सेयर बजार बढ्ने क्रम जारी, नबिल बैंकमा झुम्मिए लगानीकर्ता

  २०७८ कार्तिक १० गते १५:२७     विकासन्युज

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजार निरन्तर रुपमा उकालो लागेको छ । साताको शुरुवातदेखि नै उकालो लागेको सेयर बजार बुधबार पनि दोहारो अंकले उकालो लागेको छ ।

बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक १८.०६ अंकले उकालो लागेर २७६९.१३ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशतले बढी हो ।

बुधबार परिसूचकसँगै सेयर कारोबार रकममा पनि वृद्धि भएको छ । दिनभरको कारोबारमा ६ अर्ब ६१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सो दिन कूल २२८ वटा स्क्रिप्टको १ करोड १५ लाख कित्ता सेयर खरिदबिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये नबिल बैंकको सबैभन्दा बढी कारोबार भएको छ । बैंकको एकैदिन ४३ करोड १९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको अन्तिम कारोबार प्रतिकित्ता १६०६ रुपैयाँमा भएको छ । जुन अघिल्लो दिनको तुलनामा २.३६ प्रतिशतले बढी हो । दिनभरको कारोबारमा बैंकको सेयर न्यूनतम १५५९ रुपैयाँदेखि अधिकतम १६२० रुपैयाँसम्ममा किनबेच भएको थियो ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रो र तेश्रोमा क्रमशः आईसीएफसी र एनआईसी एशिया बैंक रहेको छ । यी दुईको क्रमशः २० करोड र १९ करोड रुपैयाँ बराबरको सेयर किनेबच भएको छ ।

बुधबार बेष्ट फाइनान्सको सेयर मूल्य सबैभन्दा बढी अर्थात ८.६८ प्रतिशतले बढेको छ । यससँगै संस्थाको सेयर मूल्य ४६.३० रुपैयाँले बढेर प्रतिकित्ता ५८० रुपैयाँ पुगेको छ । त्यस्तै, एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७.२१ प्रतिशतले बढेर प्रतिकित्ता १२०५ रुपैयाँ पुगेको छ ।

बुधबार कारोबारमा आएकामध्ये अधिकांश समूह हरिया देखिएका छन् भने केही राताम्मे देखिएका छन् । होटल्स एण्ड टुरिजम, विकास बैंक, हाइड्रोपावर र उत्पादनमूलक समूह ओरालो लागेका छन् भने बाँकी उकालो लागेर हरिया देखिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.