नर्भिकमा जेनेटिक ल्याबसहितको आधुनिक आइभिएफ सेन्टर संचालनमा

  २०७८ असार २३ गते १६:५८     विकासन्युज

काठमाडौं । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले अत्याधुनिक सुविधा तथा प्रविधिसहित नेपालमै पहिलो जेनेटिक ल्याबसहितको अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटि सेन्टर संचालनमा ल्याएको छ ।

बुधबार एक समारोहका बीच अत्याधुनिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरको उद्घाटन गरिएको हो ।

अस्पतालका संस्थापक अध्यक्ष बसन्तकुमार चौधरीकी पत्नी मीना चौधरी, अस्पतालका प्रबन्ध निर्देशक मेघा चौधरी तथा डा. नूतन शर्माले संयुक्त रुपमा रिबन काटेर आइभिएफ सेन्टरको उद्घाटन गरेका थिए ।

चर्चित वरिष्ठ स्त्री रोग तथा टेस्टट्यूब बेबी विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा. नूतन शर्मा नेतृत्वको टिमले नर्भिक आइभिएफ एण्ड फर्टिलिटी सेन्टरबाट आधुनिक सेवा प्रवाह गर्नेछ ।

डा. शर्माकाअनुसार नर्भिक अस्पतालको आइभिएफ एण्ड फर्टिलिटि सेन्टर नेपालका अस्पतालहरुमध्येकै अत्याधुनिक एवम् सुविधायुक्त रहेको छ । विश्वमा पछिल्लो समय अभ्यासमा आएका अत्याधुनिक उपकरण तथा प्रविधिहरुको प्रयोग गरी स्तरीय सेवा दिइने उनले जानकारी दिइन् । देशका अन्य आइभिएफ सेन्टरमा जेनेटिक ल्याबको सुविधा छैन ।

तर, नर्भिकको यो सेन्टरमा वंशाणुगत रोगको पहिचान गर्ने प्रि–जेनेटिक डाइग्नोसिस सेवासहितको ल्याब समेत रहेको छ । ‘नर्भिकको आइभिएफ सेन्टरमा आएपछि आवश्यक कुनै पनि जाँच गर्न कतै जानुपर्दैन । सबै खालको सेवा यही उपलब्ध छ,’ डा. शर्माले भनिन्,‘नर्भिकको आइभिएफ सेन्टर देशकै अत्याधुनिक र धेरै सुविधा उपलब्ध भएको सेन्टर पनि हो ।’

प्रि–जेनेटिक डाइग्नोसिसमार्फत स्वस्थ भ्रुणको अवस्था पहिचान गरी गर्भाधारण गराउने गरिन्छ । जसका कारण भविष्यमा जन्मिने बच्चाहरुमा हुनसक्ने विभिन्न खाले वंशाणुगत रोगको जोखिम निराकरण गर्न सकिन्छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.