सम्पत्ति रोक्का गरिएको स्मार्टलाई ओली सरकारको ‘राहत’

  २०७८ साउन ३ गते १०:४२     विकासन्युज

काठमाडौं । गत चैतमा ५ अर्ब रुपैयाँभन्दा बढी बक्यौता भएको भन्दै सम्पत्ति रोक्का गर्न सिफारिस गरिएको स्मार्ट टेलिकमलाई सरकारबाटै सहयोग भएको पाईएको छ ।

पटक/पटक बक्यौता रकम भुक्तानी गर्न म्याद थप गरेको केपी शर्मा ओली नेतृत्वको सरकारले सरकारबाट बाहिरिनु अगाडी पुनः ६ महिना म्याद थप गरेको छ ।

बक्यौता रकम भुक्तानी नगरेपछि दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमको सम्पक्ति रोक्का गर्न गत चैत पहिलो साता नापी र मालपोत कार्यालयलाई पत्राचार गरेको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा असार २८ गते बसेको अन्तिम मन्त्रिपरिषद् बैठकले स्मार्टलाई अझै ६ महिनासम्म (पुस मसान्तसम्म) बक्यौता भुक्तानीको समय दिएको हो ।

बक्यौता रकम भुक्तानी नगर्ने उक्त कम्पनीको इजाजत रद्दको तयारी र सम्पत्ति रोक्का गरेको ओली सरकारले स्मार्टको पक्षमा निर्णय गर्दै पुनः ६ महिना म्याद थप गरेको हो ।

चार वर्षदेखि भुक्तानी भएन

स्मार्ट टेलिकमले विगत चार वर्षदेखि सरकारलाई भुक्तानी गर्नुपर्ने बक्यौता रकम भुक्तानी गरेको छैन । रकम भुक्तानी नगरेपछि प्राधिकरणले स्मार्टको अनुमतिपत्र रद्द गर्ने निर्णय गत वर्ष नै गरेको थियो । प्राधिकरणले निर्णयलाई कार्यान्वयन नगर्न निर्देशन दिदैँ ओली सरकारले रकम भुक्तानी गर्ने म्याद पटक/पटक थप गर्दै आएको थियो ।

सरकारबाट बाहिरिनु अघिल्लो दिन नै ६ अर्ब रुपैयाँभन्दा बढी भुक्तानी नगरेको उक्त कम्पनीको म्याद ६ महिना थपिएको हो ।मन्त्रिपरिषद्को निर्णय भन्दै मन्त्रालयले असार ३० को मितिमा नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन आईसकेको प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले जानकारी दिए ।

उनका अनुसार मन्त्रिपरिषद्ले कात्तिक मसान्तभित्र स्मार्ट टेलिकमको वित्तीय अवस्थाको विश्लेषण गरी मन्त्रालयमा बुझाउनु, उक्त कम्पनीले प्रत्यक महिना प्रगति विवरण प्राधिकरणमा बुझाउनुपर्ने समेत निर्णय गरेको छ ।

स्मार्ट टेलिकमको सेयर र सम्पत्तिको बिक्री गर्दा सरकारको पूर्वस्वीकृति अनिवार्य हुने पनि मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ ।

कति छ बक्यौता रकम ?

स्मार्टले विभिन्न शिर्षकमा सरकारलाई बुझाउनुपर्ने रकम ६ अर्ब रुपैयाँ भन्दा बढी छ । जसमा फ्रिक्वेन्सी दस्तुर वापत स्मार्टले पहिलो किस्तामा ५९ करोड ८८ लाख ६८ हजार रुपैयाँ बुझाउनुपर्ने थियो ।

दोस्रो किस्तामा ८३ करोड २३ लाख, तेस्रो किस्तामा ७७ करोड ४० लाख, चौथो किस्तामा ७१ करोड ५६ लाख र पाँचौं किस्तामा ६५ करोड ७२ लाख रुपैयाँ बुझाउनुपर्ने गरी प्राधिकरणले किस्ता निर्धारण गरेको थियो ।

पाँच किस्तामा स्मार्टले सरकारलाई ३ अर्ब ५७ करोड ८१ लाख रुपैयाँ बुझाउनु पर्छ । योसहित स्मार्टले लाइसेन्स नवीकरण दस्तुरको आठौं किस्ताबापत १ अर्ब २५ करोड रुपैयाँ बक्यौता बुझाउन बाँकी छ ।

समग्र बक्यौतामा व्याजसमेत जोड्दा स्मार्टले तिर्नुपर्ने कुल रकम करिब ६ अर्ब रुपैयाँ पुगिसकेको प्राधिकरणका एक अधिकारीले बताए । तर कम्पनीले रकम तिर्न मानेको छैन ।

लामो समयदेखि रकम भुक्तानी नगरेको भन्दै स्मार्ट लगायतका दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई प्रतिनिधि सभा अन्तरगतको अर्थ समितिले २०७५ सालको माघ महिनामा रकम भुक्तानीको निर्देशन दिएको थियो । विभिन्न निकायबाट पटक/पटक रकम भुक्तानीको निर्देशन दिएपनि स्मार्टले रकम भुक्तानी गर्न आलटाल गर्दै आएको छ ।

सम्पत्ति नियमावली मन्त्रिपरिषद्बाट फिर्ता

स्मार्टको इजाजत रद्द गरेर हाल रहेको सम्पत्ति व्यवस्थापनको विषयमा प्राधिकरणले नियमावली बनाएर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सिफारिस गरेको थियो ।

प्राधिकरणले पठाएको नियमावली मन्त्रालयले मन्त्रिपरिषद्को बैठकमा सिफारिस गरेको थियो । ओली सरकारले सम्पत्ति व्यवस्थापनको नियमावलीलाई वेवास्ता गर्दै म्याद थप गरेको हो ।

अनुमति पत्र तीन प्रकारबाट रद्द गर्ने (म्याद सकिएपछि, समयअगाडी नै स्वछाले र अर्काे नियामक निकायबाट खारेजी भएकाले) सम्पत्ति व्यवस्थापनको विषयमा प्राधिकरणले नियमावली बनाएर स्वीकृतिका लागि क्याबिनेटमा पठाएको थियो ।

दूरसञ्चार ऐनमा प्रस्ट व्याख्या नभएपछि प्राधिकरणले नियमावली बनाएको थियो । क्याबिनेटले नियमावली स्वकृति नगरेपछि उक्त कम्पनी खारेज भएपछि त्यसका ग्राहक, सम्पत्ति व्यवस्थापनको विषयमा अन्योलमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.