पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा नगरवासी, भन्छन्- कृषि क्षेत्र र सम्पदा नासिन्छ

  २०७८ भदौ ११ गते १३:३९     विकासन्युज

काठमाडौं । राजधानीको उत्तरपूर्वी भेगका तीन नगरपालिकाले शुरु गरेको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाको विरोधमा सम्बन्धित नगरवासीले विरोध अभियान शुरु गरेका छन् ।

शङ्खरापुर नगरपालिका-९ का बासिन्दाले जानकारी नदिई अपारदर्शीरुपमा शुरु गरिएको भन्दै वडा कार्यालय, नगरपालिका र आयोजना कार्यालयमा विरोधपत्र बुझाएका छन् । वडावासीले जग्गा एकीकरण गरी प्लटिङ गर्दा कृषि क्षेत्र सकिने र सम्पदा नासिने भन्दै विरोध जनाएका हुन् ।

वडावासीले स्थानीय सरोकार र सम्पदा समिति गठन गरी तीन निकायमा विरोधपत्र बुझाएका हुन् । सरोकार समितिका अध्यक्ष धर्मराज कार्की ८५ प्रतिशतसम्म मानिस कृषिमा निर्भर भएको क्षेत्रमा कङ्क्रिटको जङ्गल बनाउन आवश्यक नभएकामा वडावासी सहमत भएको बताए ।

आयोजना कति समयमा सक्ने ? जग्गाधनीले कति जग्गा व्यहोर्ने ? जस्ता विषय अझै पारदर्शी नभएको उनले सुनाए । आयोजना प्रमुखले सरोकार समितिको पत्रसमेत दर्ता नगरेको संयोजक कार्कीको गुनासो छ ।

शङ्खरापुर नगरपालिका-९, कागेश्वरी मनोहरा नगरपालिकाको १, २, ३, ४ र गोकर्णेश्वर नगरपालिका-१, २ र ४ समेत समेटेर बनाइएको पूर्वी काठमाडौं नयाँ शहरी विकास आयोजनाले स्थानीयको जग्गा रोक्कासम्बन्धी सूचना प्रकाशित गरेपछि विरोध अभियान शुरु भएको हो ।

आयोजना व्यवस्थापन उपसमितिको सदस्यसमेत रहेका शङ्खरापुर-९ का वडाध्यक्ष घनश्याम थापा स्थानीयवासी विरोधमा उत्रिएपछि वडामा जग्गा एकीकरण गर्न आवश्यक छैन भनी आयोजनामा पत्राचार गरेको बताए । जग्गा एकीकरण गर्दा ५२ प्रतिशतसम्म जग्गा काटिने भएपछि वडावासी आक्रोशित भएका हुन् ।

यसअघि कागेश्वरी मनोहरा नगरवासीले पनि नगरपालिका र आयोजना कार्यालयमा विरोध पत्र बुझाएका थिए । जग्गा एकीकरण आयोजनाका विषयमा गोकर्णेश्वर नगरपालिकामा पनि स्थानीयवासीले विरोध गर्दै आएका छन् । आयोजनाले कृषियोग्य जमिन समाप्त गर्नेमा नगरवासीको विरोध छ । यसले कृषिका माध्यमबाट जीवनयापन गरिरहेकालाई अप्ठ्यारो पर्ने भन्दै नगर क्षेत्रको ग्रामीण भेगका मानिस विरोधमा उत्रिएका हुन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.