तेस्रो लहरको संक्रमण आउनसक्ने तर्फ सचेत हुँदै अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं – नगर उपप्रमुख सुल्तान

  २०७८ जेठ ३१ गते १७:३८     विकासन्युज

अहिले विश्व नै कोरोना महामारीको सङ्कटमा छ । नयाँ भेरियन्टसहित तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण प्रदेश २ अन्तर्गत सप्तरी जिल्लामा पर्ने खडक नगरपालिका पनि नराम्रोसँग प्रभावित बनेको छ भने महामारीलाई रोकथाम तथा नियन्त्रण गर्नमा कम्मर कसेर जुटिरहेको छ ।

नेपालमा पनि सामाजिक स्तरमा कोरोना भाइरसको महामारी व्यापक रूपमा फैलिएको धेरै समय भइसकेको छ । मुलुक निषेधाज्ञामा छ । तर, पछिल्लो समयमा संक्रमितहरूको संख्यामा केही कमी आएको आभाष छ ।

महामारी नियन्त्रणमा नगरपालिकाले कस्तो भूमिका खेल्दैछ, महामारी नियन्त्रणमा नगरले कस्तो रणनीति अवलम्बन गरेको छ भन्ने लगायतका सन्दर्भमा सो नगरपालिकाकी उप–प्रमुख यासमिन सुल्तानसँग विकासन्युजका लागी राजिब न्यौपानेले कुराकानी गरेका छन् ।

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागी तपाईंको नगरपालिकाले के कस्ता कार्य गरिरहेको छ ?

कोरोना संक्रमणको दोस्रो लहर सुरु भएसँगै पालिकामा यस महामारी न्यूनीकरण गर्नको लागी विभिन्न काम गरिरहेका छौं । नयाँ भेरियन्टको कोरोना भाइरसले हाम्रो पालिकामा पनि ठुलो प्रभाव पारेको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमित भएका छन् । वडा नं. ९ मा आइसोलेसनको पनि स्थापना गरेका छौं । पालिकामा संक्रमितको संख्या पनि धेरै छ । कोरोनाको दोस्रो लहर सुरु भएसँगै पालिकाले सचेतनाका विभिन्न सूचनाहरू प्रकाशन गरेको छ भने सबै वडामा माइकिङ पनि गर्दै आएका छौं ।

कोरोनाबाट नागरिकहरू संक्रमित भए भने पालिकाले तयार गरेको आइसोलेसनमा ल्याई उपचार गर्छौँ । पालिकामा कोभिडका बिरामीलाई सहज होस् भनि एम्बुलेन्सको पनि व्यवस्था गरेका छौं भने पालिकमा २ ओटा एम्बुलेन्स सेवा पनि छ । संक्रमण विस्तार रोक्न बजार, विद्यालय, विभिन्न संघसंस्थाहरूमा भिडभाड कम गर्न पनि आग्रह गरेका छौं । यस महामारीलाई न्यूनीकरण गर्नको लागी सबै लागिपरेका छौं भने महामारीलाई नियन्त्रण गर्नको लागी स्वास्थ्यकर्मीको ठुलो भूमिको छ । नागरिकलाई स्वास्थ्य मापदण्ड अपनाउन अपिल गरेका छौं । पालिकामा भएका सबै स्वास्थ्यचौकी तथा शाखामा आवश्यक पर्ने स्वास्थ्य सामाग्री वितरण गरेका छौं ।

होम आइसोलेसनमा बसेका संक्रमितहरूलाई कसरी स्वास्थ्य सेवा दिइरहनु भएको छ ?

नगरमा संक्रमितको संख्या बढ्दै जादाँ हामीले मास क्वारेन्टिनलाई भन्दा होम क्वारेन्टिनलाई नै जोड दिएका छौं । स्वास्थ्यकर्मीहरुले कोभिडको अन्तर सम्बन्धित लक्षण देखिएका बिरामीलाई पीसीआर वा एन्टिजेन परीक्षण गर्दै आउनु भएको छ । परीक्षण गरी सकेपछि कोरोना संक्रमण भएका र स्वास्थ्यमा समस्या भएका नागरिकलाई मात्र अस्पतालमा राख्ने व्यवस्था मिलाएका छौं भने कोभिडको संक्रमण देखिएका तर उनीहरूको स्वास्थ्य सामान्य छ भने होम आइसोलेसनमा सुरक्षित बस्नको लागी आग्रह गरेका छौं ।

होम आइसोलेसनमा बसेका नागरिकको स्वास्थ्य अवस्था बारे सम्बन्धित वडाका स्वास्थ्यकर्मीहरुले वा वडाध्यक्षले पनि बुझ्दै आउनु भएको छ । स्वास्थ्यकर्मीले उहाँहरूलाई फोन गरेर आवश्यक परामर्श दिइरहनु भएको छ । होम आइसोलेसनमा बसेकालाई औषधि इत्यादि उपलब्ध छौं ।

नगरपालिकाले गम्भीर खालका बिरामीलाई थप उपचारका लागि के व्यवस्था गरेको छ ?

कोभिडका केही गम्भीर बिरामीहरूलाई नगरको अस्पतालमा ल्याई उपचार गछौं । पालिकमा आवश्यक स्वास्थ्य सामाग्री पनि खरिद गरेका छौं । १० ओटा अक्सिजन सिलिन्डर पनि खरिद गरेका छौं । पालिकाको एउटा अस्पतालमा अक्सिजन प्लान्ट पनि जडान भएको छ । हाल नै पालिकामा स्वास्थ्य सामाग्रीको अभाव छैन । नगरको अस्पतालमा उपचार हुन सकेन भने अन्य ठाउँमा पनि बिरामीलाई पठाउँछौँ ।

संक्रमण अझै बढ्न सक्छ भनेर नगरपालिकाले भावी योजना कस्तो बुन्दैछ ?

यसको भावी योजना त पालिका स्तरबाट स्वास्थ्य सामाग्री र आइसोलेसनको व्यवस्थापन गर्ने हो । यसलाई नियन्त्रण गर्नका लागी पहिलो कुरा त हामी सबै सचेत हुनुपर्यो, मास्कहरू लगाउनुपर्यो । स्वास्थ्य मापदण्ड पुरा गरी भिडभाडमा जानु हुँदैन र नागरिक सचेत हुने हो भने केही हदसम्म कोरोना संक्रमण नियन्त्रणमा ल्याउन सकिन्छ । संक्रमणको परीक्षण र कन्ट्याक्ट ट्रेसिङ बढाउनुपर्छ । जहाँजहाँ कोभिडसँग अन्तरसम्बन्धित लक्षण देखिन्छ त्यहाँ तुरुन्तै कन्ट्याक्ट ट्रेसिङ गरी संक्रमण फैलन नदिने र परीक्षणको दायरा पनि बढाएर अघि बढ्ने हो भने कोरोना नियन्त्रण अवश्य हुनेछ । आइसोलेसन र क्वारेन्टिन पनि थपेर चुस्त दुरुस्त रूपमा अघि बढ्ने योजना रहेको छ । दोस्रो लहरको पनि कोरोना आयो अब तेस्रो लहरको संक्रमण आउन सक्नेतर्फ सचेत हुँदै नगर सभाको बैठक बसी अहिलेनै ५० लाख रुपैयाँ बजेट छुट्याइसकेका छौं ।

निषेधाज्ञाले कहिलेसम्म निरन्तरता पाउन सक्छ होला त ?

यसबारे यकिनसँग भन्न त सकिँदैन । तराईमा धेरै समस्या हुन्छ, अब धान रोप्ने समय पनि हुन लाग्यो । नगर भित्र धेरै आँपको उत्पादन हुन्छ । आँपको समय भएको कारण आँप बचने बजरमा घुइँचो छ । निषेधाज्ञा गरेका छौं तर यसको पुन रूपमा पालन भएको छैन । संक्रमितको संख्या पनि बढि रहेको छ । निषेधाज्ञा नगरमा खुकुलो भए जस्तै छ । तर, नगरमा धेरै श्राम जीवी वर्गको बसोबास रहेको छ भने उनीहरूले दिन भर काम गरेर छाक टार्नु पर्ने हुन्छ । खेतीको समय भएको कारण केही किसानहरू खातीमा व्यस्त छन् । हुन त निषेधाज्ञा जारी गरेर वा पुरै लकडाउन गरेर समस्याको समाधान हुने त होइन । तर, औषधी उपचारको विधि पत्ता नलागेको अवस्थामा कोरोना नियन्त्रणका लागी सुरक्षित उपाय भनेको लकडाउन र निषेधाज्ञा नै देखिन्छ । स्वास्थ्य मापदण्ड पालनाको विकास अब नागरिकमा हुन आवश्यक छ । निषेधाज्ञा भए पनि खुद काम नगरी यहाँका नागरिकहरूलाई खान पुग्दैन । बैंकहरुलाई पनि हामीले हप्ताको २ दिनमात्र खोल्न दिएका छौं ।

कमजोर आर्थिक अवस्था भएकाहरूका लागी खाद्यान्न र राहतका कार्यक्रमहरू ल्याउनु भएको छ ?

निषेधाज्ञाले गर्दा धेरै नागरिकलाई समस्या त भएको छ । गत वर्ष चाहिँ विपन्न वर्गको लागी राहतका कार्यक्रमहरू ल्याएका थियौं । विभिन्न संघसंस्थाले पनि राहत बाँड्नको लागी सहयोग गरेका थिए । यो महामारीको समयमा चाहिँ राहत वितरण गर्नसकेका छैनौं । तर, विपन्न वर्गको लागी राहत वितरण गर्ने योजना चाहिँ पालिकामा भइरहेको छ ।

संक्रमण थप नफैलिओस् भन्नका लागी के उपाय अपनाउनुभएको छ ?

स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि सबै जना मिलेर टोल बस्तीमा गएर सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरिरहेका छौं । उपाय भन्नाले तयारी र सचेतना हो । बाहिरी जिल्लबाट आएका मानिसहरूलाई १४ दिनसम्म क्वारेन्टिनमा बस्नको लागी आग्रह गरेका छौं । पालिकामा प्रवेश गर्दा मास्क तथा स्यानिटाइजरको प्रयोग अनिवार्य गरेका छौं ।

कति संक्रमित धान्न सक्छ त अब नगरपालिकाले ?

सिमित मात्रामा हामीले आइसोलेसन कक्ष तयार गरेका छौं । केही स्वास्थ्य सामाग्री पनि नगरले खरिद गरेको छ । यो रोगबाट पालिकाबासीहरू धेरै डराएका छन् । कतिपय मानिसहरूले त केहो कोरोना भाइरस भनेर नै बुझका छैनन् । यो भन्दा भयावह स्थिति आयो भने नगरपालिकाले बनाएको सिमित आइसोलेसन र क्वारेन्टिनले हुनेवाला केही पनि छैन ।

कोरोना नियन्त्रणको यो अभियानमा पालिकाबासिलाई के अपिल गर्न चाहनुहुन्छ त ?

खडक नगरपालिका जनतालाई म के अनुरोध गर्न चाहन्छु भने भिडभाड नगर्दिनुस्, परिवारमा कसैलाई कोरोना भए उचित उपचार गर्नुहोस् । रोग लुकायो भने आफू मात्र नभई पुरै समुदायको ज्यान जोखिममा पर्न सक्छ भन्ने कर्तव्य बोध हुन जरुरी पनि छ । तपाईको स्वास्थ्य उपचार र ज्यान जोगाउन हामी रातदिन लागी परेका छौं । नआत्तिनुहोस् धैर्य राख्नुहोस् र यो विश्वभर महामारीको रूपमा कोरोना भाइरस अवश्य नियन्त्रण हुन्छ । यस भाइरसबाट सबै नागरिकहरू सचेत रहौं भन्न चाहन्छु । यो महामारीको संक्रमण झन् धेरै फैलिन सक्छ त्यसैले सबै नागरिकहरूलाई स्वास्थ्यमा बिशेष ध्यान दिऔं, स्वास्थ्यसम्बन्धी सुरक्षाका न्यूनतम मापदण्ड अपनाऔं, आफू बचौं, अरुलाई पनि बचाऔं भन्न चाहन्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.