सिन्धुपाल्चोक बाढीः ७ जनाको शव भेटियो, अर्बौंको संरचना ध्वस्त, मेलम्ची खानेपानी ड्याम पनि भत्कायाे

  २०७८ असार २ गते १०:४९     विकासन्युज

काठमाडौं । अविरल वर्षाका कारण मेलम्चीमा आएको बाढीले बगाएर सात जनाको मृत्यु भएको छ । बाढीले वेपत्ता भएकामध्ये सातजनाको शव भेटिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए । उनका अनुसार ५० जना जति मानिस वेपत्ता भएको बुझिएको छ ।

हेलम्बु क्षेत्रमा आज उनीहरुको शव भेटिएको हो । हिजो बेलुकी मेलम्चीमा बाढी आएर वस्तीहरु बगाएपछि आज बिहानबाट प्रहरीले खोजी तथा उद्दार कार्य सुरु गरेको छ ।

यस्तै, मेलम्चीको होटल रोजको छतमा फसेका दुईजना युवाको सकुशल उद्वार गरिएको छ । नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरले फसेका दुई जनाको उद्वार गरेको हो । पानीको सतह जमिनबाट धेरै माथि आएपछि सुरक्षित स्थानमा जान नसकेका उनीहरुले उद्धारका लागि गुहार मागिरहेका थिए ।

सिन्धुपाल्चोकको बाढी पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारका लागि नेपाली सेनाको एमआई सेभेन्टिन हेलिकप्टरसहित विशेष तालिमप्राप्त टोली खटाइएको छ ।

गएराति मेलम्ची नदीमा आएको बाढीले बजारका कतिपय स्थान बगरमा परिणत भएको छ । बाढकै कारण सिन्धुपाल्चोकमा हरेका अधिकांश संरचनाहरु ध्वस्त भएका छन् । पोखरेलका अनुसार अर्बौंका भौतिक संरचनाहरु ध्वस्त भएका छन् । बाढीले पुर्याएको क्षतिको अनुमान भने अहिलेसम्म गर्न सकिएको छैन ।

यस्तै, मेलम्ची खानेपानी ड्याम पनि भत्काएकाे बताइएकाे छ ।  स्वास्थ्यमन्त्री शेरबहादुर तामाङले फेसबुकमा स्टाटस लेखेका छन्, ‘मेलम्ची र ईन्द्रावती नदीमा आएको भिषण बाढीले ५० औँ जना बेपत्ता भएको, मेलम्ची खानेपानी ड्याम समाप्त गरेको, तिम्बु बजार, चनौटे बजार, तालामाराङ बजार, मेलम्ची बजार, क्षतबिक्षत बनाएको छ, यसैगरी नाकोते पूल, तिम्बु पूल, फट्टे पूल, मेलम्ची पूल, बाहुनेपाटी पूल, ढाँडखोला पूल सम्पूर्ण उडाएको छ । नदी किनाराका सम्पूर्ण संरचना ध्वस्त बनाएर अरबौंको क्षति र्पूयाएको छ,यो प्राकृतिक बिपत्तिमा सबैलाई संयमता पूर्वक उद्दार र राहातमा जुटन हार्दिक अपिल गर्दछु। सरकारले आजै टेण्ट र खाध्यान्न जुन जुन बस्तीमा क्षति भएको छ त्यहाँ खसाल्छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.