मर्जरका लागि पार्टनर खोज्दैछौं, ३ बैंकसँग कुरा भइरहेको छः सीईओ शर्मासँगको कुराकानी

  २०७८ भदौ ७ गते ११:१२     विकासन्युज

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् सुमन शर्मा । नेपाली बैंकिङ क्षेत्रमा एक अनुभवी, कुशल व्यवस्थापक र सफल बैंकरका रुपमा परिचित शर्माले बैंकिङ सेवामा साढे दुई दशक बिताइसकेका छन् । यसअघि माछापुच्छ्रे बैंकमा सीईओको रुपमा काम गरिसकेका उनीसँग ग्लोबल आईएमई, एनएमबि, नेपाल एसबिआई लगायतका बैंकहरुमा काम गरेको अनुभव छ । एमबिएको गोल्डमेडलिस्ट समेत रहेका शर्मा नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका छन् भने उनले अर्थशास्त्र र भौतिकशास्त्र विषयमा स्नातकोत्तर पनि हासिल गरेका छन् । उनै सीईओ शर्मासँग सनराइज बैंकको बिजनेस, नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिका केही व्यवस्था र समग्र बैंकिङ क्षेत्रका विषयमा विकासन्युजका सन्तोष रोकायाले कुराकानी गरेका छन् ।


हामीले लामो समयदेखि कोरोना भाइरसको सन्त्रास भोगिरहेका छौं, अहिले अर्थतन्त्र रिभाइव गर्ने प्रयत्न गरिरहेका छौं । यति लामो समयसम्म हामीले के गुमायौं, के पायाैं र के सिक्यौं ?

विश्व महामारीका रुपमा फैलिएको कोरोनाकालमा हामीले धेरै गुमायौं । हामीले हाम्रा आफन्तहरु, बैंकर्स साथीहरु, परिवारजनहरु गुमायौं । यो अवधिमा ठूलो मानवीय क्षति व्यहोर्नु पर्याे । अझै पनि हामीले क्षति भोगिनै रहेका छौं । कोरोनाको कारण नै धेरै मानिसहरुले जागिर गुमाउनु भयो । धेरै सपनाहरु बोकेर विदेश जानु भएका दाजुभाईहरु बेरोजगार बनेर स्वदेश फर्किए । पर्यटन क्षेत्र उठ्न नसक्ने गरी समस्यामा छ । विदेशी मुद्रा आयात गर्ने मुख्य क्षेत्रनै संकटमा पर्दा अर्थतन्त्रमा समस्या सिर्जना हुने नै भयो । आधारभूत रुपमा हामीले स्वास्थ्य क्षेत्रमा बढी लगानी गर्नुपर्दो रहेछ, अर्थात हामीले स्वास्थ्य पूर्वाधारहरु बढाउनु पर्ने रहेछ भन्ने सन्देश कोरोनाले प्रवाह गरेको छ । अहिले कोरोना संक्रमण बढिरहेको समयमा धेरै संक्रमितहरुले भेण्टिलेटर, अक्सिजन पाइरहनु भएको छैन ।

देश सानो-ठूलो जस्तोसुकै भएपनि अस्पतालमा लगानी बढाउनु पर्ने रहेछ भन्ने सन्देश हामीले पाएका छौं । संकटमा मात्रै होइन पूर्व तयारी गर्नुपर्छ । विभिन्न पूर्वाधारहरु तयार पार्नु पर्छ भन्ने कुरा हामीले राम्रोसँग बुझेका छौं । अब सरकारले यसतर्फ ध्यान दिनु पर्छ । कोरोनाबाट धेरै त पाएका छैनौं । तर, अहिले कोरोनाकै कारण डिजिटलाइजेसन बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुले प्रविधिको प्रयोगलाई बढाएका छन् । डिजिटल्ली कारोबार गर्ने र यसमा लगानी बढाउने, इनोभेसन गर्ने, ग्राहकलाई यसमा बानी बनाउनु पर्छ भन्ने कुरा सबैले बुझेका छन् ।

सबै बैंकहरुले गत आर्थिक वर्षको वित्तीय विवरणहरु सार्वजनिक गरिसकेका छन्, गत वर्षमा सनराइज बैंकको बिजनेस कस्तो देखियो ?

त्यति नराम्रो छैन । हामीले अघिल्लो आर्थिक वर्षको तुलनामा नाफामा १० प्रतिशतको वृद्धि गरेका छौं । निक्षेप र कर्जा लगानीमा पनि उल्लेख्य सुधार देखिएको छ । जसको नाफा गत वर्षको वित्तीय विवरणमा देखिएन । आउँदो वर्षको वित्तीय विवरणमा सोको नतिजा देखिन्छ । गत वर्ष कर्जामा ०.३ प्रतिशतको जुन लोन प्रोभिजन थियो त्यसले केही असर पारेको छ । अघिल्लो आवको तुलनामा कर्जा प्रवाह २४ प्रतिशतले बढेको छ । निक्षेप १७.९६ प्रतिशतले बढेको छ । यस्तै, एनपीएल १.३८ प्रतिशत छ । वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ । समग्र विजनेसमा २० प्रतिशतको सुधार देखिएको छ । भोलुमको हिसाबले हामी सानो बैंक नै हो । तर, रिर्टनको हिसाबले राम्रै बैंक हो ।

अहिले बैंकहरु चुक्ता पुँजी बढाउने प्रतिस्पर्धामा लागिरहेका छन्, सनराइज बैंकको चुक्ता पुँजी साढे ९ अर्ब रुपैयाँ मात्रै छ, यसतर्फ बैंककाे याेजना के छ ?

पुँजी वृद्धि गरेर लगानी गर्ने, लगानीबाट सोही अनुसारको रिटर्न पाउने महत्वपूर्ण विषय हो । पुँजी १०/१० जोडेर २० हुने तर रिर्टन १/१ जोडेर २ हुने हो भने पुँजी वृद्धिको प्रभावकारिता हुँदेन । तर, पुँजी १०/१० जोडर २० हुने तर रिटर्न १/१ जोडेर ३ हुने भयो भने फाइदा हुन्छ । मर्जरले साइज मात्रै ठूलो हुने र त्यसको प्रतिफल बढिहाल्छ भन्ने हुँदैन । मर्जरपछि पनि संस्थाको विस्तार तथा नेटवर्कमार्फत बढी बिजनेस गर्ने सम्भावना हुन्छ । सनराइज बैंक पनि मर्जरप्रति सकारात्मक छ । सञ्चालक समिति पनि मर्जर गर्नु पर्छ भन्ने पक्षमा छ । यसको लागि यकिन निर्णय भने आजसम्म भइसकेको छैन । हाम्रा मुख्य प्रमोटर तथा लगानीकर्ताहरुले अन्य बैंकको प्रमोटरहरुसँग कुराकानी गरिरहनु भएको छ । हाम्रो लगानी, आकार र पुँजी अनुसार जुन किसिमको हामीले विजनेस गर्नु पर्ने हो । हामीले प्रयास गरिरहेका छौं । अघिल्लो वर्ष पनि राम्रै रिटर्न दिएका थियौं । यसपालि पनि हामी राम्रै किसिमको रिर्टन दिने अवस्थामा छौं ।

सनराइज बैंकको वितरणयोग्य नाफा ६० करोड रुपैयाँ छ, यो वर्ष बैंकले लगानीकर्तालाई कतिसम्म प्रतिफल दिन सक्छ ?

वितरणयोग्य नाफा भन्दा पनि खासमा हेर्नुपर्ने खुद नाफा हो । कति वितरण गर्न मिल्यो वा मिलेन भन्ने एउटा विषय हो । खुद नाफा १५० करोड छ । तर, वितरणयोग्य नाफा ६० करोड रुपैयाँ भयो भने ९० करोड रुपैयाँ त बाँकी नै रह्यो । जुन रकम लगानीकर्ताकै हो । आज नपाए उनीहरुले त्यो रकम भोलि पाउनुहुन्छ । विभिन्न कारणले वितरणयोग्य नाफा कम भएको हुन सक्छ । त्यसैले ६० करोड रुपैयाँको हिसाबले हामी ६ प्रतिशत प्रतिफल दिन सक्ने अवस्थामा छौं । जुन क्यास मात्रै हो ।

राष्ट्र बैंकले मर्जर तथा एक्विजिसनको नीतिलाई प्रोत्साहन गरिरहेको छ । यस सम्बन्धि सनराइज बैंकको योजना के हो ?

हाम्रो योजना भनेको प्राप्तिभन्दा पनि मर्जरमा नै जाने हो । हामी विकास बैंक वा वित्तीय कम्पनीहरुलाई प्राप्ति गर्दैनौं । वाणिज्य बैंकहरुसँगै मर्जर गर्ने हाम्रो योजना हो । यही सोच अनुसार हामी अगाडि बढिरहेका छौं । प्रमोटरहरुले अन्य बैंकका प्रमोटरहरुसँग कुरा गरिरहनु भएको छ । तीन/चार वटा बैंकसँग अहिले कुरा भइरहेको छ । यसबारे यकिन नतिजा भने हालसम्म आएको छैन । मौद्रिक नीति आइसकेको छ । म बैंकमा आएको ६ महिना भयो । ६ महिनादेखि नै कुरा भइरहेको छ । प्रमोटरहरु पनि मौद्रिक नीति कुरिरहनु भएको थियो । अब प्रकृया अगाडि बढ्छ ।

हामी एकातर्फ कोरोनाको कारण बिजनेसमा ठूलो नोक्सान ब्यहोर्यौं भनिरहेका छौं । तर, वाणिज्य बैंकहरुको नाफा ६० अर्ब रुपैयाँ बढी छ, यो कसरी सम्भव भयो ?

सुरुमा त हामीले गरेको लगानी अनुसारको प्रतिफल छ कि छैन भनेर बुझ्नुपर्छ । हामीले अमाउन्ट मात्रै हेर्नु हुँदैन । अहिले औसतमा बैंकिङ उद्योगमा १४/१५ प्रतिशत मात्रै प्रतिफल छ । जुन बढी होइन जस्तो लाग्छ । नेपाल राष्ट्र बैंकले अघिल्लो वर्ष पनि उद्योग व्यवसायीलाई केही राहत तथा छुटको व्यवस्था गरेको थियो । जुन कार्यान्वयन भयो । जुन उद्योग व्यवसायहरु सर्वसाधारणले नै स्थापना गरेका हुन् । उनीहरुलाई बचाउनका लागि नै राष्ट्र बैंकले सो व्यवस्था गरेको हो । त्यो व्यवस्थलाई कार्यान्वयन गर्दा बैंकहरुले लोन लस प्रोभिजिनिङ गर्नु परेन । यो नाफा अझै पनि कम हो जस्तो लाग्छ ।

बैंकहरुले सार्वजनिक गरेका वित्तीय विवरण हेर्दा सेयर कारोबारबाट नै बढी आम्दानी गरेको देखिन्छ, सेयर कारोबार गरेर त्यसबाट आम्दानी गर्ने विषय सनराइजको प्राथमिकतामा नपरेको हो ?

सनराइज बैंकले सेयर कारोबार गर्ने काम बैंकको होइन भन्ने विषय राम्रोसँग बुझेको छ । हामीले ‘कोर बैंकिङ’ लाई नै बढी ध्यान दिन्छौं । सेयर कारोबार गर्ने अन्य इन्भेष्टमेन्ट बैंक तथा अन्य संस्थाहरु छन् । यसमा धेरै एग्रेसिभ रुपमा लगानी गरेका छैनौं । पहिले अलिअलि थियो । अन्य बैंकको जसरी हामीले सेयरबाट कमाएका छैनौं ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सीसीडी खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ भने १ करोड रुपैयाँसम्मको कर्जामा २ प्रतिशत प्रिमियम थप गर्नुपर्ने व्यवस्था गरेको छ, यसले बैंकिङ क्षेत्रलाई के प्रभाव पर्छ ? 

यसमा दुईटा कुरा छ । राष्ट्र बैंकले माइक्रो एसएमई कर्जामा २ प्रतिशतभन्दा बढी प्रिमियम थप गर्नुपर्ने व्यवस्था गरेको छ । उहाँहरुले रिफाइनान्सिङमा २ प्रतिशत स्प्रेड भनेको छ । बैंकलाई ४.४ प्रतिशत स्प्रेड हुने भनेको छ । यसले बैंकहरु कतिको प्रोत्साहन हुने भन्ने हो । कुल कर्जाको १५ प्रतिशत एसएमईलाई कर्जा प्रवाह हुनु पर्छ भनेको छ । यसलाई कार्यान्वयन त गर्नु पर्छ नै । बैंकहरुले रिटर्न अनुसारको लगानी गर्छन् । जुन क्षेत्रमा बढी लगानी गर्यो त्यसबाट कति प्रतिफल आउँछ भनेर बैंकहरुले हेर्छन् ।

यदि राष्ट्र बैंकले भने अनुसार १५ प्रतिशत मात्रै कर्जा प्रवाह गरेर छोड्न सक्छन् भने कुनै बैंकले त्यसमा फेरि बढाउन पनि सक्छन् । यो सबै भनेको रिटर्नको आधारमा गरिने निर्णय हो । राष्ट्र बैंकले यो साना लगानीकर्तालाई संरक्षण गर्नका लागि गरेको व्यवस्था हो भनेर हामीले बुझ्नु पर्छ । कतिपय बैंकहरुले साना लगानीकर्तालाई नै बढी व्याजदर लगाउने चलन पनि छ । बार्गेनिङ गर्ने क्षमता भएकालाई कम र बार्गेनिङ नगर्नेलाई बढी दर लगाउने बैंकहरु पनि छन् । यसलाई नियन्त्रण गर्नको लागि यो व्यवस्था आएको हो । तर, अन्य तरिका र विधिबाट यस्तो व्यवस्था गरेको भएपनि हुने थियो ।

सनराइज बैंक आफैले पनि साना तथा मझौला उद्यम व्यवसायमा लगानी बढाउनु पर्छ भन्ने मनसायमा छ । कर्पोरेटहरुबाट राम्रो रिटर्न नहुने हुँदा माइक्रो एसएमई सबै किसिमबाट राम्रो क्षेत्र हो । तर, राष्ट्र बैंकको यो व्यवस्थाले केही नोक्सान त पर्छनै । बैंकहरुले पनि त्यो नोक्सान व्यवस्थापन गर्न सक्नु पर्छ । हिजोको दिनमा कसैलाई २ प्रतिशत र कसैलाई ३ प्रतिशत पनि लिएको हुन सक्छ । हिजोको दिनमा ३ प्रतिशत लिएकोहरुबाट रिप्राइसिङ गर्नुपर्ने हुन्छ ।

अर्को, सीसीडी खारेज गरेर सीडी रेसियो ९० प्रतिशत कायम गरेको छ । यो व्यवस्थाले बैंकको नाफामा अवश्य पनि हिट गर्छ । १ सय रुपैयाँ निक्षेप थियो र १० रुपैयाँ पूँजी थियो भने ८५ प्रतिशतको व्यवस्थाले ९३ रुपैयाँसम्म कर्जा दिन पाइन्थ्यो । अब ९० रुपैयाँ मात्रै कर्जा दिन पाइने भयो । त्यो व्यवस्था आजकै दिनदेखि कार्यान्वयन गर्ने हो भने बैंकहरु कर्जा दिन नसक्ने स्थितीमा छन् । बाँकी रहेको ३ रुपैयाँ अब मनि मार्केटमा लगानी गर्न सकिन्छ । जसको रिटर्न एकदमै कम छ । रिटर्न कम हुँदा निक्षेपकर्ताको कष्ट पनि नधान्ने हुन सक्छ । त्यसैले पनि बैंकको नाफामा धक्का लाग्छ ।

अहिले बैंकहरुले धमाधम व्याजदर बढाउन थाले भन्ने कुरा छ, व्याजदर बढेको हो ?

व्याजदर नर्मल्ली बढ्ने नै भयो । अघिल्लो वर्षको असारमा २८२ अर्ब रुपैयाँ ‘ब्यालेन्स अफ पेमेन्ट’ सर्प्लस थियो । गत असारमा सर्प्लस छैन । सर्प्लस नभएपछि व्याजदर बढ्ने नै भयो । अर्काको डिपोजिट खोसेर ल्याउनु पर्ने हुन्छ । त्यसकारण पनि व्याजदर बढ्ने नै भयो । यो एउटा प्रकृया हो । पहिला निक्षेपमा बढ्छ त्यसपछि कर्जामा पनि व्याजदर बढ्छ ।

राष्ट्र बैंकले कोराना प्रभावितलाई भनेर जुन किसिमका राहत तथा छुटको व्यवस्था गरेको छ, अहिलेको अवस्थामा त्यो दिन जरुरी थियो ?

अहिलेको यो अवस्था सहुलियत दिनै पर्छ । उद्योग व्यवसाय बढाउनकै लागि लगानी चाहिन्छ । यो आवश्यक नै थियो जस्तो मलाई लाग्छ ।

बैंकहरुको लगानी कुन क्षेत्रमा बढी छ ?

सनराइज बैंकको कुरा गर्ने हो भनेपनि हाम्रो लगानी ट्रेडिङ क्षेत्रमा बढी छ । रिटेलमा औसत २६ प्रतिशत छ । एसएमईमै ३० प्रतिशत छ । मार्जिन लेण्डिङमा हाम्रो २ प्रतिशत छ । बढी कोर बिजनेस अर्थात उद्योग तथा जलविद्युतमा बढी लगानी हुन्छ । अन्य बैंकहरुको पनि लगभग यस्तै छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुले होटलमा लगानी गर्न छोडे भन्ने कुरा आइरहेको छ, होटल क्षेत्रमा लगानी गर्न किन छाड्नु भएको हो ?

हामीले सर्वसाधारणको पैसा चलाउने हो । जनताले दुःख गरेर कमाएर खर्च गरेर बाँकी रहेको रकम भविश्यका लागि राखेको पैसा बैंकमा हुन्छ । मेरो पैसाको सुरक्षा हुन्छ, यसबाट प्रतिफल आउँछ भनेर उहाँहरुले पूर्ण विश्वास र भरोसाका साथ बैंकमा जम्मा गर्नुहुन्छ । त्यसैले पनि बैंकहरुले त्यो पैसालाई सुरक्षित हिसाबले चलाउनका लागि जोखिम र रिटर्न अवश्य नै हेर्छन् । जुन क्षेत्रमा बढी जोखिम छ, त्यसमा लगानी गर्न पछि हट्छन् । लगानी गरेर त्यो क्षेत्रले रिभाइव गर्न सक्छ कि सक्दैन ? बैंकले रिटर्न पाउँछ कि पाउँदैन ? भन्ने हुन्छ । जहाँ जोखिम बढी छ त्यहाँ फेरि लगानी गर्न बैंकहरु अवश्य नै पछि हट्छन् ।

तपाईंहरुले होटल क्षेत्रमा लगानी गर्दा जोखिम बढी छ भन्न खोज्नु भएको हो ?

बैंकिङ क्षेत्रले मात्र होइन, राष्ट्र बैंक र नेपाल सरकारले पनि जोखिम देखेको हो । केन्द्रिय बैंकले होटल तथा पर्यटन क्षेत्रमा गएको कर्जाको व्याजदर स्थीर राख्नुहोस्, जरिवाना नगर्नुहोस्, उनीहरुलाई सर्भाईव हुन दिनुहोस् भनेको त त्यो क्षेत्रमा जोखिम छ भन्ने बुझ्नु पर्छ । कोरोनाको कारणले होटल क्षेत्रमा विश्वव्यापी रुपमै जोखिम छ ।

सनराइज बैंकले पनि होटल क्षेत्रमा लगानी गर्न छोडेको हो ?

होटल क्षेत्रमा पहिले पनि हाम्रो त्यति धेरे लगानी थिएन । र, अहिले पनि धेरै छैन । कुल कर्जाको २ प्रतिशत मात्रै होटल क्षेत्रमा लगानी छ ।

अहिले वाणिज्य बैंकहरुले डिपोजिट मेसिनलाई प्राथमिकता दिइरहेका छन्, तीन वटा बैंकले केही ठाउँमा डिपोजिट मेसिन पनि राखिसकेका छन्, यस बारे सनराइजको योजना के छ ? नेपाली बैंकिङ क्षेत्रका लागि यो आवश्यक छ ?

हामीले कुनै पनि काम गरेपछि अर्थात लगानी गरेपछि त्यसको प्रयोग र प्रतिफल कस्तो छ भनेर बुझ्न आवश्यक छ । यो मेसिनबाट त्यो हेर्न बाँकी नै छ । तपाईंले अरु बैंकले सुरु गरे भन्नुभयो । तर, कतिवटा बैंकले सुरु गरे ? कतिवटा मेसिन राख्नु भयो ? कति ठाउँमा राख्नु भयो ? भन्ने विषय पनि महत्वपूर्ण हो । हामीसँग १ सय वटा एटीएम मेसिन हुन्छन् । डिपोजिट मेसिन पनि १ सय वटा नै छन् त ? भन्ने कुरा बुझ्नु पर्छ । यो एउटा ब्राण्डिङ हो । यसको सदुपयोग पनि हेर्नुपर्छ । अर्को, भनेको हामीले क्यासलेसका अन्य माध्यमहरु प्रयोग गर्नुपर्छ जस्तो लाग्छ ।

यसको मतलब नेपाली बैंकिङ क्षेत्रमा डिपोजिट मेसिन उपयुक्त छैन हो ?

हैन, यो उपयुक्त भन्दा पनि लगानी अनुसारको प्रतिफल छ कि छैन भन्ने हो । हामी पनि त्यसमा जान्छौं होला । तर, यसको अर्थ यो होइन कि त्यो भए मात्र इकोनोमी चल्ने नत्र नचल्ने भन्ने हुँदैन । भोलि एटीएम मेसिन नै विस्थापित हुने होकि भन्ने पनि छ । अहिले विश्व डिजिटल प्रविधिमा धेरे माथि पुगिसकेको छ । मानिसहरुले नगद हातमा लिन चाहिरहेका छैनन् ।

बैंक अब कसरी अगाडि बढ्दैछ ? के छ नयाँ योजना ?

हामी डिजिटल बैंकिङमा अगाडि बढ्दैछौं । अब निक्षेपको क्राइसिस होला जस्तो छ, सुरक्षित किसिमका साथ बिजनेस गर्ने हो । समयसापक्ष रणनीतिहरु बनाएर अगाडि जाने र बिजनेस बढाएर पुँजीलाई सदुपयोग गर्ने नै हो । जसले गर्दा लगानीकर्तालाई रिटर्न दिन सजिालो होस् । अहिले हाम्रो झण्डै १४ प्रतिशत क्यापिटल एड्युकेसी रेसियो छ । यसलाई साढे ११ प्रतिशतमा ल्याउन सक्यौं भने राम्रो हुन्छ । यसमा लागि हामीले बिजनेस बढाउनु पर्छ । बिजनेस बढाएपछि त्यसबाट रिटर्न अवश्य नै आउँछ भन्ने विषयमा हामी विश्वस्त छौं ।

अन्तिममा, सनराइज बैंकका सेयरधनी, टीम र ग्राहकलाई तपाईंको सन्देश के छ ?

हाम्रो टिमवर्क एकदमै राम्रो छ । म बैंकका आएको ६ महिना भयो । यो ६ महिनाको अवधिमा टीमले राम्रो काम गरेको मैले महशुस गरेको छु । यही रफ्तारमा मिलेर काम गरेर ग्राहकलाई राम्रो सर्भिस दिन निरन्तर्ता दियो भने संस्था र सबैको हित हुन्छ । सेयरधनीलाई पनि प्रतिफल जति सक्दो बढी दिने विषयमा हामीले प्रयास गरिहरेका छौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.