छाउनी अस्पतालमा निःशुल्क हेमोडायलाइसिस सेवा सुरु

  २०७८ असार २७ गते १३:२६     विकासन्युज

काठमाडौं । वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौं महानगरवासी मृगौला रोगीका लागि निःशुल्क हेमोडाइलाइसिस सेवा सुरु भएको छ । काठमाडौं महानगरपालिकाको आर्थिक सहयोग र नेपाली सेनाको व्यवस्थापनमा वीरेन्द्र अस्पताल छाउनीमा उक्त सेवा सुरु भएको हो ।

उक्त सेवा सञ्चालनका लागि आवश्यक भौतिक पूर्वाधार, ८ ओटा हेमोडायलाइसिस मेसिन, एउटा रिप्रोसेसिङ मेसिन, पानी शुद्धीकरण प्लान्ट र अन्य मेडिकल उपकरणहरू जडान गर्न महानगरले अस्पताललाई ३ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ । यससम्बन्धि सहकार्यका लागि महानगरपालिका र अस्पतालबिच वि. सं. ०७६ पुस २ गते सम्झौता गरेको थियो । सम्झौता ५ वर्षका लागि गरिएको थियो ।

सम्झौता अनुसार जडान गरिएका ८ वटा हेमोडायलाइसिस मेसिनबाट रहेक हप्ता दुई सिफ्टमा सेवा सञ्चालन गर्न सकिन्छ । तत्कालका लागि ४८ जना विरामीलाई साताको २ पटक सेवा प्रदान सकिन्छ । अस्पतालका प्रमुख सहायक रथी डाक्टर अरुण शर्माका अनुसार अस्पतालमा उक्त सेवा लिन आउने विरामीले महानगरले दिएको शिफारिसका साथ आउनुपर्छ । सेवा विपन्न र सेरोनेगेटिभ दीर्घ चरणको मृगौला रोगी, क्रोनिक किड्नी डिजिज स्टेज –५ पुगिसकेकाहरुका लागि हो ।

मिर्गौलाले काम नगरेको अवस्थामा शरीरमा जम्मा भएको दुषित पदार्थहरु सरीरबाट बाहिर निकालेर स्वस्थ बनाउने विधि डायलाईसिस हो ।
‘काठमाडौँ महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममै अस्पताल सञ्चालन गर्ने उल्लेख गरेको छ । ‘तर, तत्कालका लागि त्यो सम्भव नभएपछि हामीले जोसँग विशेषज्ञ सेवा छ, उसैसँग सहकार्य गरेर महानगरवासीलाई स्वास्थ्य सेवा दिने प्रयास गरेका हौँ ।’ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले भने, ‘ हामीले यस अघि पनि नेपाली सेनासँगको सहकार्यमा सरसफाइ, वृक्षारोपणलगायतका काम गरेका छौँ । अहिले सञ्चालन गरेको यो सेवासँगै अस्पतालबाट महानगरवासीले हेमोडाइलाइसिसको सहज र स्तरीय सेवा प्राप्त गर्नेछन् भन्नेमा विश्वस्त छु ।’

प्रमुख शाक्यले काठमाडौं महानगरपालिकाले मिर्गौला सम्बन्धी रोग लाग्नु भन्दा अगावै त्यसलाई रोक्न वा रोग लागिसकेको भए थप बिग्रन नदिन यसै वर्षदेखि ‘स्वस्थ मिर्गौला–स्वस्थ काठमाडौं’ कार्यक्रम सुरु भइसकेको बताए ।

उनका अनुसार मिर्गौला बचाउ अभियान नामक संस्थासँग सहकार्य गरी महानगरपालिकाका ३२ वटै वडाहरूमा उक्त कार्यक्रम सञ्चालन गरिएको छ ।

महानगरले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताललाई १५, त्रि.वि. शिक्षण अस्पताललाई १०, शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रलाई ५, छत्रपाटी निःशुल्क चिकित्सालयलाई ४, नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई ३, महेन्द्र नारायण निधि मेमोरियल अस्पताललाई २, हेल्पिङ्ग ह्याण्ड्स सामुदायिक अस्पताललाई २, जनस्वास्थ्य सरोकार ट्रष्ट काठमाडौं मोडल अस्पताललाई २ र शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललाई २ थान भेन्टिलेटर सहयोग गरिसकेको छ ।

यस्तै महानगरपालिकाले खर्च व्यहोर्ने गरी छत्रपाटीस्थित निःशुल्क चिकित्सालयलाई ३५ शैयाको विशेष कोभिड अस्पताल बनाइएको छ । एक सय वर्ष भन्दा पनि पुरानो अस्पताल नरदेवी आयुर्वेदिक अस्पताललाई पनि आइसोलेसन सेन्टरका रुपमा विकास गरिएको छ ।

हाल देशभरिका ६५ वटा अस्पतालहरूमा चालु रहेका ४ सय ९८ वटा डायलासिस मेसिनबाट ३ हजार ५ सय १६ जना विपन्न वर्गका विरामीहरूले निःशुल्क हेमोडायलाइसिस सेवा प्राप्त गरिरहेको तथ्याङ्क छ । निःशुल्क डायलाइसिस गर्दा राज्यले प्रति विरामी वार्षिक २ लाख ६० हजार रुपैयाँ खर्च व्यहोरिरहेको छ । नेपालमा हरेक वर्ष २ हजार ६ सय जना मिर्गौलाका नयाँ विरामीहरू थपिरहेको सरकारी तथ्यांक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.