ऋणीलाई दोहोरो मार, व्याजदर मात्रै होइन प्रिमियम पनि बढाए बैंकहरुले

  २०७८ असोज १३ गते १३:५७     विकासन्युज

काठमाडौं । बैंकहरुमा लगानीयोग्य रकम (तरलता) कम भएपनि ऋण लिएर उद्यम व्यवसाय गर्न चाहनेहरु दोहोरो मारमा परेका छन् । बैंकहरुको आधार दर बढेको र यही बेलामा प्रिमियम पनि बृद्धि भएको कारण कर्जाको व्याजदर महंगो भएको छ ।

पछिल्लो समय बैंकहरुले आधार दरमा कर्जा दिन बन्द गरेको नेपाल उद्योग परिसंघका निवर्तमान अध्यक्ष शतिश मोरले बताए । केही महिना अघिसम्म आधार दरमै कर्जा प्रवाह गर्ने गरेका बैंकहरुले अहिले प्रिमियम पनि १ देखि साढे १ प्रतिशतसम्मले बढाएको उनको भनाई छ ।

‘कोभिड महामारीबाट थला परेका उद्योग व्यवसायलाई सहयोग होस् भनेर बैंकहरुले आधार दरमै कर्जा दिइरहेका थिए, अहिले एकातिर आधार दर बढेको छ भने अर्काेतिर १ देखि साढे १ प्रतिशतसम्म प्रिमियम लिन थालिएको छ, यसले गर्दा कर्जाको व्याजमा दोहोरो असर परेर निकै महंगो भएको छ,’ परिसंघका निवर्तमान अध्यक्ष मोरले विकासन्युजसँग भने ।

नयाँ कर्जा लिनको लागि बैंकहरुले प्रिमियम समेत बढाएका उद्योगीहरुले बताएका छन् । केही समयअघिसम्म आधार दरमा १ प्रतिशत प्रिमियम लिने गरेका बैंकहरुले अहिले बढाएर ३ प्रतिशतसम्म पुर्याएका छन् । बैंकहरुले कर्जा दिदाको समयमा भएको सम्झौताकै दरमा मात्रै प्रिमियम लिन पाउँछन् । पहिला आधार दरमा कर्जा दिने भनेर सम्झौता भएको छ भने बैंकहरुले बीचमा बढाउन पाउँदैनन् । यस्तै, १ प्रतिशत प्रिमियम लिने सम्झौता भएको छ भने १ प्रतिशत मात्रै प्रिमियम लिनुपर्छ । तर, बैंकहरुले नयाँ कर्जा प्रवाह गर्दा न्यूनतम प्रिमियम नै बढाएर कम्तिमा पनि १ देखि ३ प्रतिशतसम्म कायम गरेका उद्योगीहरुले बताएका छन् ।

बजारमा अधिक तरलता र तरलता अभावको समस्या एकदमै छिटोछिटो देखिन थालेपछि प्रिमियम बढाएर सुरक्षित रहने उपाय बैंकहरुले निकालेका हुन् । तर, बैंकहरुको आधार दर बढेका कारण कर्जाको व्याजदर बृद्धि भइरहेको समयमा प्रिमियम पनि बृद्धि गर्नुले व्याजदर बृद्धिमा दोहोरो असर परेको उद्योगी व्यवसायीको भनाई छ ।

‘अहिले मुद्दति निक्षेपको व्याज साढे ९ प्रतिशतदेखि १० प्रतिशतको हाराहारीमा छ, निक्षेपको व्याज बढेपछि बैंकहरुको आधार दर बढ्ने नै भयो, कात्तिकदेखि कर्जाको व्याज निकै माथि जाने देखिन्छ, व्याजदर महंगो हुँदा उत्पादन लागत बढ्न गई उद्योग व्यवसायलाई नकारात्मक असर पर्ने देखियो,’ निवर्तमान अध्यक्ष मोरले भने ।

नेपाल बैंकर्स एसोसिएसनका अध्यक्ष भुवन दाहाल तरलता कमी भएको अवस्थामा बैंकहरुले प्रिमियम बढाए भन्ने गुनासो आफूले पनि सुनेको बताउँछन् ।

‘प्रिमियम कति लिने भनेर राष्ट्र बैंकले तोकेको छैन, निक्षेप र कर्जाको व्याज अन्तर (स्प्रेड) दर मात्रै राष्ट्र बैंकले तोकेको छ, राष्ट्र बैंकले तोकेको स्प्रेडदर भित्र रहने अवस्था छ भने बैंकहरुले प्रिमियम बढाएका पनि हुन सक्छन्, किनभने अहिले बजारमा तरलताको कमी छ, तरलता कमी भएपछि कर्जाको माग बढ्ने नै भयो, माग बढी भएपछि मूल्य बढ्नु त बजार सिद्धान्त नै हो तर, राष्ट्र बैंकले तोकेको स्प्रेडदरका कारण प्रिमियम धेरै माथि लिनै सकिदैन,’ सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत समेत रहेका दाहालले विकासन्युजसँग भने ।

नेपाल राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल व्याजदरका विषयमा राष्ट्र बैंकले प्रत्येक्ष हस्तक्षेप नगर्ने भएपनि नियामकीय मापदण्डले व्यवस्थित गर्ने बताउँछन् ।

‘पछिल्लो १५ दिनमा नै निक्षेपको व्याज १ प्रतिशत जतिले बढिसकेको देखिन्छ भने कर्जाको व्याज पनि त्यही अनुपातमा बढेको हुनुपर्छ, व्याजदर यति नै हुनुपर्छ भनेर राष्ट्र बैंकले प्रत्येक्ष हस्तक्षेप गर्दैन, प्रिमियम दर पनि राष्ट्र बैंकले तोक्ने गरेको छैन, तोकिएको सीमाभित्र स्प्रेडदर राख्दा व्याजदर आफै नियमन दायराभित्र पर्छ,’ सहप्रवक्ता पोखरेलले भने ।

One comment on "ऋणीलाई दोहोरो मार, व्याजदर मात्रै होइन प्रिमियम पनि बढाए बैंकहरुले"

  • हल्ली खल्ली लुटेरा समूह says:

    उद्योगी ब्यापारीले २००% नाफा राखेर उपभोक्ता लुट्दा कोहि नबोल्ने , बैंकले पारदर्शी हिसाबले ३% प्रिमिएम लिंदा हल्ली खल्ली मच्चाउने ? लुटेराहरुलाई उपभोक्ताले ठोक्न थाले पछि ठिक हुन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.