जनकपुरमा छठपर्वको रौनक, यस्ता देखिए दुलहीझैँ सिङ्गारिएका नगर (फोटोसहित)

  २०७८ कार्तिक २४ गते १२:०१     विकासन्युज

जनकपुर । जनकपुरसहित मिथिला क्षेत्रमा अहिले छठपर्वको रौनक छ । छठ पर्वको चौथो र मुख्य दिन मानिने आज व्रतालु निराहार व्रत गरिरहेका छन् । आज साँझ नै उनीहरुले पवित्र जलाशयमा सजाइएको घाटमा मिष्ठान्न परिकार राखिएका डाली हातमा उठाएर अस्ताउँदो सूर्यलाई पहिलो अर्घ्य दिनेछन् ।

यसअघि व्रतालुले कार्तिक शुक्ल तृतीयाका दिन ‘अरबा अरबाइन’, चौथीका दिन ‘नहाय-खाय’ र पञ्चमीका दिन ‘खरना’ विधि सम्पन्न गरिसकेका छन् । श्रद्धा, निष्ठा र समर्पणको प्रतिक मानिने छठ पर्वको अवसरमा मिथिलाका गाउँ, नगर, बस्ती अहिले दुलहीझैँ सिङ्गारिएका छन् ।

जनकपुरका पोखरीहरु अहिले छठको गीत र सजावटले झकिझकाउ भएको छ । खासगरी जलाशयमा बनाइएका घाट अत्यन्त मनमोहक देखिएका छन् । व्रतालुले भोलि सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठपर्व विधिवतरूपमा समापन हुनेछ ।

यसअघि गत आइतवार उसिनेको चामल, माछा-मासु, मुसुरो, लसुन-प्याज र व्रतमा अशुद्ध मानिएका भोजन त्यागेर व्रतालुले ‘अरबा अरबाइन’, सोमवार पवित्र स्नान गरेर चोखो खाएर व्रत सङ्कल्प गर्दै ‘नहाय-खाय’ र हिजो मङ्गलवार पञ्चमी तिथिका दिन राति एक छाकमात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनि सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरवारमा वास बसेको उल्लेख छ । लोककथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो ।

सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात भएको तथ्य सूर्य पुराणमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.