अण्डा र खाने तेलको मूल्य दाेब्बरले बढ्याे, विभागकाे अनुगमन सुस्त

  २०७८ भदौ ७ गते १६:४२     विकासन्युज

काठमाडौं । पछिल्लो समय तोरीको तेल र अण्डाको मूल्यमा उच्च वृद्धि भएको छ । वस्तुको माग उच्च हुँदा बजारमा पुर्याउन नसकिएको भन्दै व्यवसायीले मूल्य बढाएका हुन ।

भारत लगायत अन्य देशबाट तेलका लागि आवश्यक पर्ने कच्चा पदार्थ आयात हुँदै आएको छ । अन्य देशले कच्चा पदार्थकोे मूल्य बढाउँदा नेपाली बजारमा खाने तोरीको तेलको मूल्य बढेको तेल उद्योेगीहरु बताउँदै आएका छन् । गत एक वर्षको अवधिमा व्यवसायीले तेलको मूल्यमा झन्डै दोब्बरले मूल्य बढाएका छन् ।

आयातलाई देखाउँदै मूल्य बढाउँदा उपभोक्ताले महङगो मूल्यमा तेल खरिद गर्नुपरेको छ भने व्यवसायीले नेपाली बजारमा तेलको मूल्य बढाएर तेस्रो देशमा निर्यात गर्दै आएका छन् ।

उद्योेगीले आफूखुशी मूल्य बढाए

गत एक वर्षको अवधिमा तेल उद्योगीले आफूखुशी मूल्य बढाउँदा खाने तोरीको तेलको मूल्य दोब्बरले बढेको छ । केही समयअघि मूल्य घटाएका तेल उद्योगीले पुनः मूल्य बढाउन थालेका हुन ।

करिब एक साताको अवधिमा प्रतिलिटर न्यूनतम १५ रुपैयाँदेखि ३५ रुपैयाँसम्म मूल्य बढेको खुद्रा व्यवसायी संघले जनाएको छ ।
संघका पूर्वअध्यक्ष पवित्र बज्राचार्य तेल उद्योगीले आफूखुशी पुनः मूल्य बढाएको बताउँछन् । उनका अनुसार केही समयअघि मूल्य घटाएको भन्दै प्रचार गरेका उद्योगीहरुले पुनः मूल्य बढाउन थालेका छन् ।

‘वाणिज्य विभागले बजार अनुगमन गरेर मूल्य घटाउँन निर्देशन दिएपछि मूल्य घटाएको भुटो प्रचार गरेका उद्योगीहरुले बिना जानकारी कच्चा पदार्थको मूल्य बढेको भन्दै तेलको मूल्य बठाएका छन्, फितलो बजार अनुगमन गरी विभागका कर्मचारीहरु तेल उद्योगीको बचाउमा लाग्दा तेलको मूल्य बढ्यो,’ उनले भने ।

यस्तै, अण्डा उत्पादक किसानहरु माग उच्च हुँदा उपभोक्तालाई पुर्याउन नसकिएको भन्दै अण्डाको मूल्य बढाउँदै आएका छन् ।
अन्डाको माग बढेसँगै बजारमा व्यवसायीले आफूखुशी अण्डाको मूल्य बढाउँदा बजारमा एकरूपता हुन छाडेको छ भने पसलैपिच्छे अण्डाको मूल्य फरक हुँदा उपभोक्ता मारमा परेका छन् ।

हाल खुद्रा बजारमा ३ सय ६० देखि ३९० रुपैयाँसम्म बिक्री भएको छ । नेपाल अन्डा उत्पादक संघको तथ्यां अनुसार हाल ठूलो अन्डाको मूल्य प्रतिक्रेट ३ सय ९० र सानो अन्डाको प्रतिक्रेट ३ सय ६० रुपैयाँ रहेको छ । गत वर्ष ठूलो अन्डाको प्रतिक्रेट मूल्य २ सय ७५ रुपैयाँ र सानो अन्डाको प्रतिक्रेट मूल्य २ सय ५५ रुपैयाँ रहेको थियो ।

संघले तोकेको मूल्य अनुसार एक वर्षमा अण्डाको मूल्यमा उच्च मात्रामा वृद्धि भएको हो । तर बजारमा संघले तोकेको मूल्यमा अण्डाको बिक्री वितरण नगरी आफूखुशी बिक्री हुने गरेको छ । हाल खुद्रा बजारमा ४९० रुपैयाँसम्ममा अण्डाको बिक्री वितरण हुँदै आएको छ ।

अण्डा उत्पादकले मूल्य बढाएर बजारमा पठाउँदा र खुद्रा व्यवसायीले ठूलो मात्रामा नाफा राखेर अण्डाको बिक्री वितरण गर्ने गरेतापनि बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अनुगमनमा वेवास्ता गर्दै आएको छ ।

अण्डा उत्पादक संघले उत्पादन कम हुँदा बिक्री मूल्यमा बृद्धि भएको जानकारी गराएपछि अनुगमन नगरिएको विभागका कर्मचारीहरु बताउँछन् । नियमित रुपमा बजार अनुगमन गर्दै आएको बताउँदै विभागका कर्मचारीहरु बिक्री मूल्य तोक्ने अधिकार नभएको भन्दै बाहाना बनाउँदै आएका छन् ।

अधिकाशं खाद्यान्नको मूल्य वृद्धि

कोरोना महामारी सुरु भएसगैँ नेपाली बजारमा दैनिक उपभोग्य वस्तुको मूल्यमा बृद्धि भएकोे छ । खुद्रा व्यापार संघका अनुसार मासको दालको मूल्य १३० बाट १६० रुपैयाँ प्रतिकेजी, मुंग दाल १३० रुपैयाँबाट १६५ रुपैयाँ, मुसुरो र रहरको दालमा क्रमशः ४० र ६० रुपैयाँले मूल्य बढेको छ । चारै प्रकारका दालको मूल्यमा प्रतिकिलो औसत मूल्य १२० रुपैयाँ रहेकामा बढेर १६१ रुपैयाँ पुगेको छ ।

यस्तै, एक वर्षको अवधिमा खाने तेलको मूल्यमा अत्याधिक बृद्धि भएको छ । एक वर्षअघि भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २२० रुपैयाँ रहेकोमा हाल ३३० रुपैयाँ पुगेको छ । भटमास तेलको मूल्य प्रतिलिटर ११५ रुपैयाँबाट बढेर २२० रुपैयाँ र सनफ्लावर १२५ बाट २३० रुपैयाँ पुगेको छ । एक वर्षको अवधिमा १५३ रुपैयाँदेखि २५६ रुपैयाँसम्म मूल्य बृद्धि भएको छ ।

मूल्य र उपभोग्य मिति केन्द्रित बजार अनुगमन

बजार अनुगमनको नियामक निकायको रुपमा रहेको वाणिज्य विभागले चार्डपर्व सुरु भएसगैँ मूल्य र उपभोग्य मिति केन्द्रीत बजार अनुगमन सुरु भएको जनाएको छ । विभागका प्रवक्ता शिवराज सेढाईं चाडपर्वमा बजारमा अनुचित व्यापारिक क्रियाकलापमा वृद्धि हुने भन्दै केन्द्रीत भएर अनुगमन गरिएको बताउँछन् ।

‘निषेधाज्ञाका कारण धेरै बस्तुको उपभोग्य मिति सकिएका छन्, मिति सकिएका बस्नु नहटाएर पुनः सोही वस्तु बजारमा बिक्री गरिएको पाइएको छ, मिति सकिएको वस्तु सगैँ एमआरपी मूल्यभन्दा बढी मूल्यमा समेत बिक्री गरिन्छ, हामीले दैनिक ३ समूहबाट मूल्य र उपभोग्य मिति केन्द्रित भएर बजार अनुगमन गरेका छाैं,’  उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.