एयरलाइन्सले २५ हजार डलरसम्मको सटही सुविधा पाउने, मनि चेञ्जर नवीकरणमा शुल्क नलाग्ने

  २०७८ भदौ १३ गते १०:३०     विकासन्युज

काठमाडौं । हवाई सेवा संचालकहरुले २५ हजार अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका छन् । विदेशबाट सेवा आयातको लागि राष्ट्र बैंकले हवाई सेवा प्रदायक कम्पनीहरुलाई यस्तो सुविधा दिएको हो ।

नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशन जारी गर्दै यस्तो सुविधा दिइएको जानकारी गराएको छ । नयाँ व्यवस्था अनुसार हवाई सेवा कम्पनीहरुले वाणिज्य बैंकहरुबाट २५ हजार अमेरिकी डलर बराबरको सटही सुविधा पाउने भएका हुन् ।

यस्तो सुविधा लिनको लागि फर्म, कम्पनी वा संस्था दर्ता प्रमाणपत्र र कर दर्ता प्रमाणपत्र पेश भने गर्नुपर्ने हुन्छ । यस्तै, कर चुक्ता प्रमाणपत्र र सेवा खरिदबापत नियम अनुसार कर दाखिला गरेको निस्सा पनि पेश गर्नुपर्छ । पछिल्लो लेखापरीक्षण प्रतिवेदन पनि संलग्न गरेपछि यस्तो सटही सुविधा पाइने राष्ट्र बैंकको भनाई छ ।

राष्ट्र बैंकका अनुसार सेवा प्रदान गर्ने संस्थासँग गरेको सम्झौता र विलविजकको प्रमाणित प्रतिलिपी, सम्झौता बमोजिम गरेको कार्यको विवरण सहित संचालक समिति वा अख्तियारप्राप्त अधिकारीबाट सटही सुविधा माग गर्ने सम्बन्धमा भएको निर्णयको प्रतिलिपी र विदेशी मुद्रा अपचलन भएमा सोको सम्पूर्ण जिम्मेवारी लिने स्वःघोषणा, काम सम्पन्न भएको पुष्टी हुने कागजात र नियामक निकायको सिफारिस भने चाहिनेछ ।

मनी चेञ्जरको एक वर्ष निःशुल्क नवीकरण

यस्तै, नेपाल राष्ट्र बैंकले मनी चेञ्जरहरुलाई एक वर्ष निःशुल्क नवीकरण गरिदिने भएको छ । कोभिड–१९ महामारीबाट सिर्जित प्रभाव दृष्टिगत गरी अन्य सम्पूर्ण प्रचलित व्यवस्थाहरु यथावत राख्दै नवीकरणमा भने शुल्क नलाग्ने व्यवस्था राष्ट्र बैंकले गरिदिएको हो ।

राष्ट्र बैंकका अनुसार मनी चेञ्जर नवीकरणका लागि निवेदन पेश गर्ने कम्पनीहरुलाई एक वर्षको लागि कुनै पनि शुल्क नलिई नवीकरण गरिने भएको छ । पछिल्लो नवीकरणको म्याद गणना हुने गरी यस्तो सुविधा दिन लागिएको हो ।

पहिला नै नवीकरण गरिसकेका कम्पनीहरुको लाइसेन्स कुनै पनि शुल्क नलिई एक वर्षले म्याद थप गरिदिने राष्ट्र बैंकको भनाई छ । यस्तै, कोभिड–१९ सँग सम्बन्धित औषधी, उपकरण तथा अन्य सामाग्री खरिदमा पनि विदेशी मुद्रा उपलब्ध गराउन राष्ट्र बैंकले थप सहजीकरण गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.