‘युवाहरुलाई १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं’

  २०७८ असोज ११ गते १७:३६     विकासन्युज

दुर्गाथली गाउँपालिका सुदूरपश्चिम प्रदेशअन्तर्गत बझाङ्ग जिल्लामा पर्छ । यस गाउँपालिकाका अध्यक्ष हुन् प्रयागराज जोशी । उनी अध्यक्षको रूपमा निर्वाचित भएर आएको ४ वर्ष पूरा भएको छ । यो बिचमा उनले आर्थिक तथा सामाजिक विकास, भौतिक पूर्वाधार, वातावरण संरक्षण आदि सबै क्षेत्रमा विशेष जोड दिएर काम गरेको बताउँछन् । उनै अध्यक्ष जोशीसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :

गाउँपालिकाको अध्यक्ष भएपछिको सुरुवाती दिनलाई कसरी सम्झनुहुन्छ ?

स्थानीय तहको संरचना बनि सकेपछि गाउँपालिकाको प्रमुखको रूपमा निर्वाचित भए । त्यो बेला गाउँपालिकाका अवस्था निकै जीर्ण थियो । संघीयताको पहिलो पहिचान, कर्मचारीको व्यवस्थापन, प्रशासनिक भवन नभएको कारणले गर्दा धेरै चुनौती र समस्या भएको मलाई अनुभव छ । कतिपय असहज परिस्थितिका बाबजुद पनि हामी विचलित नभइकनै चार वर्ष पूरा गरेका छौं ।

तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् नी ?

हामीले गर्नुपर्ने केही कामहरू अझ पनि बाँकी नै छन् । भौतिक पूर्वाधार, शिक्षा र स्वास्थ्य क्षेत्रतर्फ केही उपलब्धिहरू भएको छ । सिचाइको कामहरू भएका छन् । गाउँपालिकाको समग्र क्षेत्रमा सुधार आएको छ । पहिलाको भन्दा केही परिवर्तन भएको नागरिकहरुले पनि महशुस गरेका छन् ।

अनि कुन कुन क्षेत्रमा के–के काम भए होलान् नी ?

स्वास्थ्यको क्षेत्रको कुरा गर्दा हिजो सामान्य बिरामी भए पनि उपचारको लागि सदरमुकाम जानुपर्ने अवस्था थियो । बिरामीहरूलाई स्ट्रेचर तथा डोकोमा बोकेर उपचारको लागि अस्पतालसम्म पुर्याउनु पर्ने बाध्यता थियो । उक्त समस्याका समाधान गर्नको लागि पालिकाले एम्बुलेन्सको व्यवस्था गरेको छ । हाल हामीले पालिकाको प्रत्येक वडामा स्वास्थ्यचौकीको स्थापना गरी नागरिकहरूलाई सहज रुपमा स्वास्थ्य सेवाको पहुँचमा पुर्याएका छौं । पालिकाको प्रत्येक स्वास्थ्यचौकीमा प्रजनन् केन्द्र समेत रहेको छ ।

यसैगरी, पहिला सडक नभएका कारण नागरिकहरुले धेरै सास्ती खेपिरहनु परेको थियो । हामी निर्वाचित भएर आएको पहिलो वर्ष नै सबै वडामा सडक पुर्याउने लक्ष्य राखेका थियौं । उक्त लक्ष्यअनुसार हामी अगाडि बढेको हुनाले हाल पालिकाको प्रत्येक वडामा सडक सञ्जाल पुगेको छ । गाउँपालिकाको केन्द्रसम्म पुग्ने सडक पिच बनाउनकालागि टेन्डर भइसकेको छ । उक्त सडक कालोपत्रे गर्ने काम भने आगामी फाल्गुन अथवा चैत्रबाट सुरु हुने पक्का भएको छ ।

यसका साथै हरेक वडामा विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न आवश्यक पूर्वाधार तयार गर्ने, विद्यालयबाट टाढा रहेका बस्तीका बालबालिकाहरूलाई शिक्षाको सुलभ पहुँच पुर्याउनका लागि प्रारम्भिक बाल विकास कक्षा सञ्चालन समेत भएको छ ।

अनि कृषि र पशुपालनमा व्यवसायीक बन्दै गएका किसानलाई गाउँपालिकाले कसरी सहयोग गरेको छ, अनुदानका कार्यक्रमहरू के कस्ता छन् ?

गाउँपालिकाले कृषि क्षेत्रमा पनि धेरै प्रगति गरेको छ । नागरिकको आय आर्जनको मुख्य स्रोत कृषि हो । कृषिमा अनुदान दिने र बिउ उपलब्ध गराउने नीति लिएका छौं । कृषिमा लगानी गर्न प्रेरित गर्ने र गाउँपालिकाले सहयोग गर्ने कार्यक्रम पनि रहेको छ । कृषि व्यवसाय गर्न चाहने कृषकलाई बीउबिजन, कृषि औजार, प्रविधि र तालिम आदि पनि उपलब्ध गराएका छौं । फलफूल, जडीबुटी, नर्सरी, कुखुरा उत्पादन आदिमा युवालाई प्रोत्साहन गर्ने भनेका छौं ।

कृषि विकास रणनीतिले परिलक्षित गरेको कृषि विकासको वृद्धि दर हासिल गर्नको लागि कृषिको व्यवसायीकरण गर्नुका साथै कृषि बजार व्यवस्थामा पनि त्यत्तिकै ध्यान दिएका छौं । ग्रामीण क्षेत्रको कृषि आय तथा खाद्य सुरक्षा सुनिश्चित गर्न भूमि तथा श्रम उत्पादकत्व वृद्धि गर्ने काममा पनि अघि बढेका छौं । कृषिलाई व्यावसायिकीकरण, कृषि बजारमा सहज पहुँच तथा जैविक प्रविधिहरूको संयुक्त प्रयासबाट काम गरिरहेका छौं । उद्यमशीलता वृद्धि गर्न पशु र कृषिमा कृषकको आकर्षण बढाउने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको छ ।

गत आर्थिक वर्षमा कति योजना तर्जुमा गर्नु भएको थियो, कति योजनाहरू सम्पन्न गर्नुभयो ?

गत आर्थिक वर्षमा हामीले करिव ७० ओटा योजनाको तर्जुमा गरेका थियौं । उक्त योजनामध्ये धेरै काम पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । गाउँपालिकामा प्रशासनिक एवं वडा कार्यालयका भवन निर्माणको कार्य अगाडि बढेको छ । टेन्डरका कामहरू चलिरहेका छन् भने धेरैजसो योजनाहरु सम्पन्न भइसकेको अवस्था छ ।

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?

स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । युवा उद्यमशीलता वृद्धि गर्ने पशु र कृषिमा आकर्षण गर्ने लक्ष्यका साथ गाउँपालिका लागको छ । युवा लक्षित गर्दै प्रधानमन्त्री रोजगार कार्यक्रम पनि लागु भएको छ । उक्त कार्यक्रम मार्फत पनि धेरै युवाहरुले रोजगार पाएका छन् ।

व्यावसायिक बन्न चाहने युवाहरूको लागि पालिकाले ऋणको पनि व्यवस्था मिलाएको छ । यहाँका युवाहरूमा मैले नै लगानी गर्नुपर्छ अथवा मेरो लगानीमा केही काम गर्नुपर्छ भन्ने चेतनाको विकास अहिलेसम्म मैले पाएको छैन । ऋण लिनको लागि युवाहरू नआएपछि अनुदानको व्यवस्था मिलाएका छौं । एउटा व्यक्तिले स्वरोजगार बन्न चाह्यो र आवश्यक कागजात मिलाएर ल्यायो भने ५ देखि १० लाख रुपैयाँसम्म ऋण दिने व्यवस्था मिलाएका छौं । ऋणको लागि पालिकाले बैंकसँग समझौता गरिदिनेछ ।

कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?

कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमत पनि भएका छन् । केही नागरिकहरूलाई कोभिडका कारण नै गुमाएका छौं । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि पहिलो र दोस्रो लहरमा २५ दाख रुपैयाँ जति खर्च भएको छ ।

चार वर्ष जनप्रतिनिधिका रूपमा काम गर्दाको अनुभव कस्तो रह्यो ?

जनप्रतिनिधिको रूपमा काम गर्दाको अनुभव राम्रो नै रह्यो । पालिकाको भौतिक पुर्वाभार स्वास्थ्य, शिक्षा, कृषि देखि लिएर जनचेतना आदि सबै क्षेत्रमा आमूल परिवर्तन गर्नुपर्छ भन्ने चाहाना थियो । यी चाहना पुरा गर्नको लागि धेरै समस्याहरू आइपर्दा रहेछन् भन्ने कुरा महसुस पनि गरेका छु । मुलुक संघीयतामा गई स्थानीयता तहको संरचना बनि सकेपछि नागरिकको नजिकैको सरकार स्थानीय तह हो । नागरिको जिउधनको सुरक्षाका लागि पालिकामा आमूल परिवर्तन गर्नु स्थानीय तहको जिम्मेवारी हो भन्ने हामीले बुझेका छौं र त्यसै मुताविक काम पनि गरिरहेका छौं । संरचना मात्र निर्माण गर्नुपर्ने भएकाले धेरै कुराहरू अधुरा रहेका छन् । ती आयोजनाहरू पुरा भएको २० वर्षपछि हाम्रो पालिका अत्मनिर्भर हुन्छ भन्ने मैले आशा लिएको छु ।

सिंहदरबारको अधिकार गाउँमा महसुस गर्न पाए त नागरिकले ?

सिंहदरबारको अधिकार गाउँमा भन्ने नारालाई मुखले मात्र बोलेर हुँदैन । यसलाई व्यवहारमा उतार्नका लागि दक्ष जनशक्ति, कर्मचारी आदि सबैको आवश्यकता हुन्छ । अझैपनि पालिकामा कर्मचारी, बस्ने ठाउँ, खानेपानी, तथा बिजुलीको व्यवस्थापन गर्न सकेका छैनौं । कानुनका कुरा ठिक छन् तर त्यसलाई व्यवहारमा उतार्न सकेका छैनौं । वास्तवमै भन्नुपर्दा अझैपनि यहाँका नागरिकले सिंहदरबारको अधिकार गाउँमा भन्ने कुराको महसुस गर्न पाएका छैनन् ।

चुनावी बाचा कति पुरा भए, कति बाँकी छन् नी ?

चुनावी बाचाको संर्धवमा हामी लिखित प्रतिविद्धताका साथ जनतामाझ गएका थियौं । हामीले घोषणापत्रमा समयसामहिम विषयलाई नै धेरै जसो समेटेका थियौं । हामीले चुनाव अघि विद्युत, खानेपानी, सडक, सिचाइको सुविधा, कृषिलाई उत्पादन मूलक, स्वास्थ्य सेवा प्रत्येक वडामा पुर्याउने, शैक्षिक क्षेत्रको विकास गर्ने र गाउँपालिकालाई नमुना गाउँपालिका बनाउँछौं भनेका थियौं । हामी निर्वाचनमा जाँदा जनतालाई गर्न नसकिने प्रतिबद्धता र आश्वासन दिएका थिएनौं । गर्न सकिने काम इमानदारिता र पारदर्शी रूपमा गर्ने छौं, भनेका थियौं । निर्वाचनको समयमा गाउँपालिकालाई सुन्दर, समृद्ध पालिका बनाउने प्रतिबद्धता व्यक्त गरेको थिएँ । अहिले ती काम धेरै पुरा भइसकेका छन् भने चुवाबी बाचा पनि करिव करिव पुरा भइसकेका छन् ।

स्थानीय नागरिकहरूबाट विकासका कस्ता मागहरू आउने गरेका छन्, नागरिकका मागहरूलाई कसरी सम्बोधन गर्ने गर्नुभएको छ ?

गाउँपालिकाबाट जनताले धेरै कुराको अपेक्षा राखेका छन् । जनताको आवश्यकता, चाहना पुरा गर्नको लागि गाउँपालिका सक्रिय छ । टोलटोलमा सडक त पुग्यो तर कालोपत्रे, स्तरोन्नती भए हुन्थ्यो भने कुरा देखिन्छ । भौतिक पूर्वाधारसम्बन्धी धेरै चाहना हुन्छ । हामी जनताबाटै निर्वाचित भएर आएका हौं । जनताका विकासमा माग र आवश्यकता असीमित छन्, हामीले पनि पुरा गर्ने कोसिस गरिरहेका छौं । जनताले महशुस गर्ने गरी काम गर्नुपर्छ भन्ने मेरो मान्यता छ । पालिकामा भएको बजेटबाट स्थानीबासिको मागलाई संबोधन गर्ने गरेका छौं । जनताको अपेक्षा पुरा गर्नको लागि हामीले शासकको रूपमा नभई सेवकको रूपमा दिन रात खटेर आवश्यकताहरू धेरै भन्दा धेरै सम्बोधन गर्नको निम्ति हामी लागिपरेका छौं ।

अन्त्यमा, के भन्न चाहनु हुन्छ ?

यहाँका नागरिकहरूको चाहना विभिन्न किसिमका छन् । जनताको चाहना पुरा गर्नको निमित्त अहिलेको समयले अप्ठ्यारो पारेको छ । जनआकांक्षा पुरा गर्न जनप्रतिनिधिले प्रयास गर्दागर्दै पनि परिणाम अपेक्षित रूपमा प्राप्त हुन सकिरहेको छैन । यस्तो परिस्थितिमा निर्वाचित जनप्रतिनिधिले सरोकारवालाको सहभागिता, बलियो समन्वय र गतिशील नेतृत्वका माध्यमबाट थप सुधारात्मक नतिजा प्राप्त गर्न सुझबुझका साथ थप मिहिनत गर्नुपर्छ । नागरिकहरूले आफ्नो समस्या हामीसँग खुलस्त राख्नुहुन अनुरोध गर्छु । सकेसम्म नागरिकका आवश्यकता पुरा गर्नेछौं । त्यसैले जनता र सरकार एक ठाउँमा भएर विकासको गतिलाई अगाडि बढाउनु पर्छ भन्न चाहन्छु । सदैव सुझाव, सल्लाह र साथ सहयोग गरी सहकार्य गर्नुहुन सवैमा हार्दिक अनुरोध गर्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.