इन्साइडर ट्रेडिङको आरोपमा ९ वटा सरकारी कम्पनीलाई पनि डाम्यो सेवोनले, ती कम्पनी भन्छन्ः भ्रमपूर्ण कुरा

  २०७८ असार २ गते १२:२४     विकासन्युज

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेवोन) ले जोखिमयुक्त ५१ कम्पनीको सुचीमा ९ वटा सरकारी कम्पनी पनि समावेश गरेको छ । कम्पनीको भित्री सुचनाको आधारमा कारोबार, सर्कुलर ट्रेडिङ र कर्नरिङ गरेर सेयर मूल्य बढाइएको भनिएका ५१ कम्पनीमा ९ वटा सरकारी कम्पनी पनि परेका छन् ।

सेवोनले सार्वजनिक गरेको ५१ कम्पनीको नामावलीमा जलविद्युत लगानी तथा विकास कम्पनी, रसुवागढी, साञ्जेन, माथिल्लो तामाकोशी जलविद्युत कम्पनी, राष्ट्रिय बीमा कम्पनी, नेपाल इन्फ्रास्टक्चर बैंक, विशाल बजार कम्पनी र साल्ट ट्रेडिङ कम्पनी पनि परेका छन् ।

यी कम्पनीमा सरकारको पनि सेयर स्वामित्व छ । सरकारको सेयर स्वामित्व रहने भएपछि कम्पनीको संचालक समितिमा सरकारले नियुक्त वा मनोनित गरेका व्यक्तिहरु पदाधिकारी पनि हुने गछन् । तर, बोर्डले सार्वजनिक गरेको नामावलीमा यस्ता कम्पनी पनि परेका छन् ।

सेवोनले इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार वा कर्नरिङको आरोप लगाएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका कार्यकारी निर्देशक विज्ञान श्रेष्ठ आफ्नो कम्पनी यस्ता गलत कार्यमा सहभागी नहुने बताउँछन् ।

‘सबै कम्पनीलाई एउटै बास्केटमा राख्दा हाम्रो कम्पनी पनि परेको होला, हामीले गलत काम गरेका छैनौं, कम्पनी असाध्यै राम्रो छ, हाम्रो सेयर मूल्य कम भयो, बढाउनु पर्छ भनेर हामीले कहि बोलेका पनि छैनौं, हाम्रो कम्पनीको वित्तीय विवरण लगायत लगानीकर्तालाई दिनुपर्ने यथार्थ विवरण कानुनले तोकेको समयमै दिएका छौं, तर पनि हाम्रो कम्पनीलाई कसरी त्यस्तो सुचीमा समावेश गरियो भन्ने हामीले बुझेका छैनौं,’ कार्यकारी निर्देशक श्रेष्ठले विकासन्युजसँग भने ।

बोर्डले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सुचीमा नागरिक लगानी कोष पनि परेको छ । आफ्नो कम्पनीलाई पनि जोखिमयुक्त कम्पनीको सुचीमा राखेकोप्रति कोषका कार्यकारी निर्देशक रमण नेपालले आश्चर्य व्यक्त गरे ।

‘सेवोनले कोषलाई पनि जोखिमयुक्त कम्पनीको सुचीमा राखेछ, कसरी राखियो भन्ने कुरा मैले बुझिनँ, कोषले इन्साइडर ट्रेडिङ, सर्कुलर कारोबार वा कर्नरिङ गर्ने भन्ने कुरै आउँदैन, तर पनि जोखिमयुक्त कम्पनीको सुचीमा कोष पनि परेको देख्दा हामीलाई आश्चर्य लागेको छ,’ कार्यकारी निर्देशक नेपालले विकासन्युजसँग भने ।

सेवोनले सार्वजनिक गरेको जोखिमयुक्त कम्पनीको सुचीमा राष्ट्रिय बीमा कम्पनी पनि परेको छ । सो कम्पनीमा सरकारले संचालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्छ । कम्पनीको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा अहिले अर्थमन्त्रालयका उपसचिव डा. डिल्ली अर्याल छन् ।

आफ्नो कम्पनीलाई पनि सर्कुलर ट्रेडिङ, इन्साइडर कारोबार वा कर्नरिङको आरोपमा जोखिमयुक्त कम्पनीको सुचीमा राखिएकोप्रति कम्पनीका प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले असन्तुष्टी जनाए ।

‘सेवोनले विभिन्न कैफियत देखाएर जोखिमयुक्त कम्पनीको सुचीको निकाल्दा हाम्रो कम्पनी पनि राखिएको रहेछ, यो आफैमा भ्रमपूर्ण छ, हामीबाट गल्ती भएको छैन, कम्पनीले लेखापरीक्षण गर्न सकेको छैन, यो कुरा हामीले लगानीकर्तालाई भनिरहेका छौं, हाम्रो कम्पनीको सेयर मूल्य कम छ, त्यसैले बढाउनु पर्छ भनेर कही बोलेका छैनौं, कानुन अनुसार लगानीकर्तालाई हामीले के भन्नुपर्ने हो त्यो कुरा भनिरहेका छौं, यस्तो हुँदा पनि हाम्रो कम्पनीलाई विभिन्न कैफियतमा जोखिमयुक्त कम्पनीको सुचीमा राख्नु आफैमा अनौठो कार्य भएको छ,’ प्रमुख कार्यकारी अधिकृत डा. अर्यालले भने ।

सम्बन्धित समाचार

धितोपत्र बोर्डले भन्योः यी ५१ कम्पनीका सेयर दोस्रो बजारमा कारोबारका लागि जोखिमयुक्त

नेपाली सेयर बजारमा पनि हुन लागेको हो गेमस्टप र एएमसी जस्तै फण्डा ?

One comment on "इन्साइडर ट्रेडिङको आरोपमा ९ वटा सरकारी कम्पनीलाई पनि डाम्यो सेवोनले, ती कम्पनी भन्छन्ः भ्रमपूर्ण कुरा"

  • चिन्तक says:

    धितो पत्र बोर्डको सर्हानिय काम , अब बैंकलाई छिटो भन्दा छिटो ब्रोकर लाईसेन्स दिएर सर्बसाधारण लगानीकर्ताले पाएको दुख अनि हैरानीबाट चांडो मुक्त गरिदिय धितोपत्र बोर्ड धन्यवादका पात्र हुनेथिए , नेपालको पुंजी बजार इतिहास मा milestone set हुनेथियो |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.