानाकर्षण गराएको जानकारी दिए । वरिष्ठ उपाध्यक्ष ढकालले यस वर्ष बजेट ल्याउन ढिला हुँदा सरकारी खर्च कम भएको र विप्रेषणको आप्रवाह पनि घट्न पुगेको भन्दै यसले बजारमा तरलता अभाव देखिएको स्पष्ट गरे ।

उनले स्थानीयस्तरमा बजार अनुगमन होस् या अन्य व्यावसायिक गतिविधिका लागि स्थानीय सरकारहरुले निजी क्षेत्रको समन्वयमा काम गर्न सक्दा मुलुकको निजी क्षेत्र र सरकारका लागि पनि राम्रो हुने बताए । सरकारदेखि जिल्ला प्रशासन कार्यालयसम्मले गर्ने लकडाउन, निषेधाज्ञा र अनुगमनमा निजी क्षेत्रलाई बेवास्ता गरेर गतिविधि गरेको पाइएको भन्दै उनले त्यस्ता गतिविधि गर्दा निजी क्षेत्र र सङ्घको सहयोग लिएर गर्न आग्रह गरे ।

उनले भने, ‘यस्ता कार्यमा निजी क्षेत्रलाई संलग्न गराउने या निजी क्षेत्रका प्रतिनिधिलाई विश्वासमा लिएर काम गर्न सकेमा राम्रो परिणाम निस्किने छ, यो कुरा सबै तहका सरकारहरुले मनन् गर्नुपर्छ ।’ उनले मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिकाको चर्चा गर्दै राज्यका संयन्त्रले पनि निजी क्षेत्रसँग मिलेर काम गर्नुपर्ने सुझाव दिए ।

निजी क्षेत्र विकास र आर्थिक वृद्धिको मुख्य इञ्जिन भएका उहाँले चर्चा गर्नुभयो । मुलुकमा व्यावसायिक सफलता आएमा देशको आर्थिक वृद्धि भई रोजगारी सिर्जना हुने भन्दै उपाध्यक्ष ढकालले विकासोन्मुख देशमा निजी क्षेत्रको भूमिका झन ठूलो र महत्वपूर्ण हुने पनि स्पष्ट गरे ।

पर्यटन व्यवसाय पुनःसुरु भएको र आन्तरिक पर्यटन प्रवद्र्धनमा सरकारले कर्मचारीलाई १५ दिनको तलब उपलब्ध गराउने नीतिले आन्तरिक पर्यटनको विकासमा टेवा पुर्याएकाे उनको भनाइ छ । अहिले बिदाका बेलामा नगरकोटदेखि धुलिखेलसम्मका होटल आन्तरिक पर्यटकले भरिने गरेको चर्चा गर्दै उनले निजी र सार्वजनिक निकायले पनि यस्ता कार्यमा सहयोग गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका सभापति एवं सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले भक्तपुरलाई हस्तकलाको राजधानीका रुपमा विकास गर्न सङ्घले आगामी पाँच वर्षे ठोस योजना बनाएर काम गर्नुपर्नेमा जोड दिए । उनले कोरोनाका कारण उद्योग व्यवसाय मारमा परेकाले पुनःगतिविधि अगाडि बढाउन आवश्यक रहेको भन्दै सूचना प्रविधिको क्षेत्रमा नयाँ अवसर सिर्जना गरी युवालाई प्रविधिको विकाससँगै रोजगारीमा अगाडि बढाउनुपर्नेमा जोड दिए ।

अहिले उद्योग व्यवसाय सङ्कटमा परेको बेलामा एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा छिन्नभिन्न भएर भिन्नाभिन्नै सङ्घ खोल्दा आफैँ कमजोर हुने भन्दै उहाँले उद्योगको विकासका लागि सबै एकै ठाउँमा आउनुपर्नेमा जोड दिए ।

कार्यक्रममा सङ्घका वरिष्ठ उपाध्यक्ष शिव मानन्धरले अबको नयाँ नेतृत्व सर्वसम्मतरुपमा आउनुपर्नेमा जोड दिँदै सङ्घको गतिविधिलाई चलायमान बनाउने बताए । त्यसअवसरमा उत्कृष्ट निर्यातकर्तालाई सम्मान गरिएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.