नेप्से दोहोरो अंकले घट्दा ५ कम्पनीमा सर्किट, महालक्ष्मीको उच्च कारोबार

  २०७८ कार्तिक २२ गते १५:३०     विकासन्युज

काठमाडौं । तिहारपछि खुलेको पहिलो दिनको सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक १९.२० अंकले घटेर २८२९.६५ बिन्दुमा झरेको छ । जुन पछिल्लो कारोबारको तुलनामा ०.६७ प्रतिशतले कम हो ।

बजारमा परिसूचकसँगै सेयर कारोबार पनि घटेको छ । दिनभरको कारोबारमा जम्मा ४ अर्ब ४२ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन गत कार्त्तिक १७ गतेको तुलनामा २ अर्ब बढीले घटी हो । सो दिन ६ अर्ब ५५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

सोमबार कूल २३० वटा स्क्रिप्टहरु कारोबारमा आएका थिए । जसमध्ये सबैभन्दा बढी महालक्ष्मी विकास बैंकको उच्च कारोबार भएको छ । बैंकको एकैदिन ५२ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । कारोबारसँगसँगै सेयर मूल्य पनि बढेर प्रतिकित्ता ८८२ रुपैयाँ पुगेको छ ।

दोहोरो अंकले घटेको बजारमा विभिन्न ५ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । आईसीएफसी फाइनान्स, साहस उर्जा, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तीय संस्था र महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सर्किट लागेको हो ।

जसमध्ये आईसीएफसी फाइनान्सको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता १०६३ रुपैयाँ पुगेको छ । साहसको पनि १० प्रतिशतले बढेर प्रतिकित्ता ६५२, तेह्रथुमको ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ३३० रुपैयाँ पुगेको छ ।

त्यसैगरी, मानुषी लघुवित्त र महालक्ष्मी विकास बैंकको सेयर मूल्य क्रमशः ९.९९ प्रतिशत र ९.८४ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ७६७ र ८८२ रुपैयाँ पुगेको छ ।

सोमबार सबैभन्दा बढी सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य ७.९६ प्रतिशतले घटेको छ । र, कारोबारमा आएका तीन समूह(फाइनान्स, इन्भेष्टमेन्ट र म्युचुअल फण्ड) बाहेक सबै समूह राताम्मे देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.