हाम्रो पालिकामा तत्काल राहतका कार्यक्रम ल्याउन आवश्यक छैन – नगर उपप्रमुख तिम्सिना

  २०७८ असार ६ गते १९:२७     विकासन्युज

विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरसको कारण हाल सारा विश्वनै ठुलो सङ्कटमा छ । विभिन्न देशहरू यो सङ्कटलाई परास्त गर्न लागिपरेका छन् । नेपाल पनि लामो समयदेखि कोरोना भाइरसको लडाईंसँग जुधिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश १ अन्तर्गतको धनकुटा जिल्लामा पर्ने पाख्रिबास नगरपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ ।

यो भाइरसकै कारण गत वर्ष पनि लामो समयसम्म लकडाउन भयो । अहिले फेरि कोरोना भाइरसको दोस्रो लहरले जनजीवन अस्तव्यस्त छ । देशका अधिकांश जिल्लाहरूमा निषेधाज्ञा लागू गरिएको छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष हुँदैछ ।

यस समयमा कोरोनाकोे जोखिम न्यूनीकरण गर्नको लागि नगरपालिकाले कस्तो काम गर्दै आएको छ, नगरपालिकामा संक्रमण थप फैलिन नदिनको लागि कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाकी उप–प्रमुख देबकला तिम्सिनासँग विकासन्युजका लागी राजिब न्यौपानेले गरेको कुराकानी ः

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि तपाईंको नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ?

विश्व महामारीका रूपमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणका कारण हाम्रो नगरपालिका पनि अछुतो रहन सकेन । यस महामारीले जनस्वास्थ्य मात्र नभई मानवीय विकासको धरातललाई चुनौती दिएको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएलगत्तै नगरपालिका कोरोना संक्रमण नियन्त्रण अभियानमा छ । यस महामारीलाई नियन्त्रण गर्नको नगरपालिकाको तर्फबाट सम्पूर्ण प्रयास जारी राखेको छ ।

हाम्रो नगरमा १० ओटा वडा छन् भने प्रत्येक वडामा स्वास्थ्य इकाई रहेका छन् । सबै स्वास्थ्य इकाईमा महामारी नियन्त्रण गर्नको लागि आवश्यक स्वास्थ्य सामाग्री वितरण गरेका छौं । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् भने केहीको नागरिकहरू कोरोनाकै कारण मृत्यु भएको छ । यस महामारीलाई न्यूनीकरण गर्नको लागि आइसोलेसन तथा अक्सिजनको व्यवस्था पनि गरेका छौं ।

कोरोनाबाट नागरिकको स्वास्थ्यमा समस्या भयो भने अस्पतालमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । नगरमा १० बेडको आइसोलेसन कक्ष छ भने हालसम्म यस आइसोलेसनमा कसैलाई पनि राख्नु पर्ने अवस्था आएको छैन । नगरले आवश्यक स्वास्थ्य सामाग्रीको पनि खरिद गरेको छ भने हाल नगरमा स्वास्थ्य सामाग्रीको पनि अभाव छैन ।

समुदायमा कोभिड संक्रमणलाई रोक्न समयमै नगरपालिकाले माइकिङ गर्ने, सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गर्ने, टोलटोलमा साबुन पानीले हात धुने व्यवस्था र सरसफाइलाई जोड दिंदै आयो । सुत्केरीका महिलाको लागि निःशुल्क एम्बुलेन्स सेवाको प्रबन्ध गरिएको छ । यस महामारी न्यूनीकरण गर्नको लागि जनप्रतिनिधि सुरक्षाकर्मी, स्वास्थ्यकर्मी लगायत सबै अहोरात्र खटिरहनु भएको छ । त्यस्तै सुरक्षाकर्मीसँग पनि हामीले समन्वय गरिरहेका छौँ । उहाँहरूसँग पनि बैठक, छलफल भइरहेको छ । यो समयमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको योगदानको प्रशंसा गरेर सकिँदैन ।

नगरपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

कन्ट्याक्ट ट्रेसिङ दायरालाई फराकिलो बनाई कोभिड–१९ सँग अन्तरसम्बन्धित लक्षण देखिएका नागरिकहरूको पहिचान गरी संक्रमितको अति नजिकको सम्पर्कमा रहेका व्यक्तिहरूको पहिचान गरी एन्टिजेन वा पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं ।

पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । टोलटोलमै पुगेर परीक्षण गर्ने गरेका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पीसीआर परीक्षण चाहिँ पालिकामा हुदैन । कोरोनासँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीहरुको स्वास्थ्यकर्मी स्वाब सङ्कलन गर्दै आउनु भएको छ । स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणको लागी जिल्ला अस्पताल पठाउँछौँ । पछिल्लो समयमा हामीले एन्टिजेन परीक्षण बढिमात्रामा गर्दै आएका छौं । पालिकाले एन्टिजेन परीक्षण गर्ने आवश्यक किट पनि खरिद गरेको छ । एन्टिजेन परीक्षण चाहिँ पालिका आफैंले गर्दै आएको छ ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ?

दोस्रो लहरको कोरोना भाइरसको प्रभाव र संक्रमितको संख्या नगरमा बढ्दै जाँदा हामीले मास क्वारेनटिनलाई भन्दा होम क्वारेनटिनलाई नै जोड दिएका छौं । होम क्वारेन्टिनमा धेरै कोभिडका बिरामीहरू बसेका छन् भने हाल उनीहरू पनि सबै निको भइसकेको छन् । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले बुझ्दै आउनु भएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । औषधि इत्यादि उपलब्ध गराउनु हुन्छ । प्रत्येक वडामा स्वास्थ्यकर्मी हुनुहुन्छ । होम आइसोलेसनमा बसेका बिरामीको स्वास्थ्यमा समस्या भएको वा जटिल अवस्था आएको खण्डमा जिल्ला अस्पताल वा नगर भित्रकै अस्पतालमा ल्याई उपचार गर्ने व्यवस्था मिलाएका छौं । नगरमा स्थानीय स्वास्थ्यकर्मी र स्वयंसेवीका हुनुहुन्छ र स्थानीय जनप्रतिनिधि मार्फत उहाँहरूले यसको व्यवस्था गर्नुहुन्छ ।

नगरपालिकामा हिजोआज कोरोनाको संक्रमितहरुको संख्या कत्तिको बढि रहेको छ, यसलाई नियन्त्रण गर्नको लागि तपाईंहरुको प्रयास कत्तिको सफल भएको छ ?

पहिलोको तुलनामा पछिल्लो समयमा नगरमा कोरोनाको संक्रमितको संख्या घट्तै गएको छ । होम आइसोलेसनमा बासेका कोभिडका बिरामीहरू पनि निको हुने क्रम बढ्दो संख्यामा छ । पछिल्लो समयमा परीक्षण गर्दा पनि संक्रमित हुने संख्या कम छ । यो समयमा चाहिँ महामारी नियन्त्रण गर्न सफल भयौंकी भन्ने महशुस गरेका छौं । तर, आगमि दिनमको अवस्था बारे यकिन गरेर सकिँदैन । संक्रमितको संख्या घट्तै जाँदा अस्पतालका बेडहरू पनि खालि हुँदै गएको छ । कोरोना संक्रमितको उपचार गर्ने जिल्ला अस्पतालसँग समन्वयकारी भूमिका नगरले निर्वाह गरिरहेको छ ।

कोरोना महामारीको समयमा पनि छ, यो अवस्थामा बिकास निर्माणको कामहरू कसरी सञ्चालन गरी रहनु भएको छ ?

नगरका योजनाहरू हामीले चैत्र मशान्त भित्र सक्ने, भुक्तानी पनि गर्ने भनेका थियौं । नगर स्तरका सानासाना विकास निर्माणको कामहरू सकिसकोका छौं । प्रदेश र केन्द्रका ठुलाठुला विकास निर्माणका आयोजनाहरू सञ्चालन भइरहेको छ । यस महामारीको समयमा पनि सामान्य विकास निर्माणको कामहरू सञ्चालन भए भने विकास निर्माणको काममा कोरोना भाइरसकोे असर धेरै ठूलो भएन ।

पालिकामा संक्रमितको घट्दै गएको र जोखिम न्यूनीकरण भइसकेको छ भन्नु भयो संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं । पालिकामा हालसम्म २ सय जना संक्रमित भएका छन् ।

नगरले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ?

कोभिडका केही गम्भीर बिरामीहरू जिल्ला अस्पतालमा रेफर गर्ने व्यवस्था गरेका छौं । बिरामीको अवस्था सामान्य छ भने पालिकाकै अस्पतालमा राखेर उपचार गर्छै ।

पालिकामा निषेधाज्ञाको विकल्प सोच्नुभएको छ कि छैन ?

एक ठाउँको मानिस अर्को ठाउँमा जान नदिने र महामारीलाई नियन्त्रण गर्न सकिन्छ भन्ने ठहर गरी नगरपालिकामा निषेधाज्ञा जारी गरेका छौं । नगर भित्रका बजारी क्षेत्रहरूमा बजार ६ बजे देखि १० खोल्न दिएका छौं । पछिल्लो समयमा कोरोनाको संक्रमण नगरमा कम भएको भन्ने आभाष छ । फेरी पनि कोरोनाको संक्रमण बढ्दै गयो भने निषेधाज्ञा थप कढाई बनाउनु पर्ने आवश्यकता हुन्छ ।

हाल नगरपालिका भित्र निषेधाज्ञा खुकुलो छ भन्दा पनि फरक पर्दैन । हुन त निषेधाज्ञा जारी गरेर, पुरै लकडाउन गरेर समस्या समाधान हुने होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागि सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । नागरिकले पनि यो निषेधाज्ञा हाम्रै लागि गरिएको हो र यसलाई पूर्ण रूपमा परिपालना गरियो भने संक्रमित हुनबाट बच्न सकिन्छ भन्ने कुरा बुझ्नुपर्छ । अहिलेको समयमा स्वास्थ्य मापदण्ड पुरा गर्नु नै कोरोनाबाट बच्ने उत्तम उपाय हो । जिल्लाले पनि ११ गते सम्मको लागि निषेधाज्ञा जारी छ ।

कमजोर आर्थिक अवस्था भएकाहरूका लागि खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?

पालिका स्तरबाट राहतका कार्यक्रमहरु ल्याइएको छैन । विभिन्न संघसंस्थाबाट आएका राहत चाहिँ लक्षित वर्गसम्म पुर्याएका छौं । हाल राहतमा भन्दा कोभिड नियन्त्रणमै सबैको चिन्ता र चासो रहेको छ । गत वर्ष चाहिँ पालिकामा संक्रमण फैलिएको थिएन । तर, विपन्न घर पारिवारका केही पारिवरलाई चाहिँ राहत वितरण गरेका थियौं । किसानहरूलाई आफ्नो खेतीबाट खान पुगिरहेको छ । हालै राहतका कार्यक्रमहरू ल्याउनु पर्ने आवश्यक छैन । कोभिड पालिकामा नियन्त्रण हुँदै आएको छ । तर, कोभिड बढ्दै गयो भने राहतको कार्यक्रमहरू ल्याउनु पर्ने अझ आवश्यक र अनिर्वाय हुनेछ ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागि के कस्तो सहयोग मिलेको छ ?

प्रदेशस्तरीय र जिल्लास्तरीय कोभिड सङ्कट व्यवस्थापन केन्द्रमा छलफल हुने गरेको छ । प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागि सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले जिल्लामा स्वास्थ्य सामाग्रीहरू प्राप्त गरेका छौं ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?

पाख्रिबास नगरपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारी पालिकमा नियन्त्रण भएको छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.