१६० करोड लगानीमा तयार भयाे सुक्खा बन्दरगाह, अब केरुङ र कोलकत्ताका कन्टेनर सिधै काठमाडौंमा

  २०७८ भदौ १८ गते १५:१९     विकासन्युज

काठमाडौं । काठमाडाैंकाे चाेभारमा निर्माधीन अवस्थामा रहेकाे सुक्खा बन्दरगाहाकाे काम सकिएकाे छ । काठमाडौंमा हिमाल सिमेन्टको कारखाना रहेको स्थानमा निर्माण गरिएको चोभार सुक्खा बन्दरगाहकाे काम सकिएर सञ्चालनका लागि योग्य भएको हाे ।

विश्व महामारीका रुपमा फैलिएकाे कोरोना भाइरसका कारण निर्माणमा केही ढिलाई भएको सो बन्दरगाहा निर्माणको काम सकिएको नेपाल इन्टरमोडल यातायात विकास समितिले जनाएको छ ।

भौतिक निर्माण सकिएकाे साे सुक्खा बन्दरगाह भन्सार र क्वारेन्टाइन तयार हुनासाथ सञ्चालनमा आउने समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।

२०७५ को साउनमा १८ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण सुरु गरिएको सो आयोजनामा १४ महिना म्याद थप गरिएको थियो । चोभारमा हिमाल सिमेन्टले ओगटेको १ हजार ४१ रोपनी जग्गामध्ये २ सय २० रोपनीमा सुक्खा बन्दरगाहा र ४१ रोपनीमा कर्मचारीका लागि आवास गरि कुल २ सय ६१ रोपनीमा सान्छी–आशिष जेभीले बन्दरगाह निर्माणको काम गरिरहेको छ ।

निर्माण सम्झौता भएको १८ महिनामा सक्नेभन्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले ३ माघ २०७५ मा शिलान्यास समेत गरेका थिए । तर कोरोना महामारीका कारण सरकारले गरेको बन्दाबन्दी र स्थानीयले गरेको अवरोधदका कारण निर्माणमा ढिलाई भएको हो ।

बन्दरगाह सम्पन्न गर्न १ अर्ब ६० करोड रुपैयाँ लगानी गरिएको छ । अब चाँडै नै सुक्खा बन्दरगाहको उद्घाटन गर्ने र तीन महिनाभित्र पूर्ण रूपमा सञ्चालनमा ल्याउने कार्यकारी निर्देशक गजुरेल बताउँछन् ।

‘भन्सार जाँच पास नगरीकनै सीधै सुक्खा बन्दरगारमा आएर सबै काम गर्न सकिने गरी संरचना तयार भएको छ, यो अन्तर्राष्ट्रियस्तरको सुक्खा बन्दरगाह हो, यसमा सबै प्रकारका सेवा तथा सुविधा उपलब्ध गराइने छ,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहजीकरण गर्ने दीर्घकालीन सोचअनुरूप राजधानीमै अत्याधुनिक संरचना तयार भएको छ ।’

बन्दरगाहलाई कसरी सञ्चालन गर्ने भन्ने बारेमा समितिले आवश्यक तयारी समेत गरेको छ । विदेशबाट आयात हुने तथा नेपालबाट निर्यात हुने सामानलाई एकीकृत सेवा दिने लक्ष्यका साथ बन्दरगाह निर्माण गरिएको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिवको संयोजकत्वमा समिति गठन गरी सञ्चालन ढाँचा तयार भइरहेको छ । समितिमा भन्सार विभाग र समितिकै प्रतिनिधि सदस्य छन् ।

बन्दरगाह निर्माणका लागि सरकार र विश्व बैंकबीच सन् २०१३ भएको सहमतिअनुसार सन् २०१९ भित्रै काठमाडौं सुक्खा बन्दरगाह निर्माण सम्पन्न हुनुपर्ने थियो । तर, कोरोना महामारी, निर्माण सामग्रीको उपलब्धतामा भएको केही कठिनाइलगायतका कारणले केही ढिला भएको हो ।

काठमाडौं सुख्खा बन्दरगाह नेपालको भन्सारमासमेत नितान्त नौलो प्रयोग भएको समितिको भनाई छ । विद्यमान व्यवस्था अनुसार सीमा नाकामा गरिने भन्सार जाँचपास अब यही बन्दरगाहमा हुनेछ ।

बन्दरगाह सञ्चालनमा आएपछि काठमाडौं तथा आसपासमा भित्रिने मालवाहक सवारीसाधन वीरगञ्जमा लामो प्रक्रिया गरेर रोकिनुपर्ने छैन । सिधै काठमाडौं आउन सक्नेछन् । सीमा भन्सारले सिल लगाएर बन्दरगाहमा पठाउनेछ । उक्त सिल काठमाडौं बन्दरगाहमा खोलिनेछ ।

कार्यकारी निर्देशक गजुरेलका अनुसार बन्दरगाहमा भन्सार भवन, क्वारेन्टिन भवन, सुरक्षाकर्मीको भवनलगायत संरचना बनिसकेका छन् । कुल २२० रोपानी क्षेत्रफलमा फैलिएको बन्दरगाहमा विश्व बैंकको १ अर्ब ६० करोड रुपैयाँ बराबरको लगानी रहेको छ ।

उक्त बन्दरगाहमा एक्जिम क्षेत्र र आन्तरिक ढुवानी तथा व्यापारका लागि दुई भागमा विभाजन भएको छ । जसमा पहिलो एक्जिम क्षेत्रलाई आयात–निर्यातका लागि प्रयोग गरिने जनाईएको छ ।

सो क्षेत्रमा बाहिरबाट नेपाल आयात भएका र नेपालबाट बाहिर निर्यात हुने सामानको चेकजाँच, भन्सार क्लियरेन्स तथा क्वारेन्टिन लगायतका काम हुनेछ ।

यस्तै, आन्तरिक ढुवानी तथा व्यापारका लागि दोस्रो क्षेत्र छुट्टाइएको छ । सो क्षेत्रमा व्यवसायीले ल्याएका सामान अनलोड–अफलोड गर्ने, गोदामघरमा भण्डारण नगरी लोडेड गाडी ल्याएर सामग्री लैजाने व्यवस्थाका लागि छुट्टाइएको हो ।

आवासीय भवन निर्माण

कुल २० करोडको लागतमा बन्दरगाहमा नै समितिको आवासीय भवन निर्माण गरिरहेको छ । बन्दरगाहामा खटिने कर्मचारीका लागि ४१ रोपनी क्षेत्रफलमा आवासीय भवन निर्माण गरिएको समितिले जनाएको छ ।

द्रुतमार्ग सञ्चालनमा आएपछि वीरगञ्जबाट हिँडेको मालबाहक सवारी तीनदेखि चार घण्टामा चोभार आइपुग्छ । बागमतीमा निर्माण हुने पुलले बन्दरगाह र द्रुतमार्गलाई जोड्नेछ । यस्तै, रक्सौल–काठमाडौं रेलमार्गलाई पनि बन्दरगाहसँग जोड्ने सरकारको योजना छ ।

चीनबाट आउने भनिएको रेललाई समेत चोभार लैजाने तयारी छ । पहिलो चरणको निर्माण सम्पन्न भएसँगै दोस्रो चरणको निर्माणका लागि पनि प्रशस्त ठाउँ रहेको छ ।

मुलुकको अन्तर्राष्ट्रिय व्यापारलाई सहज बनाउने उद्देश्यका साथ सरकारले देशका विभिन्न ११ स्थानमा सुक्खा बन्दरगाह र एकीकृत जाँचचौकी निर्माण एवं सञ्चालनलाई तीव्रता दिएको छ । तीमध्ये केही संरचना निर्माण सम्पन्न भई सञ्चालनमा आएका छन् भने केही निर्माणको अन्तिम चरणमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.