चितवनको पटिहानीमा पाँच तारे होटल, एक भिल्लाको शुल्क १ हजार डलर

  २०७८ भदौ १६ गते १०:०८     विकासन्युज

काठमाडौं । चितवनको पटिहानीमा अत्याधुनिक सुविधा सम्पन्न पटिहानी रिसोर्ट सञ्चालनको तयारी भएको छ । भरतपुर महानगरपालिका २२ राप्ती नदी तटीय क्षेत्रमा अवस्थित सो रिसोर्ट पाँचतारे रहेको छ ।

चितवन सहित देशका विभिन्न २२ जना व्यवसायीको लगानीमा एक अर्ब बढी रुपैयाँमा सो रिसोर्ट निर्माण गरिएको हो । रिसोर्टका प्रबन्ध निर्देशक ऋषि न्यौपाने हालसम्म ७५ करोड रुपैयाँ लगानी भइसकेको बताउँछन् ।

‘हालसम्म ७५ करोड लगानी भैसकेको छ । निर्माण सम्पन्न भएर रिसोर्ट तयारी हुँदा एक अर्ब लाग्ने अनुमान गरेका छौँ’, उनले भने ।
रिसोर्टमा सात अत्याधुनिक भिल्ला छन् । यीमध्ये दुई भिल्लामा पौडीपोखरीसमेत रहने जनाइएको छ । उनका अनुसार दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) शिखर सम्मेलन आयोजना गर्दा राष्ट्रप्रमुख बस्न मिल्ने गरी यी भिल्ला बनाइएको हो ।

सुरक्षा र सुविधासम्पन्न यी भिल्लामा अत्याधुनिक सुविधा रहेको छ भने एउटै भिल्लाको एक दिनको एक हजार डलर लिने गरी सुविधासम्पन्न बनाइएको छ ।

रिसोर्टमा अन्य ५२ कोठा छन् । पाँच सय अट्ने एक, १५० अट्ने दुई र १०० अट्ने चारवटा हल छन् । रेष्टुरेन्टमा ५०० ले एकपटक बसेर खान सक्ने सुविधा छ । छुट्टै २५० अट्ने सुविधासम्पन्न बार पनि छ । होटलमा क्यासिनोका लागि अलग्गै भवन रहेको छ भने पौडीपोखरी, क्यासिनो र होटलको बीचमा रहेको छ ।

बगैँचा र पौडीपोखरी पार्टीका लागि व्यवस्थित बनाइएको छ । पाँच बिघा १० कठ्ठा जमिनमा निर्मित रिसोर्टको बीचबाट सार्वजनिक बाटो भएकाले बाटोमुनिबाट आवतजावतका लागि अण्डरपासको व्यवस्था गरिएको छ । टाढैबाट हेर्दा आकर्षक देखिने न्यूजील्याण्डको टायल डेक्क्राको छानो होटलमा छ । धेरै जमिन भएकाले तरकारी, फलफूल आफैँ उत्पादन गरिने जनाइएको छ ।

रिसोर्टमा १०४ अट्ने क्षमता छ । मुख्यरूपमा विदेशी पर्यटकलाई लक्ष्य गरी बनाइएको रिसोर्ट नजिकै हात्ती चढेर सामुदायिक वन घुम्ने सुविधा छ ।

सो रिसोर्टका सञ्चालकसमेत रहेका भरतपुर महानगरपालिका–२२ का वडाध्यक्ष विष्णु महतोले आफ्नो वडामा छ वटा सुविधासम्पन्न होटल पुगेको बताए । ती होटलमा पाँच अर्बभन्दा बढी लगानी भएको उनको अनुमान छ । ठूला होटलमा मात्रै ३०० जनाको क्षमता रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जको मुख्य कार्यालय कसरा नजिकै रहेको यस क्षेत्रमा २५ साना होटल छन् । जहाँ थप ३०० जनाको क्षमता छ । उनले रिसोर्ट बनेसँगै यस क्षेत्रमा ठूला कार्यक्रमसमेत सञ्चालन गर्न सकिने बताए ।

‘यहाँ आउने पर्यटक हात्ती चढेर सामुदायिक वन घुम्ने, निकुञ्जभित्र जीप सफारी, पैदलयात्रा गर्ने, गाडीमा सफारी गर्ने, राप्ती नदीमा डुङ्गा सयर गर्ने, थारू कला संस्कृतिमा रमाउन सक्छन’, उनले भने ।

यससँगै चितवन आउने पर्यटकका लागि थारू जातिको परम्परागत परिकार चिचर, घोगी, हाँस खाएर रमाउन पाउनेछन् । पटिहानी क्षेत्रमा होटल थपिएसँगै त्यहाँको महत्व अरु बढेर गएको स्थानीय बताउँछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.