पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं – गाउँपालिका अध्यक्ष कुर्मी

  २०७८ असार ४ गते २१:२५     विकासन्युज

अहिले विश्व नै कोरोना महामारीको सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश २ अन्तर्गत पर्सा जिल्लामा पर्ने धोबीनी गाउँपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ । गाउँपालिकामा फाट्टफुट्ट रूपमा संक्रमितहरु देखा पर्ने क्रम जारी रहेता पनि कोभिड न्यूनीकरणका लागी गाउँपालिकाको सक्रियता प्रशंसनीय एवं प्रभावकारी पाइएको छ ।

महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाका अध्यक्ष सुरेश प्रसाद कुर्मीसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

गाउँपालिकामा पनि कोरोना सङ्क्रमण दिन प्रतिदिन बढ्दो छ, जोखिम न्यूनीकरण गर्नको लागी के कसरी काम गर्दै हुनुहुन्छ ?

नयाँ भेरियन्ट सहितको दोस्रो लहरको रूपमा फैलिएको कोरोना भाइरसले पीडा दिएको छ । गाउँपालिकामा कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखेको छ । कोरोना सङ्क्रमण दर हामीले कल्पना गरे भन्दा द्रुत रूपमा फैलिएको छ । पालिकाको वडा नं. २ मा कोभिड अस्पताल पनि सञ्चालन छ भने आइसोलेसन सेन्टरमाको पनि व्यवस्था गरेका छौं । कोभिड अस्पतालका लागी आवश्यक जनशक्ति, डाक्टर, नर्सको व्यवस्थापन गरिसकेका छौं । यो महामारी नियन्त्रणका लागी स्वास्थ्यकर्मीहरुकोे भूमिका पनि अमूल्य छ । कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौं । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि २ ओटा एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं ।

पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । सङ्क्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्न हामी सबै लागिपरेका छौं । पालिकामा उपचार हुन सकेन भने अन्य ठाउँमा रेफर गर्ने व्यवस्था मिलाएका छौं भने एम्बुलेन्सको व्यवस्था पालिकाले गरिदिँदै आएको छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले जनचेतनामुखी कार्यक्रम र सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं ।

गाउँपालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

गतवर्ष चाहिँ पालिकामा नै पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाएका थियौं । पालिकाले एन्टिजेन परीक्षण गर्ने किट पनि खरिद गरेको छ । एन्टिजेन परीक्षण चाहिँ पालिका आफैंले गर्दै आएको छ । कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं भने स्वास्थ्यकर्मीको टोलिले टोलटोलमै पुगेर परीक्षण पनि गर्दै आउनु भएको छ । एन्टिजेन र पीसीआर परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ ।

गाउँपालिकाले भारतलगायत अन्य मुलुकबाट आएका व्यक्तिहरूलाई क्वारेनटाइनको व्यवस्था गरेको छ ?

यस समयमा बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । भारत वा तेस्रो मुलुक अथवा देश भित्रैबाट आउनेलाई होम क्वारेन्टाइनमै रहन भनिरहेका छौं । बाहिरी जिल्लाबाट आएका नागरिकलाई स्वास्थ्य समस्या आयो भने तुरुन्त परीक्षण गर्ने व्यवस्था मिलाएका छौं । पछिल्लो समयमा भारतबाट पालिकामा प्रवेश गर्नेको संख्या पनि न्यून छ । गत वर्ष देखि कामको खोजीमा भारत कमै मात्रामा गएका छन् ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ?

होम आइसोलेसनमा बसेका कोरोनाका बिरामीहरूको स्वास्थ्य अवस्था बारे बुझिरहेका छौं । मलाई पनि कोरोना संक्रमणको पुष्टी भएको कारण एक महिना बिरामी परेको थिएँ । गाउँपालिकाले सङ्कलन गरेको तथ्यांकअनुसार संक्रमितमध्ये धेरैजसो होम आइसोलेसनमा नै बसेका छन् । गाउँपालिकामा संक्रमितको संख्या बढ्दै जाँदा हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडसँग सम्बन्धित लक्षण देखिएका बिरामीलाई सकेसम्म पीसीआर नत्रभने एन्टिजेन परीक्षण गर्दै आउनुभएको छ । परीक्षण गरिसकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं ।

हामीले टोलटोलमा गएर स्वास्थ्य सामाग्रीहरु पनि वितरण गरेका छौं । हाम्रो प्रत्येक वडामा स्वास्थ्य इकाई पनि छ । होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनुभएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि उपलब्ध गराउने गरेका छौं ।

गाउँपालिकाले आफ्नो क्षेत्रमा राहतका प्याकेजहरू पनि ल्याएको छ कि ?

निषेधाज्ञाले गर्दा धेरै नागरिकलाई समस्या त भएको छ । गत वर्ष चाहिँ विपन्न वर्गको लागी राहतका कार्यक्रमहरू ल्याएका थियौं । यो महामारीको समयमा चाहिँ राहत वितरण गर्न सकेका छैनौं । गरिबलाई भन्दा धनीलाई धेरै राहत चाहिन्छ । राहत वितरण गर्दा सीमित विपन्न वर्गले मात्र पाउँछन् । यसरी नै कोरोनाको संक्रमण पालिकामा फैलिँदै गयो भने राहतका कार्यक्रमहरु ल्याउनुपर्ने आवश्यकता र अनिवार्यता छ ।

कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

कोभिडले पालिकाको समग्र विकास निर्माणका साथै विभिन्न क्षेत्रहरूमा प्रभाव पारेको छ । कोरोना महामारीका कारण पालिकामा निषेधाज्ञा भयो । हामी जनप्रतिनिधि भएपछि जनताको जीवन रक्षा गर्नका लागि आवश्यक पर्ने कामलाई प्रथामिकतामा राखेका छौं । यस महामारीले पालिकाको विकास निर्माणतर्फ धेरै ठूलो असर भने पुर्याएन । निषेधाज्ञाको समयमै पनि केही विकास निर्माणको काम सञ्चालन भइनै रहे । बर्षायाम भएको कारण केही विकास निर्माणको कामहरु रोकिएका छन् ।

संक्रमण थप नफैलिओस् भन्नका लागी के उपाय अपनाउनुभएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबैजना मिलेर टोल बस्तीमै गएर सचेतनाका कार्यक्रमहरू सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । पहिलाको तुलनामा केही हदसम्म नागरिकहरू पनि सचेत भएका छन् । होम आइसोलेसनमा बस्नेलाई स्वयंसेविका र स्वास्थ्यकर्मीमार्फत आवश्यक परामर्श दिन्छौं । हामीले भोजभतेर तथा आमसभाका नाममा धेरै भिडभाड नगर्न पनि आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । अहिलेसम्म हामीले कोरोना रोकथाम र संक्रमितको उपचारमा सकेजति गरिरहेका छौं ।

प्रदेश र केन्द्र सरकारबाट जोखिम न्यूनीकरण गर्नको लागी के कस्तो सहयोग मिलेको छ ?

प्रदेश र केन्द्रबाट जोखिम न्यूनीकरण गर्नको लागी सहयोग मिलेको छ भने समन्वय पनि भइरहेको छ । प्रदेश र केन्द्रले स्वास्थ्य सामाग्रीहरू प्राप्त भएको छ ।

यो महामारी नियन्त्रण गर्नको लागी पालिकामा बजेटको अभाव भएको छ कि छैन ?

कोभिड नियन्त्रणका लागी पालिकामा बजेटको समस्या छैन । आवश्यक परे बजेटका लागी पनि प्रदेश सरकारसमक्ष माग्ने गरेका छौं । कोभिड नियन्त्रणका लागी आवश्यक बजेट छ । बजेटको कुनै समस्या छैन । कोरोना महामारीलाई नियन्त्रण गर्न आवश्यक बजेट पनि हामीले छुट्याएका छौं ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चहनुहुन्छ त ?

धोबीनी गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगरी दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागिपरेका छौं । नआत्तिनुहोस्, धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा फैलिएको कोरोना भाइरसबाट सबै नागरिकहरू सचेत रहनुहोस् भन्न चाहन्छु । यो महामारी पालिकामा नियन्त्रणमै छ तर फेरी यो संक्रमण पालिकामा फैलिन सक्छ । त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.