‘सेयर ब्रोकरको जम्मा भएको ३५ करोड रुपैयाँ कस्को हो ? पहिचान खुलेन’

  २०७८ साउन २८ गते १३:०२     विकासन्युज

काठमाडौं । सेयर ब्रोकरहरुले आफ्नो खातामा आएको करिब ३५ करोड रुपैयाँ कस्को हो भन्ने पहिचान नखुलेको बताएका छन् । विभिन्न लगानीकर्ताले ब्रोकरको खातामा हालेको सो बराबरको रकमको पहिचान खुल्न नसकेको हो ।

लगानीकर्ताले विभिन्न माध्यमबाट आफूहरुको बैंक खातामा पठाएको करिब ३५ करोड रुपैयाँ कसले पठाएको हो भन्ने खुल्न कठिनाई भएको ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनालीले जानकारी दिए ।

‘लगानीकर्ताहरुले सेयर किन्नुहुन्छ, सेयर किनेपछि हाम्रो खातामा रकम पठाउनु पर्छ तर, यसरी हाम्रो खातामा आएको सबै रकमको पहिचान नखुल्दा कसले पठाएको हो भन्ने यकिन गर्न गाह्रो भइरहेको छ, यस्तो रकम सबै ब्रोकरहरुकोमा गरी करिब ३५ करोड रुपैयाँ जति भएको अनुमान छ,’ अध्यक्ष मैनालीले विकासन्युजसँग भने ।

किन खुलेन पहिचान ?

ब्रोकरको बैंक खातामा सेयर खरिद गरेका लगानीकर्ता नै पठाएका हुन्छन् । सेयर किन्ने व्यक्तिले सो सेयर खरिदको रकम ब्रोकरलाई दिएको अवस्थामा कसले पठाएको हो भनेर पहिचान नखुल्ने अवस्था नआउनु पर्ने हो ।

तर, सेयर खरिद गर्ने लगानीकर्ताले विभिन्न माध्यमबाट रकम भुक्तानी गर्न पाउने व्यवस्था छ । यसरी रकम दिएकोमध्ये भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको स्पष्ट पहिचान नखुल्ने ब्रोकरहरुले बताएका छन् ।

‘सेयर खरिद गरेपछि मैले यो माध्यमबाट यति रकम पठाएको छु, यसको प्रमाण यस्तो छ भनेर लगानीकर्ताले हामीलाई जानकारी दिनुभयो भने पहिचान खुल्छ र हामीले सेयर विक्री गर्ने व्यक्तिको खातामा रकम पठाइदिन सक्छौं तर, कतिपय लगानीकर्ता विभिन्न भुक्तानी सेवा प्रदायक वा वालेटहरुबाट रकम पठाइदिनुहुन्छ, हामीलाई थप खबर गर्नुहुन्न, यसरी आएको रकमको पहिचान खुल्ने केही विवरण हुँदैन, त्यस्तो रकम नै पहिचान खुल्न नसकेको रकमको रुपमा रहेको हो,’ अध्यक्ष मैनालीले भने ।

अहिले सेयर खरिदको भुक्तानी गर्दा टीएमएस (ट्रेड म्यानेजमेन्ट सिस्टम) मा कनेक्ट आईपीएसबाट गर्ने भुक्तानी र अन्तरबैंक कारोबारबाट गर्ने भुक्तानी मात्रै आवद्ध छ । सोही कारण कनेक्ट आईपीएस र अन्तर बैंक भुक्तानीबाट आएको रकमको पहिचान सहजै खुल्छ तर, भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको सम्वन्धमा भने समस्या भइरहेको ब्रोकरले बताएका छन् ।

के गर्ने पहिचान खुलाउन ?

ब्रोकर एसोसिएनका अध्यक्ष मैनालीले कनेक्ट आईपीएस र अन्तर बैंक भुक्तानीबाट आएको रकमको हकमा भने कुनै समस्या नभएको बताए । तर, भुक्तानी सेवा प्रदायक र वालेटहरुबाट आएको रकमको हकमा भने पैसा पठाउने व्यक्तिले आफ्नो ब्रोकरसँग समन्वय गरेर आफूले रकम पठाएको प्रमाणसहित जानकारी गराउनु उचित हुने उनले बताए ।

‘अहिले अधिकांश ब्रोकरले लगानीकर्तालाई भाइबर तथा ह्वाट्सएप नम्बर उपलब्ध गराएका छन्, सेयर खरिद गर्ने व्यक्तिहरुले ब्रोकरको खातामा पैसा पठाइसकेपछि त्यस्ता नम्बरहरुबाट स्क्रीनसट सहित जानकारी गराउनु भयो भने सहज हुन्छ, ब्रोकर कार्यालयमा फोन गरेर मैले यो प्रयोजनको यति रकम यो माध्यमबाट यतिखेर पठाएको थिएँ भनेर जानकारी गराउनु भयो भने पनि सजिलो हुन्छ,’ अध्यक्ष मैनालीले भने ।

पहिचान नखुलेको रकम स्रोत नखुलेको रकम हो ?

होइन । कसले किन पठाएको हो भन्ने पहिचान मात्रै नखुलेको हो । भुक्तानी सेवा प्रदायक वा वालेटहरुबाट रकम पठाउनु भनेको पनि बैंक वित्तीय संस्थामा रहेको रकम पठाउनु नै हो । बैंक वित्तीय संस्थामा स्रोत नखुलेको रकम राख्न नसकिने भएको कारण यस्तो रकम स्रोत नखुलेको वा सम्पत्ती शुद्धीकरण भएको अर्थमा बुझ्न भने हुँदैन ।

2 comments on "‘सेयर ब्रोकरको जम्मा भएको ३५ करोड रुपैयाँ कस्को हो ? पहिचान खुलेन’"

  • आम लगानीकर्ता says:

    सर्बसाधारण लगानीकर्ता येसरी पनि ठगिइरहेका छन्। सो ३५ करोडले किन DEMAT खाता र बैंक खाता integration गर्ने software नबनाउने ? DEMAT खाता र बैंक खाता integration गरेर full automation मा गए पछि यो सबै समस्याको समाधान भै हाल्छ नि |यीनिहरुलाई कस्ले बुद्धि हालिदिने ?

  • Teeka Budha says:

    Mero march ma 57823 pathako Global IME kamaladi ko Ac ma ahile samma statement ma dekhidain tetai gayo sayad

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.