आयातित तथा विलासिताका वस्तुमा जाने कर्जामा कडाई गर्ने राष्ट्र बैंकको तयारी

  २०७८ कार्तिक १८ गते १२:१०     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ प्रणालीमा तरलताको चरम संकट भइरहेको बेला नेपाल राष्ट्र बैंक यसको व्यवस्थापनको तयारीमा जुटेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामार्फत नीतिगत व्यवस्था गरेर तरलता अभावको समाधान गर्ने तयारीमा राष्ट्र बैंक जुटेको हो ।

नेपाल राष्ट्र बैंक स्रोतका अनुसार तरलताकाे समस्यालाई समाधान तथा व्यवस्थापन गर्नका लागि राष्ट्र बैंकले केही आन्तरिक तयारी गरिरहेको छ । ‘हामी तरलता व्यवस्थापन कसरी गर्न सकिन्छ, कसरी बजारमा प्रयाप्त तरलता पठाउने भन्ने तयारी गरिरहेका छौं, अहिले पनि मौद्रिक औजारहरुको प्रयोग गरेर व्यवस्थापन भइरहेको छ, तर, यसको दीर्घकालिन व्यवस्थापन कसरी गर्न सकिन्छ भनेर हामी योजना बनाइरहेका छौं,’ राष्ट्र बैंक स्रोतले भन्यो ।

स्रोतका अनुसार राष्ट्र बैंकले आयातित तथा विलासिता वस्तुमा जाने कर्जामा कडाई गर्ने तयारी गरिरहेको छ ।

‘आयातित वस्तुमा उच्च कर्जा प्रवाह हुँदा तरलताको समस्या भएको भन्ने विषयमा हामी राम्रो सँग जानकार छौं, बढी वस्तु आयातले झनै समस्या आउन सक्छ, अहिले पनि ५० प्रतिशतभन्दा बढी कर्जा प्रवाह आयातित वस्तुमा भइरहेको छ, यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ हामी योजना बनाइरहेका छौं,’ उनले विकासन्युजसँग भने ।

उनका अनुसार मंसिर पहिलो सातामा चालु आर्थिक वर्षको मौद्रिक नीतिको समीक्षा हुँदैछ । मौद्रिक नीतिको समीक्षा मार्फत नै यस्तो व्यवस्था हुन सक्ने उनको दावी छ ।

उनका अनुसार मौद्रिक नीति मार्फत भएको सीसीडी रेसियो खारेज गरेर सीडी रेसियोको व्यवस्थालाई केही खुकुलो बनाउने तयारी पनि राष्ट्र बैंकको छ । सीडी रेसियोको व्यवस्था भएपछि बैंकहरुले कर्जा नै लगानी गर्न नसक्ने अवस्थामा रहेको धेरै बैंकरको धारणा छ ।

उसो त सोमबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको ‘गहिरिँदो तरलता अभावः कारण र समाधान’ विषयक कार्यक्रममा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पनि मुलुकको आन्तरिक उत्पादन र आर्थिक वृद्धिमा भन्दा पनि बढी मात्रामा आयातित वस्तुमा कर्जा प्रवाह हुँदा तरलताको समस्या देखिएको बताएका थिए ।

उनले पनि आयातित तथा विलासिताको वस्तुमा जाने कर्जाको व्यवस्थापन गर्नु पर्ने सा‌ंकेतिक धारणा राखेका थिए ।

उनले कोभिड-१९ का कारण रेमिट्यान्स घटनु, कर्जा प्रवाहको समय थप गर्नु, सरकार परिवर्तनसँगै बजेट पुनर्विचार हुँदा पनि त्यसको प्रत्यक्ष असर बैंकिङ क्षेत्रको तरलतामा देखिएको बताउँदै केही समस्याहरुको समाधान आगामी मौद्रिक नीतिको समीक्षामार्फत हुने बताएका थिए ।

कार्यक्रममा उनले भने, ‘केही समय राष्ट्रिय राजनीतिको पनि असर भयो, सरकार परिवर्तन भएपछि बजेटमा पुनर्विचार भयो, पुनर्विचार गर्ने भएपछि सुरुमै खर्च गर्ने अवस्था भएन, यसको असर पनि तरलतामा पर्यो, अहिले हामीकहाँ आन्तरिक उत्पादन र आर्थिक वृद्धिमाभन्दा पनि बढी आयातको वृद्धिमा समस्या गाँसिएको देखिन्छ, हामीले यसबारे सोच्न आवश्यक छ ।’

राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सीसीडी खारेज गरेर सीडी रेसियो कायम गरेपछि तरलता अभाव भएको धेरैको बुझाई छ । तर, राष्ट्र बैंक भने सीडी रेसियोको कारण नै तरलता अभाव भएको मान्न तयार छैन । विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले अहिले बैंकमा लगानीयोग्य रकम नभएको भनि रहँदा राष्ट्र बैंक भने अझै पनि तरलता प्रयाप्त रहेको बताउँदै आएको छ ।

हाल बैंकिङ प्रणालीमा १९ अर्ब रुपैयाँ अधिक तरलता रहेको राष्ट्र बैंकका सूचना अधिकारी नारायण प्रसाद पोखरेलले बताए । अहिले विभिन्न माैद्रिक ‌औजारहरु प्रयाेग गरेर राष्ट्र बैंक तरलता व्यवस्थापन गर्ने प्रयास गरिरहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.