किन घट्यो बैंकको निक्षेप, के भन्छन् बैंकर्स ?

  २०७८ भदौ २२ गते १३:४८     विकासन्युज

काठमाडौं । गत आर्थिक वर्ष असार मसान्तसम्मको तुलनामा बैंकहरुको निक्षेप घटेको छ । भदौ १८ गतेसम्मको तथ्यांक हेर्दा वाणिज्य बैंकहरुको निक्षेपमा ७२ अर्ब रुपैयाँको कमि देखिएको हो । गत असार मसान्तसम्म ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप रहेको वाणिज्य बैंकहरुको भदौ दोस्रो सातासम्म आइपुग्दा ४१ खर्ब २९ अर्ब रुपैयाँमा सीमित भएको छ ।

गत साउन महिनाको तुलनामा भने वाणिज्य बैंकहरुको निक्षेप संकलन ६ अर्ब रुपैयाँले बढेको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । संघका अनुसार वाणिज्य बैंकहरुले साउन मसान्तसम्म कुल ४१ खर्ब २३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए ।

गत असारसम्मको तुलनामा वाणिज्य बैंकहरुको कर्जा लगानी भने बढेको छ । गत असार मसान्तसम्मको तुलनामा बैंकहरुको कर्जा लगानी ९८ अर्ब रुपैयाँले बढेको छ । संघका अनुसार वाणिज्य बैंकहरुले भदौ महिनाको १८ गतेसम्म्म कुल ३८ खर्ब १९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । गत असार मसान्तसम्म बैंकहरुको कर्जा लगानी ३७ खर्ब २१ अर्ब रुपैयाँ थियो ।

साउन महिनासम्म बैंकहरुले कुल ३७ खर्ब ६४ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । भदौ महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढाएका छन् । साउन मसान्तको तुलनामा बैंकहरुको कर्जा लगानी ५५ अर्ब रुपैयाँले बढेको हो । वाणिज्य बैंकहरुले निरन्तर कर्जा लगानी बढाउँदा निक्षेप भने घट्दै गएको छ ।

विकास बैंकमा पनि कर्जा बढी

विकास बैंकहरुमा पनि निक्षेपभन्दा कर्जा लगानी बढेको छ । १८ वटा विकास बैंकहरुमा भदौ दोस्रो साताको तथ्यांक अनुसार कुल निक्षेप ४ खर्ब ८८ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो साताको तुलनामा ०.२९ प्रतिशत छ । अघिल्लो साता विकास बैंकहरुको कुल निक्षेप ४ खर्ब ८७ अर्ब १४ करोड रुपैयाँ थियो ।

यस्तै, विकास बैंकहरुको कुल कर्जा प्रवाह ४ खर्ब ३३ अर्ब ८ करोड रुपैयाँ छ । अघिल्लो साताको तुलनामा विकास बैंकहरुको कर्जा लगानी ०.८७ प्रतिशतले बढेको हो । अघिल्लो विकास बैंकहरुको कुल कर्जा लगानी ४ खर्ब २९ अर्ब ३४ करोड रुपैयाँ थियो । यो अवधिमा कर्जा लगानी ३ अर्ब ७३ करोड रुपैयाँले वृद्धि हुँदा निक्षेप भने १ अर्ब ४० करोड रुपैयाँ मात्रै बढेको हो ।

के भन्छन् बैंकर्स ?

सरकारको सञ्चालन तथा पुँजीगत खर्च नबढ्नु र चाडपर्व नजिकिएसँगै मानिसहरुले भएको पैसा आफुसँग राखेको हुन सक्ने कारणले निक्षेप घटेको हुन सक्ने बैंकर्सको बुझाई छ । दशैंतिहारजस्ता चाडपर्व नजिकिँदै गर्दा आवश्यक वस्तुहरुको आयातका लागि ठूलो मात्रामा ऋण विस्तार भएको तर निक्षेप भने वृद्धि नभएको उनीहरुको भनाई छ ।

नेपाल बैंकर्स संघका उपाध्यक्ष तथा कृषि विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अनिल उपाध्याय यो समय सरकारले राजश्व उठाउने समय पनि भएको र सरकारले सञ्चालन खर्च पनि पर्याप्त मात्रामा नबढाएको कारणले निक्षेप घटेको हुन सक्ने तर्क राख्छन् ।

‘१ खर्बभन्दा बढी पैसा राजश्वमै गएको छ, यो अवधिमा सरकारको सञ्चालन खर्च पनि प्रयाप्त मात्रामा भएको देखिँदैन, व्यक्तिहरुको निक्षेप पनि बैंकमा आएको देखिँदैन, हामीसँग निक्षेप बढ्ने एउटा कारण भनेको संस्थागत निक्षेप पनि हो, संस्थागत निक्षेप पनि यो समयमा घटेको देखिन्छ, निजी क्षेत्रमा कोरोनाको असरका कारणले पनि संस्थागत निक्षेप खासै आएको छैन, यी विभिन्न कारणहरुले निक्षेपमा वृद्धि हुन नसकेको हाम्रो बुझाई छ,’ उनले भने ।

उनका अनुसार चाडपर्व पनि नजिकिएसँगै कतिपयले आफुसँगै नै पैसा राखेको हुन सक्छ । तरलताको अभावको कारण पनि केही संकुचन परेपनि बैंकमा खासै असर भने नपरेको उनको भनाई छ ।

‘मानिसहरुले याे समयमा कर्जा मेन्टेन गर्ने हुनाले पनि निक्षेप घटेको हुन सक्छ, सरकारको पूँजीगत तथा सञ्चालन खर्च बढ्यो भने निक्षेप त्यही अनुरुप बढ्थ्यो होला तर त्यो छैन, अहिले तरलताको पनि केही समस्या छ, तर धेरै समस्या भने छैन, राष्ट्र बैंक यसको व्यवस्थापनमा लागेको छ,’ उनले भने ।

यस्तै, डेभलपमेन्ट बैंकर्स एसोशिएसनका अध्यक्ष तथा मुक्तिनाथ विकास बैंकका सीईओ प्रद्युमन पोखरेल पनि विकास बैंकहरुको निक्षेप जुन हिसाबमा बढ्नु पर्ने हो त्यति नबढेको बताउँछन् ।

‘यो अवधिमा विकास बैंकहरुको निक्षेप थोरै बढेको छ, तर जति बढ्नु पर्ने हो बढेको छैन, यो वृद्धि भनेको एकदमै न्यून हो, नेपाल राष्ट्र बैंकले गरेको ९० प्रतिशतको सीडी रेसियाको व्यवस्था अनुसार विकास बैंकहरु कन्फर्टेवल अवस्थामा छन्, तुलनात्मक रुपले विकास बैंकहरु सहज अवस्थामा छन्,’ उनले भने ।

बजारमा तरलताको समस्या देखिन थालेको विषय आएपनि विकास बैंकलाई भने असहज अवस्था नभएको उनको भनाई छ । ‘विकास बैंक गाउँबाट आएका बैंक हुन्, गाउँमा रेमिट्यान्स आउँछ, नेपाल राष्ट्र बैंकले गरेको पुनर्कर्जाको व्यवस्थाले पनि हामीलाई त्यति तरलताको दबाब छैन,’ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.