२०७८ भदौ २१ गते १९:३९ विकासन्युज
काठमाडौं । करका दर परिवर्तन गर्दा उद्योगी, व्यापारी र उपभोक्तामा जति छिटो असर पर्छ, त्यो भन्दा छिटो पुँजी बजारसँग सम्बन्धित नीतिले बजारलाई प्रभावित पार्छ ।
अर्थमन्त्रालय र नेपाल राष्ट्र बैंकले पुँजी बजारसँग सम्बन्धित नीति छिटो छिटो परिवर्तन गर्ने गरेको छ । यसमा स्वार्थ समूहहरुको ठूलो चलखेल हुन्छ । रातारात सेयरबाट करोडौं मात्र होइन, अरबौं रुपैयाँ लाभ लिने वर्गले अर्थमन्त्री वा गभर्नरलाई बारबार प्रभावित गरेर लाभ लिँदै आएको छ ।
पुँजी वृद्धिको नीति, मर्जर तथा एक्विजिशनको नीति, लाभांश दर कसिलो वा खुकुलो बनाउने नीति, कर्जाको सीमामा बढाउने वा घटाउने, कहिले खुलेआम लाइसेन्स बक्री गर्ने, कहिले लाइसेन्स बन्द गर्ने, कहिले मर्जमा जानेलाई बम्पर छुट दिने, कहिले शुन्य सहनशिलताको नीति लिने, कहिले जोखिम कोषमा जाने रकम बढाइदिने, कहिले घटाइदिने, कहिले सूचिकृत कम्पनीहरुको कम्पनीको नाफा बढाउने मद्दत पुग्नेगरी नीति ल्याइदिने, कहिले सूचिकृत कम्पनीको नाफा सेयरधनीलाई वितरण गर्न नमिल्ने नीति ल्याइदिने नीतिले पुँजी बजारमा धेरै तलमाथि गराएको छ ।
कहिले मनलाग्दी प्रिमियम मूल्यमा सेयर जारी गर्न छुट दिने, कहिले सेयर प्रिमियमको आधार र मापदण्ड तोक्ने, घरी बढाबढ मूल्यमा सेयर निष्काशन गर्न छुट दिने, घरी निश्चित प्रिमियम मूल्य तोकेर सेयर बिक्री गर्न दिने नियामकीय नीतिहरु खुलेआम भ्रष्टाचारको दृष्यहरु हुन् ।
कहिले सेयरमा पुँजीगत लाभकर १० प्रतिशत बनाउने कहिले ५ प्रतिशत बनाउने, कहिले ब्रोकर कमिशनमा भ्याट लगाउने, कहिले भ्याट छुट दिने, कहिले खुला बजारको दुहाई दिएर नीति, नियम, आधार, मापदण्ड सबैमा आँखा चिम्लने, कहिले बजारमा सकारात्मक विभेद वा संरक्षणात्मक हस्तक्षेप भनेर पुँजी बजारमा नीति नियम, आधार, मापदण्डको नियामकीय पञ्जा फैलाउने कार्य पुँजी बजारका विकृति रुपहरु हुन् ।
कुनै अर्थमन्त्री वा गभर्नरले पुँजी बजारलाई अनुत्पादक क्षेत्र भन्ने, यो क्षेत्रमा सक्रिय लगानीकर्तालाई वित्तीय अपराधीको रुपमा चित्रण गर्ने, कुनै अर्थमन्त्री वा गभर्नरले पुँजीबजारलाई अर्थतन्त्रको धड्कन ठान्ने, पुँजीबजारको लगानीकर्तालाई असली पुँजीपति मान्ने सोच, चिन्तन, नीति, कार्यशैली पुँजीबजारको अस्थिरताका मुल कारण हुन् । पुँजी बजारको विगत ३० वर्षको इतिहासले यहि पुष्टि गरिरेको छ ।
र, वर्तमान अर्थमन्त्री जर्नादन शर्मा तथा गभर्नर महाप्रसाद अधिकारीको पछिल्ला गतिविधि र अभिव्यक्ति नै अहिलेको सेयर बजारको अस्थिरताका कारण हुन् । बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिएर सेयरमा लगानी गरिने पुँजीको वहावलाई नियन्त्रण गर्न राष्ट्र बैंकले एउटा नीति लियो । त्यहि नीतिको विपक्षमा अर्थमन्त्री शर्मा उभिएका छन् ।
गभर्नरले आफ्नो नीतिको बचाउ गर्दै सार्वजनिक रुपमा बोलेपछि सेयर बजारको मूल्य मापन गने इन्डेक्स नेप्से एकै दिने १०८ अंकले घट्यो । उच्च दरको गिरावट रोक्न नेगेटिभ सर्किट ब्रेक लगाउनु पर्यो ।
अर्थमन्त्रीले गभर्नरलाई सेयर धितो कर्जाको सीमा ४ करोड र १२ करोडलाई हटाउन टेलिफोनमा भनेको भनेर अर्थमन्त्रीले प्रेस विज्ञप्ति निकाले । गभर्नरले पनि मिलाएर नीतिगत सुधारकाे बचत दिएकाे अर्थमन्त्रीले जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ । सोही दिन नेप्से १६२ अंकले वृद्धि भयो । अर्थमन्त्रीको निर्देशन राष्ट्र बैंकले पालना गर्छ वा गर्दैन, अर्थमन्त्रीको निर्देशन लागू भएर आउने हो वा राष्ट्र बैंकको नीतिले निरन्तरता पाउने हो, अनिश्चित नै छ । यति अनिश्चितताका बीच केहीले ठूलो फाइदा लिइरहेका छन् भने धेरै लगानीकर्ता जोखिमा परेका छन् ।
लगानीकर्ता तथ्यमा नभई बहकाउका आधारमा बजारमा भिडेका छन् । तुलनात्मक रुपमा उच्च प्रतिफल दिने वाणिज्य बैंकहरुको सेयर मूल्य सस्तो छ । तर तुलनात्मक रुपमा अझै केही वर्ष लाभांश दिन नसक्ने कम्पनीहरुको सेयर मूल्य महँगो छ । १० प्रतिशत लाभांश दिने सामर्थ्य भएको लघुवित्तको सेयर ५ हजार छ, १० प्रतिशत लाभांश दिने सामर्थ्य भएको बीमा कम्पनीको सेयर मूल्य १ हजार ५ सय रुपैयाँ छ भने १० प्रतिशत नै लाभांशको सामथ्र्य भएको वाणिज्य बैंकको सेयर मूल्य ५०० रुपैयाँ छ ।
र, अब ७ वर्ष लाभांश दिन सक्ने सामर्थ्य नभएको जलविद्युत कम्पनीको सेयर ५/७ सय रुपैयाँ छ । सेयर मूल्य घट्यो भनेर सडकमा नाराबाजी गर्नुले यी लगानीकर्ता न आफ्नो गल्ती अनुभूति गर्न सक्छन् । नत रातारात सेयरबाट अर्बौं कमाउने नीतिगत परिवर्तनको नाटकको दृष्यलाई सहि ढंगले बुझ्न सक्दछन् । पात्र र प्रवृति सबै खुलस्त छन् । मात्र बुझ्न र बुझाउन कठिन छ ।
सम्बन्धित समाचार
Copyright © 2023 Bikash Media Pvt. Ltd.