नेपालमा वित्तीय पहुँचः ७५० स्थानीय तहमा बैंक पुगे, ३ करोड जतिले खाेले बैंक खाता

  २०७८ भदौ ४ गते १५:५८     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालमा वित्तीय पहुँच बढ्दै गएको बताएको छ । वित्तीय पहुँच सम्बन्धि एक अध्धयन गर्दै राष्ट्र बैंकले निक्षेप खातालगायत विभिन्न वित्तीय सूचकले नेपालमा वित्तीय सघनता र वित्तीय पहुँचको स्थितिमा सुधार हुँदै गएको उल्लेखअ गरेको हो । ‘क’, ‘ख’ र ‘ग’ वर्गका वित्तीय संस्थामा २०७७ जेठ मसान्तमा कायम निक्षेप खाताको विवरणको आधारमा अध्ययन प्रतिवेदन तयार पारिएको राष्ट्र बैंको भनाई छ ।

वित्तीय साक्षरता प्रवद्र्धन, शाखा विस्तार, शाखारहित बैंकिङ, भुक्तानी प्रणालीको आधुनिकीकरण गर्नेलगायतका नीतिगत व्यवस्थाले बैंक तथा वित्तीय संस्थाका प्रतिशाखाले सेवा पु¥याउने नागरिकको संख्या क्रमशः घट्दै गएको देखिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

यस बैंकबाट इजाजतप्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका संस्थाको शाखा संख्या २०७७ चैत मसान्तमा ५,९७८ पुगेको छ । ७५३ स्थानीय तहमध्ये ७५० तहमा वाणिज्य बैंकको शाखा विस्तार भएको छ । निक्षेप खाता संख्या तीन करोड ६३ लाख ६६ हजार र कर्जा खाता संख्या १६ लाख ८२ हजार ८४५ रहेको छ ।

२०७७ जेठ मसान्तमा तीन करोड १८ लाख ८६ हजार निक्षेप खाता र यसमध्ये नेपाली प्राकृतिक व्यक्तिको दुई करोड ९९ लाख २८ हजार ४३६ निक्षेप खाता रहेका छन् । तीन पुस्ते विवरणको आधारमा प्राकृतिक व्यक्तिको एक मात्र निक्षेप खाता गणना गर्दा २०७७ जेठ मसान्तमा ६७.३४ प्रतिशत नागरिकको कम्तीमा एक निक्षेप खाता रहेको देखिएको छ ।

यस्तै, २०७६ असार मसान्तमा कम्तीमा एक निक्षेप खाता भएका नेपालीको संख्या ६०.९ प्रतिशत रहेको थियो । कुल निक्षेप खातामा प्राकृतिक व्यक्तिको खाताको हिस्सा ९३.४८ प्रतिशत पाइएको छ । प्रतिहजार व्यक्ति ९९८ खाता रहेकोमा पुरुषको प्रतिहजार व्यक्ति १,३१४ खाता र महिलाको प्रतिहजार व्यक्ति ६८७ खाता रहेका छन् ।

प्रदेशगत रूपमा सबैभन्दा बढी बाग्मती प्रदेशमा प्रतिहजार व्यक्ति १,८०२ र कर्णाली प्रदेशमा सबैभन्दा कम प्रतिहजार व्यक्ति ४५८ खाता रहेका छन् । महानगरमा प्रतिहजार व्यक्ति ३,२९६ र ग्रामीण नगरपालिकामा प्रतिहजार व्यक्ति २५१ खाता रहेका छन् । कुल निक्षेप खातामध्ये ६७.७ प्रतिशत खाता सक्रिय रहेका छन् ।

पुरुषको खाता संख्यामध्ये ६५.२ प्रतिशत र महिलाको खाता संख्यामध्ये ७२.३ प्रतिशत खाता सक्रिय रहेका छन् । ग्रामीण नगरपालिकामा ८१.५ प्रतिशत खाता सक्रिय रहेको पाइएको छ । प्राकृतिक व्यक्तिले खोलेका कुल निक्षेप खाता संख्यामा बचत निक्षेप खाताको हिस्सा ९०.६ प्रतिशत र मुद्दती निक्षेप खाताको हिस्सा ३.१ प्रतिशत रहेको छ ।

व्यक्तिगत खातामा ९६.१५ प्रतिशत हिस्सा वयस्क व्यक्ति (पन्ध्र वर्षभन्दा माथि) को रहेको छ । प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंकको शाखा संख्या औसतमा १८.९८ प्रतिशत रहेको छ । उक्त संख्या सबैभन्दा धेरै गण्डकी प्रदेशमा ३०.२५ र सबैभन्दा कम प्रदेश नं. २ मा ९.७३ प्रतिशत रहेको छ । ग्रामीण क्षेत्रमा प्रति एक लाख जनसंख्यालाई सेवा पु¥याउने बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८.५४ र महानगरपालिकामा ४५.७६ प्रतिशत रहेको अध्ययनले देखाएको छ ।

प्रविधिको प्रयोगअन्तर्गत प्रतिखाता एटीएम प्रयोगकर्ता २०.३५ प्रतिशत, मोबाइल बैंकिङ प्रयोगकर्ता ३२.०३ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ३.८६ प्रतिशत रहेका छन् । प्रतिखाता एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ प्रयोगकर्ता बाग्मती प्रदेशमा सबैभन्दा बढी क्रमशः २६.११, ३३.१२ र ६.४० प्रतिशत रहेको छ । प्रतिखाता एटीएम प्रयोगकर्ता गण्डकी प्रदेशमा सबैभन्दा कम १४.५० प्रतिशत, प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता प्रदेश नं. २ मा सबैभन्दा कम २७.०१ प्रतिशत र प्रतिखाता इन्टरनेट बैंकिङ प्रयोगकर्ता कर्णाली प्रदेशमा सबैभन्दा कम ०.५२ प्रतिशत रहेको पाइएको छ ।

महानगरमा प्रतिखाता एटीएम प्रयोगकर्ता २७.२८ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता ६.४८ प्रतिशत रहेका छन् । गाउँपालिकामा प्रतिखाता एटीएम प्रयोगकर्ता १०.६१ प्रतिशत र इन्टरनेट बैंकिङ प्रयोगकर्ता १.०८ प्रतिशत रहेका छन् । प्रतिखाता मोबाइल बैंकिङ प्रयोगकर्ता गाउँपालिकामा सबैभन्दा बढी ३३.३६ प्रतिशत रहेको देखिएको छ । उमेरगत हिसाबले २० वर्ष उमेरका व्यक्तिमा प्रविधिको प्रयोग उच्च रहेको र सो उमेरभन्दा माथि प्रविधिको प्रयोग क्रमशः घट्दै गएको देखिएको छ । युवा पुस्तामा प्रविधिको प्रयोग उच्च रहेको हुँदा आगामी दिनमा प्रविधिको माग दिनानुदिन बढ्दै जाने राष्ट्र बैंकले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.