व्यक्तिगत ऋण सापटीको व्याज बढीमा १० प्रतिशत, यस्ता छन् कानुनी बाटा र बन्देज

  २०७८ भदौ २१ गते ११:४४     दुर्गा दंगाल (चाँदनी)

सामान्य अर्थमा कुनै पनि बस्तु दुई वा दुई भन्दा वढी व्यक्तिहरु बीच सरसापट, पैचो गर्ने वा लिनेदिने कारोवारलाई लेनदेन व्यवहार भन्ने बुझिन्छ । आजको २१औं आधुनिक समाजमा व्यवसायीक र व्यवाहारिक जीवनमा कुनै पनि व्यक्तिहरुका बीच कुनै शर्त राखेर ऋणका रुपमा रकम वा कुनै बस्तु लिनुदिनु गर्नु नै लेनदेन व्यवहार हो ।

व्यवसायिक र घरायसी व्यवहारमा लेनदेनका थुप्रै कुराहरुको स्वाभाविक रुपमा हुने गर्दछन् । समाजमा परम्परा देखि चलि आएका यस्ता लेनदेन सम्बन्धि व्यवहारहरुलाई कानुनले नियमित र व्यवस्थित गरेको पाईन्छ । कानुनी अर्थमा नेपालको देवानी संहिता, २०७४ अनुसार दुई वा दुई भन्दा बढी व्यक्तिहरु वीच कुनै शर्त राखी कुनै रकम वा बस्तु लिनुदिनु गरेमा निजहरुबीच लेनदेन भएको मानिने कुरा स्पष्ट रुपमा उल्लेख गरिएको छ । लेनदेन भएको अवस्थामा रकम वा बस्तु लिनेले रकम वा बस्तु दिनेलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्दछ । जस्तै क भन्ने व्यक्तिले ख भन्ने व्यक्तिलाई मोटरसाइकल किन्नको लागि २००,००० रुपैयाँ तीन वर्षमा वार्षिक १० प्रतिशतका व्याज दरले फिर्ता गर्ने शर्तमा कानुन बमोजिम लिएमा निजहरु बीचमा लेनदेन भएको मानिन्छ ।

नेपालको मुलुकी देवानी संहिता, २०७४को भाग ४को परिच्छेद १५को लेनदेन व्यवहार सम्बन्धि व्यवस्था अन्र्तगत दफा ४७४ देखि ४९२ सम्म लेनदेन सम्बन्धि व्यवस्था गरिएको छ । दुई वा दुई भन्दा बढी व्यक्तिहरु बीच कुनै शर्त राखी रकम वा बस्तु लिनुदिनु गरेमा निजहरु बीच लेनदेन भएको मानिने र लेनदेन भएको अवस्थामा रकम वा बस्तु लिनेले रकम वा बस्तु दिनेलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्ने व्यवस्था मुलुकी देवानी संहिता, २०७४को दफा ४७४मा स्पष्ट उल्लेख गरिएको छ । स्पष्टिकरणः यस परिच्छेदको प्रयोजनको लागि रकम भन्नाले बस्तुको मुल्य समेत सम्झनु पर्दछ ।

कुनै पनि व्यक्तिले कुनै किसिमले अन्य व्यक्तिलाई रकम वा बस्तु दिनु पर्ने दायित्व भएकोमा त्यस्तो व्यक्तिले ऋण लिए सरह मानिने र त्यस्तो व्यक्तिले कानुनको अधीनमा रहेर सम्बन्धित व्यक्तिलाई त्यस्तो रकम वा बस्तु फिर्ता गर्नु पर्ने व्यवस्था दफा ४७५ मा गरिएको छ । कसैले पनि लेनदेन कारोवार गर्दा कानुन बमोजिम लिखत नगरी लेनदेनको कारोवार गर्नु नहुने व्यवस्था दफा ४७६ मा गरिएको छ । लेनदेन कारोबार भएको प्रमाणित गर्ने चेक, विल, भौचर, रसिद र भरपाई समेतको कागजातहरु लेनदेन प्रयोजनका लागि लिखत हुन् ।

लेनदेन कारोवार गर्दा तयार पारिने लिखतमा लेनदेन गर्ने व्यक्तिहरुको नाम, थर, ठेगाना, बावु, आमा, बाजे, बजैको नाम, र विवाहितको हकमा पति पत्नीको नाम, लेनदेनको कारण र परिणम, बस्तु लेनदेन भएकोमा त्यस्तो बस्तुको मूल्य फिर्ता गर्ने गरि सापटी पैचो वा अन्य कुनै पनि तरिकाले लेनदेन, सट्टापट्टा गरेको भए त्यस्तो व्यहोरा, लेनदेन गरेको रकम वुझाउने मिति, व्याजदर, लेनदेनको रकम निर्धारित समयमा नबुझाए वा लिखत बमोजिमको अन्य शर्त पुरा नगरेमा लेनदेन बमोजिमको रकम साहुले ऋणीको सम्पत्तिबाट असुलउपर गरि लिन पाउने कुरा, लिखत तयार पारिएको ठाँउ र मितिका साथै अन्य आवश्यक कुराहरु अनिवार्य उल्लेख गर्नुपर्ने व्यवस्था दफा ४७७ मा गरिएकोछ ।

लेखक

लिखतमा व्याज लिनेदिने कुरा उल्लेख भएकोमा साहुले ऋणीबाट लिखतमा उल्लेख भए बमोजिमको व्याज लिन पाउने, त्यस्तो व्याजको रकम साँवा रकमको वार्षिक १० प्रतिशत भन्दा बढी हुने छैन, लिखतमा व्याजको दर किटान नगरी व्याज लिनेदिने कुरासम्म उल्लेख भएकोमा साहुले ऋणीबाट साँवा रकमको वार्षिक १० प्रतिशतका दरले व्याज लिन पाउने, व्याज उल्लेख नगरी मुनाफा लिने कुरा उल्लेख भएकोमा र त्यस्तो मुनाफा के कति लिने कुरा लिखतबाट नदेखिएमा साहुले ऋणीबाट व्याज सरह लिन पाउने व्यवस्था दफा ४७८ मा गरिएको छ । पचास हजार भन्दा बढी रकम भएको लिखत सम्बन्धित पक्षहरु वडा समितिको कार्यालयमा उपस्थित भई सक्कल लिखतको शिरमा अनिवार्य रुपमा सम्बन्धित अधिकारीबाट प्रमाणित गराउनु पर्दछ । यदि त्यसरी प्रमाणित गराईएन भने त्यस्ता लिखतले कानुनी मान्यता पाउँदैन । लेनदेन हुदाँ लिखतमा व्याज लिनेदिने कुरा उल्लेख नभएमा साहुले ऋणीबाट व्याज लिन नपाउने व्यवस्था दफा ४७९ मा गरिएको छ । कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिन पाउने छैन । यदी कुनै साहुले ऋणीबाट ब्याजको ब्याज लिएको रहेछ भने साँवा रकमबाट कट्टी हुने साथै यदि साँवा चुक्ता भईसकेको रहेछ भने त्यस्तो ब्याज साहुले ऋणीलाई फिर्ता गरिदिनु पर्ने व्यवस्था दफा ४८० मा गरिएको छ । त्यसै गरि साहुले ऋणीबाट साँवा भन्दा वढी ब्याज लिन नपाउने व्यवस्था दफा ४८१ मा गरिएको छ ।

साँवा, ब्याज लिदाँ दिँदा कानुन बमोजिम रीत पु¥याउनु पर्ने हुन्छ । जस्तो ऋणीले साहुलाई साँवा ब्याजको सबै रकम चुक्ता गरिसके पछि साहुसँग भएको लेनदेनको लिखत च्याती दिने वा त्यस्तो लिखतमा रकम असुल भएको व्यहोरा जनाई लिखतको कुनै ठाउँ वा पीठमा खुलाई साहुले सहीछाप गरी ऋणीलाई लिखत फिर्ता दिनु पर्ने र तत्काल लिखत फेला नपरेमा वा साथमा नभए साहुले सोही व्यहोरा जनाई यो मितिमा यति रकम बुझी लिएको भनी छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने, साँवा मध्ये केही रकम वा ब्याज बुझाउदा साहुले ऋणीसँग कुन मितिमा के कति रकम बुझेको हो त्यस कुरा लिखतको पिठमा खुलाई ऋणीको सहीछाप गराई र तत्काल लिखत फेला नपरे वा साथमा नभए त्यस बमोजिम रकम बुझेको छुट्टै भरपाई गरी ऋणीलाई दिनु पर्ने व्यवस्था दफा ४८२ मा गरिएको छ ।

घरसारमा भएको लिखतको अवधि दश वर्षको हुन्छ । यदि लिखतमा नै अवधि तोकिएको छ भने चाँहि त्यही तोकिएको अवधि कायम हुन्छ । यदि दश वर्षको अवधि भित्र ऋणीले साहुलाई साँवा ब्याज मध्ये केही रकम बुझाएको छ भने अर्को दश वर्षको अवधि थप हुने व्यवस्था दफा ४८४ मा गरिएको छ । कसैले असक्षम वा अर्धसक्षम व्यक्तिसँग गरेको लेनदेनले कानुनी मान्यता नपाउने व्यवस्था दफा ४८५ मा गरिएकोछ । त्यस्ता व्यक्तिहरुले आफूले गरेको कामको प्रकृति र परिणाम बुझ्न नसक्ने र आफ्नो हकहितको विचार गर्न नसक्ने भएकाले यस्तो व्यवस्था गरिएको हो । त्यस्ता व्यक्तिहरुको तर्फबाट लेनदेन गर्नु पर्दा निजको संरक्षकको स्वीकृतिमा गरिनु पर्दछ ।

व्यक्तिहरुका बीच लेनदेन भएकोमा त्यस्तो लेनदेनको लिखतमा घरको मुख्य व्यक्तिको सहिछाप नभएको भए सगोलको सम्पत्तिमा ऋणीको हक नपुगेसम्म साहुले त्यस्तो सम्पत्तिबाट आफ्नो रकम भराई लिन नपाउने, घरको मुख्य भई काम गर्ने व्यक्तिले नै उक्त रकम तिरि दिएमा साहुले ऋणीसँग दावी गर्न पाउँदैन । कसैले ऋणीसँग रकम लिन नसक्ने भएमा एक वर्षभित्र साहुले ऋणी उपर नालिस गरि आफ्नो हक कायम गर्नु पर्ने, ऋणीसँग त्यस्तो हक कायम गरेकोमा सगोलको सम्पत्तिमा निजको हक पुगेपछि मात्र साहुले निजबाट आफ्नो रकम भराई पाउने व्यवस्था दफा ४८६ मा गरिएको छ ।

कुनै चल सम्पत्ति सट्टापट्टा गर्दा एकासगोलका उमेर पुगेका व्यक्तिले घरको मुख्य व्यक्तिको मञ्जुरी नलिई सगोलको सम्पत्ति सट्टापट्टा गर्न नपाईने तर आफ्नो निजी सम्पत्तिको हकमा भने मञ्जुरी आवश्यक नपर्ने, घरको मुख्य व्यक्तिको मञ्जुरी विना गरिएको सट्टापट्टाले मान्यता नपाउने व्यवस्था दफा ४८७ मा गरिएको छ । कुनै व्यक्तिले कानुन बमोजिम रीत पु¥याई लिखत नगरे पनि निजहरुका बीच लेनदेन भए गरेको कुरा प्रमाणित भएमा रकम भराई दिन सक्ने, यस्तोमा लिखत बैकिङ कारोवार, चेक, भौचर वा वही खातामा लेखिएको व्यहोराबाट व्यक्तिहरुका बीच लेनदेन भएको देखिनु पर्ने व्यवस्था दफा ४८८ मा गरिएको छ ।

घरसारमा भएको लिखत हराएमा वा काबु बाहिरको परिस्थिती परी नासिएमा साहुले सोही व्यहोरा खुलाई लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको मितिले पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहमा निवेदन दिनु पर्ने, त्यसरी निवेदन परेमा सम्बन्धित स्थानिय तहले त्यसको व्यहोरा खुलाई भरपाई लेखि कार्यालयको छाप लगाई निवेदकलाई दिनु पर्ने, त्यस निवेदनको सम्बन्धमा स्थानीय तहले लिखत गरिदिने व्यक्ति जीवित भए निजलाई र नभए निजको हकवालालाई सात दिनभित्र झिकाई निजले मञ्जुर गरे सोही बमोजिम लिखत तयार गराई त्यस्तो लिखत प्रमाणित गरि निवेदकलाई दिनु पर्ने र अर्को लिखत गरिदिन मञ्जुर नगरे साहुले त्यस्तो म्याद नाघेको पैतिस दिनभित्र लिखत हराएको वा काबू बाहिरको परिस्थिति परेको प्रमाण देखाई नालिस गरी आफ्नो हक कायम गर्नु पर्ने व्यवस्था दफा ४८९ गरिएको छ । लेनदेन भएको कुनै बस्तु लिखतमा लेखिए बमोजिम नभई कच्चा भएमा वा भोग गर्न नसक्ने भएमा लेनदेन भएको पैतिस दिनभित्र बस्तु दिनेलाई त्यस कुराको सूचना दिनुपर्ने, त्यस्तो सूचना उचित देखिएमा बस्तु दिनेसँग त्यस्तो प्रकारको अन्य बस्तु भए त्यस्तो बस्तु सट्टापट्टा गरिदिनु पर्ने, त्यसो नगरे क्षतिपूर्ति भराई लिन वा त्यस्तो लेनदेन बदर गराई गराउन नालिस गर्न सक्ने व्यवस्था दफा ४९० मा गरिएको छ ।

कसैले पनि साधारण देखि साधारण सम्मका लेनदेन व्यवहार सम्बन्धि कार्य सम्पन्न गर्दा कानुन बमोजिम लिखत अनिवार्य रुपमा कानुनी कार्यविधि अनुसार गर्नु पर्ने देखिन्छ । अन्यथा सम्बन्धित विषयमा पीडित पक्षले कानुन सम्बत न्याय समेत प्राप्त गर्न सक्दैन । तसर्थ व्यक्तिले लेनदेन कानुन बमोजिम गर्नु पर्दछ । लेनदेन गर्ने हरेक व्यक्तिलाई लेनदेन व्यवहार सम्बन्धि कानुनी व्यवस्थाको बारेमा राम्रो जानकारी भएमा मात्र लेनदेन गर्दा आउने समस्या सजिलै निराकरण गर्न सजिलो हुने भएकोले सवैले कानुनको जानकारी राख्नु पर्ने आवश्यक देखिन्छ ।

लेखक अधिवक्त हुन् ।

One comment on "व्यक्तिगत ऋण सापटीको व्याज बढीमा १० प्रतिशत, यस्ता छन् कानुनी बाटा र बन्देज"

  • दिपक निरौला भारद्वाज says:

    आहा, सुन्दर । व्याकरणीय शुद्धतामा ध्यानाकर्षण गराएँ हैं, चाँदनीजी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

X