काठमाडौं उपत्यकाको प्रहरीलाई प्रदेशमातहत ल्याउन पहल

  २०७८ असोज ५ गते ९:५८     विकासन्युज

फाइल फाेटाे

काठमाडौं । बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा अजयक्रान्ति शाक्यले काठमाडौं उपत्यकाका ललितपुर, भक्तपुर र काठमाडौँका प्रहरी प्रदेश सरकारको मातहतमा नल्याइँदा जटिलता आउने बताएका छन् ।

मन्त्री शाक्यले प्रहरी कर्मचारी समायोजन ऐन, २०७६ र सोको नियमावलीसमेत बनिसकेको र प्रदेशमा पनि प्रदेश प्रहरी ऐन बनिसकेको अवस्थामा प्रहरी कर्मचारी समायोजन कार्यलाई सङ्घीय सरकारले अघि बढाउनुपर्नेमा जोड दिए । बागमती प्रदेश प्रहरीमा हाल सात हजार ९८९ दरबन्दीमध्ये पाँच हजार ४२३ मात्र कार्यरत छन् ।

नेपाल प्रहरी र प्रदेश प्रहरी–कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय–ऐन २०७६ लाई संशोधन गर्न बनेको अध्यादेश, २०७८ निष्क्रिय पार्न सङ्घीय सरकारसँग आग्रह गर्दै उनले त्यसो भएमा ती तीन जिल्लाका प्रहरी पनि प्रदेशको मातहतमा आउने जानकारी दिए ।

सोमबार काठमाडौँमा पत्रकारसँग कुरा गर्दै उनले आफूले पदबहाली गरेलगत्तै आन्तरिक मामिला तथा कानुन मन्त्रालयले केही महत्वपूर्ण काम अघि बढाएको जानकारी गराएका थिए । “मन्त्रालय सम्हालेको केही दिनमै मैले विभिन्न निकायसँग समन्वय गरे केही सकारात्मक कामको थालनी गरेको छु”, उनले भने,’तुरुन्तै विपद् व्यवस्थापन गर्न, प्राकृतिक प्रकोप न्यूनीकरण गर्दै लैजान र सोसम्बन्धी दीर्घकालीन योजना बनाउन ह्याजर्ड म्यापिङको काम अघि बढाएको छु ।’

उनले प्राकृतिक प्रकोपका सम्बन्धमा पूर्वसूचना दिने अर्ली वार्निङ एप निर्माणको कार्य अघि बढाएको जानकारी गराएका थिए । ‘जसले गर्दा मानवीय र भौतिक क्षति न्यून हुने अपेक्षा गरेका छौँ । इन्फो बैंक सम्बन्धमा एप निर्माण गरी बागमती प्रदेशका विभिन्न निकाय तथा ११९ वटै स्थानीय तहको सूचनाहरू एउटै वेब पोर्टलबाट थाहा पाउन सक्ने गरी व्यवस्था गर्न लागेका छौँ,’ उनले भने ।

विभिन्न कानुनहरू अविलम्ब निर्माण गर्नुपर्ने भन्दै त्यसका लागि आवश्यक कार्यको थालनी गरेको, कानुन मस्यौदा समितिको बैठक बसेर आवश्यक कानुन निर्माण गर्न निर्देशन दिएको समेत जनाए । ‘बागमती प्रदेशका ५० वटा ऐन बनिसकेका छन् भने १०२ वटा कानुन निर्माण भइसकेको छ । करिब ३७ वटा कानुन बनाउन बाँकी छ,’ उनले भने, ‘त्योसँगै केही कानुन र ऐन पनि बनाउन बाँकी छ । त्यो काममा मेरो ध्यान जाने छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.