अराजक बन्दै निगमका कर्मचारीः विजुली, फोन, खानेपानीलगायतका सेवा काटे

  २०७८ असोज ७ गते १६:५६     विकासन्युज

काठमाडौं । आन्दोलनरत नेपाल वायुसेवा निगमका कर्मचारीहरुले अतिआवश्यक सेवा समेत बन्द गरेका छन् । निगमलाई निजीकरण गर्न लागिएको भन्दै गत असार १८ गतेदेखि आन्दोलित बनेका कर्मचारीहरुले विजुली, फोन, खानेपानीलगायतका अति आवश्यक सेवा बन्द गरेका हुन ।

निगमका महाप्रबन्धक डिमप्रकाश पौडेलले बिहीबार विज्ञप्ती जारी गर्दै कर्मचारीको आन्दोलनका कारण निगमलाई धेरै नोक्सानी भएको बताएका छन् ।

उनले गत असार १८ गतेदेखि कर्मचारीले गरेको आन्दोलनले निगमका तत्कालीन र दीर्घकालीन कामका साथै सुधारका योजना ठप्प भएको बताएका हुन ।

उनले जारी गरेको विज्ञप्ती अनुसार कर्मचारीको आन्दोलनका कारण गौतम बुद्ध अन्तर्राष्ट्रिय र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउन्ड ह्याण्डलिङको तयारीका काम रोकिएको छ । यस्तै, निगममा आईभी आरएस प्रणाली लागू गर्ने प्रक्रिया रोकिएको, अनलाइन टिकेटिङको तयारी रोकिएको, चालु आर्थिक वर्षको बजेट र वार्षिक कार्यक्रम तर्जुमाको काममा समेत असर परेको छ ।

यस्तैगरी, महालेखाको प्रतिवेदनमाथि छलफल र जवाफ दिन नपाएको, निगमको ऋण दायित्व भुक्तानी गर्न अर्थ मन्त्रालयसँगको समन्वयमा गरिने काम रोकिएको, १० वर्षे व्यावसायिक योजना कार्यान्वयनमा बाधा पुगेको छ ।

शान्तिपूर्ण रूपमा आफ्ना विचार तथा अभिव्यक्ति राख्ने अधिकार भए पनि निगममा काम गर्न चाहने कर्मचारीलाई जबरजस्ती आन्दोलनमा तान्ने, वार्तामा नबस्ने जस्ता अमानवीय काम भएको महाप्रबन्धक पौडेलले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

बुधबार आन्दोलनरत कर्मचारीले निगमका निर्देशक, उपनिर्देशकलगाय कर्मचारीलाई कार्यकक्षमा थुनेर कोषमा रहेको रकम खर्च गर्न जबरजस्ती हस्ताक्षर गर्न लगाएको र यसले निगमको सङ्गठनात्मक पद्धति र अनुशासनमा गम्भीर प्रश्न उठेको उनको भनाई छ ।

आन्दोलनरत कर्मचारीले महाप्रबन्धक पौडेललाई कार्यालय प्रवेशमा रोक लगाउँदै आएका छन् । कर्मचारीले प्रवेशमा रोक लगाएपछि उनी लामो समयदेखि नियामक निकायको रुपमा रहेको संस्कृति, पर्यटन तथा नागरिक उडड्यन प्राधिकरणमा हाजिर गर्दै आएका छन् भने कर्मचारीले पौडेलले राजीनामा नदिएसम्म आन्दोलन फिर्ता नगर्ने उडान राख्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.