असोज दोस्रो सातादेखि अग्रिम टिकट खुलाइने

  २०७८ असोज १ गते १६:३९     विकासन्युज

काठमाडौं । सरकारले दशैँ, तिहार, छठलगायत चाडपर्वमा घर जान चाहने नागरिकलाई लक्ष गरी यही १०÷११ गतेदेखि अग्रिम टिकट खुलाउने भएको छ । यही असोज २१ गते घटस्थापनाभन्दा १०/११ दिन पहिल्यै टिकट खुलाउने गरी छलफल भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ ।

विभागले प्रत्येक वर्ष यातायात व्यवसायीसँग समन्वय गरी अग्रिम टिकट खुलाउने गर्दै आएको छ । अग्रिम टिकट खुलाउनका लागि पटकपटक छलफल भइरहेकाले आउँदो सातासम्म निर्णय भइसक्ने विभागका प्रवक्ता डा लोकनाथ भुसालले जानकारी दिए ।

उनका अनुसार गत साता यातायात व्यवसायीसँग दुईतीन चरणमा भएको छलफलका आधारमा आउँदो सातासम्म कति सङ्ख्यामा टिकट खुलाएर कसरी यात्रुलाई सुरक्षितरुपमा गन्तव्यसम्म पु¥याउने भनी निर्णय हुनेछ ।

सङ्घीय सरकारले पछिल्लो पटक गत असार २७ गते भाडादर समायोजन गरेको थियो । त्यसै आधारमा सबै प्रदेश सरकारले र स्थानीय तहले भाडा समायोजन गर्नुपर्नेमा अझै गरिसकेका छैनन् । व्यवसायीले भाडादर समायोजन चाँडो गर्न माग गर्दै आएका छन् । भाडा समयोजनको विषयले अग्रिम टिकट खुलाउन र यात्रुलाई समयमै घर पुग्न समस्या नहुने प्रवक्ता डा भुसालले जानकारी दिए ।

उनका अनुसार लामो दूरीका बाटामा सङ्घीय सरकारले निर्धारण गरेको नयाँ भाडादरका आधारमा हुने तथा मध्यम दूरीमा तत्काल समायोजन भएमा नयाँ भाडादर र नभएमा पुरानै भाडादरमा टिकट काटिनेछ । उनले भने, “प्रदेशका भाडाका विषयमा विभाग बोल्न मिल्दैन तर समयमै टिकट खुलाउन समस्या हुने छैन ।”

कोभिड सङ्क्रमणको जोखिम अझै रहेकाले त्यसको असर चाडपर्व लक्षित टिकटमा पर्ने देखिएको छ । जे जसरी भए पनि यात्रुलाई सजिलै घर जान पाउने व्यवस्था मिलाइने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौलाले बताउँछन् । “गत आवमा अग्रिम टिकट नखुलाएर पनि फर्कन चाहनेलाई व्यवस्था मिलाइएको थियो । यस वर्ष पनि सबैलाई घरघरमा पु¥याइनेछ,” उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.