निक्षेपको व्याज १५ दिनमै १ प्रतिशतले बढ्यो, अन्तर बैंक कारोबार नै ५ प्रतिशतमा

  २०७८ असोज १३ गते १४:४०     विकासन्युज

काठमाडौं । बैंकिङ क्षेत्रमा देखिएको तरलता अभावको फाइदा निक्षेपकर्ताले पाएका छन् । पछिल्लो १५ दिनमा नै निक्षेपको व्याजदर १ प्रतिशत जतिले बृद्धि भइसकेको छ ।

लगानीयोग्य रकम (तरलता) को कमी भएपछि बैंकहरुले निक्षेपको व्याज बढाएका हुन् । राष्ट्र बैंकले तोकेको निक्षेप कर्जा अनुपात (सीडी रेसियो) कायम गर्नको लागि नै रकम अभाव भएपछि बैंकहरुले निक्षेपमा व्याज बढाएका हुन् । अहिले वाणिज्य बैंकहरुले मुद्दति निक्षेपको व्याज बढाएर साढे ९ प्रतिशतदेखि १० प्रतिशतसम्म बनाएका छन् ।

तरलता अभाव भएपछि निक्षेपको व्याज मात्रै बढेको छैन, बैंकहरुले एकापसमा लिने गरेको अन्तर बैंक व्याजदर पनि ५ प्रतिशतको हाराहारीमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत आईतवार ४.९५ प्रतिशत रहेको अन्तरबैंक व्याजदर गत सोमवार ४.९३ प्रतिशत थियो ।

अहिले सानिमा, सनराइज, नविल, बैंक अफ काठमाडू, नेपाल बैंक, राष्ट्रय वाणिज्य बैंक, स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल जस्ता बैंकहरुले अन्तर बैंक कारोबारको लागि रकम उपलब्ध गराइरहेको बैंकर्सले बताएका छन् । पाँच प्रतिशत व्याजमा राष्ट्र बैंकबाट एसएलएफ सुविधा प्रयोग गर्न पाइने भएकोले बैंकहरु ४.९५ प्रतिशतसम्म अन्तर बैंक कारोबार गरिरहेका हुन् ।

अहिले बैंकिङ क्षेत्रमा २२ अर्ब ६ करोड रुपैयाँ तरलता रहेको नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले जानकारी दिए । उनका अनुसार राष्ट्र बैंकले चालु आर्थिक वर्ष लागेपछि १ खर्ब रुपैयाँ रिपो र २ अर्ब रुपैयाँ एसएलएफ सुविधा प्रदान गरेर बैंकिङ क्षेत्रको तरलता व्यवस्थापन गरिसकेको छ ।

‘चालु आर्थिक वर्षमा हामीले १९ प्रतिशतको कर्जा विस्तार गर्ने लक्ष्य मौद्रिक नीतिमा राखेका थियौं, सो लक्ष्यको सीमाभित्र रहेर कर्जा विस्तार होस् भन्ने उदेश्यले तरलता व्यवस्थापन गरिरहेका छौं,’ सहप्रवक्ता पोखरेलले भने । गत साउन महिनामा बैंकिङ क्षेत्रबाट निजी क्षेत्रतर्फ जाने कर्जा २९.४ प्रतिशतले बढेको थियो ।

कोभिड महामारी विरुद्धको खोप लगाउने कार्यले तिव्रता पाएको र कोभिड संक्रमणदर कम हुँदै गएपछि उद्योग व्यवसाय सहज रुपमा संचालन हुन थालेको छ । सोही कारण आयात व्यापार बढ्दा बैंकिङ क्षेत्रमा तरलता कमि देखिएको हो । राष्ट्र बैंकका अनुसार गत साउन महिनामा आयात ७५.७ प्रतिशतले बढेको छ ।

आयात बृद्धि हुँदा शोधनान्तर अवस्था पनि ऋणात्मक भएको छ । राष्ट्र बैंकका अनुसार गत साउन मसान्तमा नै शोधनान्तर अवस्था ३८ अर्ब ७५ करोड रुपैयाँ घाटामा थियो । यस्तै, रेमिटान्स आय पनि १८.१ प्रतिशतले घटेको छ ।

सरकारको खर्च कम भएको र राष्ट्र बैंकबाट पुनरकर्जाको रकम आउन केही ढिलाई भएको कारण बजारमा तरलता अभाव देखिएको नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहालले बताए ।

‘सरकारको खर्च केही बढेपनि अझै पनि कमी नै देखिन्छ, राष्ट्र बैंकबाट आउनु पर्ने पुनरकर्जाको रकम पनि केही ढिलाई भएको छ, असोज महिनामा जसरी रेमिटान्स आउने गरेको थियो, सो परिमाणमा नआएको भन्ने पनि सुनिन्छ, यस्ता कारणहरुले बजारमा तरलताको कमि भएको हो, विस्तारै सहज हुँदै जाला,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका एसोसिएसनका अध्यक्ष दाहालले भने ।

फाइनान्स कम्पनीहरुमा पनि तरलता अभाव देखिन थालेको फाइनान्स कम्पनी एसोसिएसनका अध्यक्ष सरोजकाजी तुलाधरले बताए । वाणिज्य बैंक र विकास बैंकहरुको व्याजदर नै फाइनान्स कम्पनीको भन्दा बढी भएकोले फाइनान्स कम्पनीको निक्षेप वाहिरिएको उनको विश्लेषण छ ।

‘फाइनान्स कम्पनीले दिनेभन्दा बढी व्याज केही विकास बैंक र वाणिज्य बैंकहरुले नै दिन थालेका छन्, यसैकारण फाइनान्स कम्पनीमा रहेको केही निक्षेप वाहिरिएको छ, त्यसैकारण हामीहरुलाई पनि तरलताको कमी देखिएको छ,’ गुडविल फाइनान्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत समेत रहेका वित्त कम्पनी संघका अध्यक्ष तुलाधरले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.