गाउँपालिका उपाध्यक्ष भन्छिन् – हाल पालिकामा कोहिपनि संक्रमित छैनन्

  २०७८ असार ३ गते १८:२३     विकासन्युज

कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै आक्रान्त छ । गत वर्ष नेपालका गाउँ तथा समुदायस्तरमा कमै मात्रामा फैलिएको कोरोना हाल भने कब्जा नै जमाएर फैलिरहेको छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण कर्णाली प्रदेश अन्तर्गतको सुर्खेत जिल्लामा पर्ने चौकुने गाउँपालिका पनि निक्कै प्रभावित बनेको छ भने हाल महामारी रोकथाम तथा नियन्त्रण गर्नमा कम्मर कसेर जुटिरहेको छ ।

महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा गाउँपालिकाले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो गाउँपालिकाकी उपाध्यक्ष निर्मला मगरसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी तपाईंको गाउँपालिकाले के–कस्ता कार्य गरिरहेको छ ?

तीव्र गतिमा फैलिएको नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । पालिकामा कोरोनाको प्रभाव परेसँगै ५० बेडको आइसोलेसनको पनि स्थापना गरेका छौं ।

कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने सबै वडामा माइकिङ पनि गर्दै आएका छौं । हाम्रो पालिका अलिक बिकट क्षेत्रमा पनि पर्छ । यो महामारी न्यूनीकरण गर्नको लागि चाहिने आवश्यक स्वास्थ्य सामाग्री पनि हामीले खरिद गरेका छौं । केही समय अगाडि सबैतिर अक्सिजनको चरम अभाव भई रहँदा हाम्रो पालिकामा पनि अक्सिजनको अभाव भएको थियो । तर, हाल हामीले पालिकाको स्वास्थ्यचौकीमा अक्सिजनको पनि आपूर्ति गरेका छौं ।

कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीहरुले पनि ठूलो भूमिका खेलिरहनुभएको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं । पछिल्लो समयमा भने पालिकामा कोहिपनि संक्रमित छैनन् ।

पालिकाले पीसीआर गर्ने व्यवस्था कसरी मिलाएको छ ? पीसीआर परीक्षण पालिकाले आफैं गर्दैछ की अन्य ठाउँमा लगेर परीक्षण गर्ने व्यवस्था मिलाएको छ ?

पीसीआर गर्नको लागी पालिकामा ल्याब छैन । स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणको लागी जिल्ला अस्पताल वा प्रदेशको अस्पताल पठाउछौं । वडा कार्यालयसँग समन्वय गरी कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर र एन्टिजेन परीक्षण गर्दै आएका छौं । पछिल्लो समयमा एन्टिजेन परीक्षणको मात्रा बढाएका छौं । पीसीआर र एन्टिजेन परीक्षण पालिकाले निःशुल्क गर्दै आएको छ । हामीले प्रत्येक स्वास्थ्यचौकीमा आवश्यक स्वास्थ्य सामाग्री पनि वितरण गरेका छौं । पालिकाको सबै वडामा स्वास्थ्य इकाई भएको कारण वडा वडामा नै एन्टिजेन परीक्षण गर्दै आएका छौं ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनुभएको छ ?

पालिकामा संक्रमितको संख्या बढ्दै जाँदा हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडसँग सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनुभएको छ । परीक्षण गरिसकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं ।

होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनुभएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनुभएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि इत्यादि उपलब्ध छौं । तर हाल पालिकामा संक्रिय संक्रतिको संख्या छैन ।

पालिकामा संक्रमितको संख्या छैन र जोखिम न्यूनीकरण भइसकेको छ भन्नु भयो संक्रमण थप नफैलिओस् भन्नेर कस्तो रणनीति अवलम्बन गर्नु भएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लाबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं । यस महामारी थप नफैलियो भनेर पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ ।

संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिन्छ त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । दोस्रो लहरको पनि कोरोना आयो अब तेस्रो लहरको संक्रमण आउन सक्नेतर्फ सचेत हुँदै काम गर्ने योजना बनाएका छौं । कोभिड नियन्त्रण गर्नको लागि आवश्यक बजेट व्यवस्थापन गर्नको तयारी पनि गर्दैछौं ।

कोभिडको समय छ, पालिकामा धेरै नागिरकहरू कृषि पेशामा आवद्ध छन्, खेतीको समय पनि हुँदैछ, पालिकाले यो समयमा कृषि क्षेत्र विकासका लागी कसरी काम गर्दै छ नि ?

हो, यहाँ धेरै नागरिकहरू कृषि पेशमा नै आवद्ध छन् । पालिकामा पातलो बस्ती रहेको छ । पालिकाको तर्फबाट आवश्यक कृषकहरुलाई सहयोग गर्दै आएका छौं । खेतबारीमा काम गर्दा पनि कृषकहरूलाई आवश्यक स्वास्थ्य मापदण्डको पालना गर्न आग्रह गरेका छौं ।

पालिकामा भ्याक्सिन लगाउनेको संख्या के छ ?

पालिकाका जनप्रतिनिधि र कर्मचारीले भ्याक्सिन लगाएका छन् । यस बारे यतिले नै भ्याक्सिन लगाएका छन् भने चाहिँ राम्रो जानकारी भएन । ६० देखी ६४ वर्ष सम्मकालाई खोप लगाउनको लागी खोप पालिकामा आएको छ ।

जोखिम न्यूनीकरण गर्नको लागि पालिकामा बजेट अभाव छ कि छैन ?

यो महामारी न्यूनीकरण गर्नको लागि हामीलाई बजेटको अभाव नै छ । कोरोना रोकथाम र नियन्त्रणको लागी जति बजेट हुनुपर्ने थियो त्यति बजेट छैन । सामान्यतया हामीले विपद् व्यवस्थापनको लागी बजेट छुट्याएका थियौं, त्यसबाट नै महामारी नियन्त्रणको लागी खर्च गरिरहेका छौं । यो रकमबाट नै हामीले स्वास्थ्य सामाग्रीको खरिद गरेका छौं । कोरोना नियन्त्रण भनेर नै हामीले बजेट धेरै छुट्याएका थिएनौं । पालिकामा भएको विकास बजेटहरू विकास निर्माणकै काममा खर्च भइसकेको छ । कोरोना रोकथाम र नियन्त्रणको लागी बजेट बनाउने तयारी पनि हुँदै छ ।

कोरोना महामारीले गाउँपालिकाको कामकाजमा कस्तो असर पुर्याएको छ ?

एकदमै ठुलो असर पुर्याएको छ । कस्तो खालको असर पारेको छ भने एकातिर ठेक्का टेन्डरहरू गरेका विकास निर्माणका काम समयमै सम्पन्न गर्न सकेका छैनौँ । गएको वर्ष त कामदारहरू नै घर फर्कने स्थिति सिर्जना भयो । त्यसो हुँदा काममा ढिलाइ भएको छ । अर्को चाहिँ हामीले विनियोजन गरेको योजनामा जुन स्रोतबाट पैसा आउँछ भनेका थियौँ त्यो आएन । योजना बाँकी नै रहँदा एक त आर्थिक स्रोतका कारणले असर प¥यो । अर्को जनशक्तिका कारणले समयमै काममा लगाउन नसक्ने अवस्थाले ढिलाइ भएर असर परेको स्थिति छ । सानासाना तालिमका कामहरू पनि रोकिएका छन् ।

गाउँपालिकामा कोरोना फैलिने जोखिम क्षेत्रहरूको पहिचान भएको छ कि छैन ?

भाइरल ज्वरोको मौसम भएको कारणले पालिकाको धेरै नागरिकहरूलाई कोभिडसँग सम्बन्धित लक्षण देखिएको थियो । एक समय सबैलाई कोरोनासँग अन्तरसम्बन्धित लक्षणको बिरामीहरू धेरै थिए । मौसम परिवर्तन भएको कारणले पनि कोरोना महामारी न्यूनीकरण भएको छ । हाम्रो पालिकाका सबै वडा नै कोभिड बाट अछुतो छैन ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चाहनुहुन्छ त ?

चौकुने गाउँपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा कोरोना भाइरस अवश्य नियन्त्रण हुन्छ । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.